काठमाडौंको एक व्यस्त सडक, चारैतिर मानिसहरू, गुडिरहेका गाडीहरूको हल्ला, र हल्का धुलोले मैलिएको वातावरण, त्यही भीडभाडमा, एउटा सफा सुग्घर पोशाकमा हुर्किएका, शिक्षित देखिने एक जना मानिसले आफ्नो हातमा रहेको प्लास्टिकको पानीको बोतल खाली गरे, उनले अगाडिको सडकमा, सजिलैसँग हात फिजाएर त्यो खाली बोतल फ्याँकिदिए। यो कार्य यति सजिलो थियो कि उनले आफूले के गरेका थिए भन्ने कुराको जस्तो केही आभास पनि महसुस गरेका देखिन्नन्। तर, एक सेकेन्डको लागि पनि नरोकिईकन, त्यो बोतल सडकको किनारामा पुगेर लड्यो, अनगिन्ती फोहोरहरूसँग आबद्ध हुँदै। यो दृश्य देखेको म, त्यो क्षण मेरो लागि एकदमै अप्ठेरो थियो। यस्तो कसरी सम्भव छ? हामी संसारभरि ’डिजिटल नेपाल’, ’स्मार्ट सिटी’ को कुरा गर्छौं, अर्को तर्फ हामी आफ्नै शहरको मुख्य सडकमा यसरी फोहोर फ्याँक्ने मानसिकता लिएर हिँड्छौं। के हामी वास्तवमै शिक्षित, तर असभ्य हुँदैछौं?
यो घटना नेपालमा कुनै एकल होइन। हामी हरेक दिन, हरेक कदममा यस्ता दृश्यहरू देख्छौं। बस स्टपमा थुकिएको पान, सडकको कुनामा जम्मा भएको फोहोरको ढिस्को, नदीको पुलबाट फ्याँकिने ठूला ठूला प्लास्टिक थैलाहरू, हामी यसका आदि हुँदैछौं। हाम्रो मानसिकतामा यो भईसक्यो कि सार्वजनिक स्थान भनेको “कसैको होइन” भनेजस्तो ठाउँ हो। तर के हामीले कहिल्यै सोच्यौं कि यो “कसैको होइन” भन्ने ठाउँ नै हाम्रो आफ्नै घर, हाम्रो आफ्नै शहर, हाम्रो देश हो? हामीले फ्याँक्ने प्रत्येक खेर गएको बस्तु वा फोहोर, हाम्रो आफ्नै वातावरणलाई, हाम्रो आफ्नै स्वास्थ्यलाई, हाम्रो आफ्नै भविष्यलाई प्रदूषित गर्छ। शिक्षा र सभ्यताको यो कस्तो विडम्बना हो कि हामी उच्च डिग्रीधारी त हुन्छौं तर आफ्नो मूल कर्तव्य, वातावरणप्रतिको दायित्वबोध भने बिर्सिन्छौं।
फोहोर व्यवस्थापन भनेको केवल सरकार वा पालिकाको मात्र काम होइन। यो प्रत्येक नागरिकको नैतिक, सामाजिक र राष्ट्रिय कर्तव्य हो। हामी प्रत्येकले आफ्नो घरभित्र सफा र स्वच्छ राख्न खोज्छौं, तर बाहिर निस्किनासाथ हामी किन यस्तो व्यवहार गर्छौं जस्तो कि त्यो हाम्रो होइन? हामीले बुझ्नु पर्छ कि सार्वजनिक स्थानहरू हामी सबैको साझा घर हुन्। जसरी हामी आफ्नो घरको छेउछाउमा फोहोर फ्याँक्दैनौं, त्यसरी नै सार्वजनिक स्थानमा पनि फ्याँक्नु हुँदैन। उच्च शिक्षा प्राप्त गरेका व्यक्तिहरूबाट यस्तो लापरवाहीको अपेक्षा त हुँदैन। तर दुर्भाग्यवस, हामीले धेरै शिक्षित व्यक्तिहरू पनि यस्तै कार्य गरिरहेको देख्छौं। के यसले हाम्रो शिक्षा प्रणालीमा रहेको नैतिक शिक्षाको अभावलाई इङ्गित गर्दैन? के हामीले मानिसलाई केवल पुस्तकिय ज्ञान मात्र दिनुपर्छ, कि उसलाई एक जिम्मेवार नागरिक बनाउने संस्कार पनि सिकाउनुपर्छ?
फोहोरको उचित व्यवस्थापनले हाम्रो समाज, पर्यटन, संस्कृति र जैविक विविधतामा सकारात्मक प्रभाव पर्छ। हामी सबैको चाहना, हाम्रो देशमा धेरै पर्यटकहरू आउन्। तर के तिनीहरूलाई हामी हाम्रो सडकका किनारामा फ्याकिएर रहेको प्लास्टिक, फोहोरले भरिएका खोला तथा नालीहरू, र प्लास्टिकले भरिएका खोल्साहरू देखाउन चाहन्छौं? पर्यटकहरूले हाम्रो ऐतिहासिक स्थलहरू, हाम्रो प्राकृतिक सुन्दरता र हाम्रो समृद्ध संस्कृतिको आनन्द लिन आउँछन्। तर जब उनीहरूले हामी आफैंले हाम्रो वातावरणलाई कसरी अपमानित गरिरहेका छौं भनेर देख्छन्, तब उनीहरूमा हाम्रो राष्ट्रप्रतिको छवि झन् कस्तो बन्छ होला? हामी आफैंले आफन्तलाई मैलो शहर देखाउन लज्जित महसुस गर्छौं, तर पर्यटकहरूलाई चाहिँ त्यही देखाउँछौं। के यो हाम्रो राष्ट्रिय स्वाभिमानसँग मेल खान्छ?
यस्तैगरी, हाम्रो संस्कृति त प्रकृति र वातावरणको पूजासँग जोडिएको छ। हाम्रा धार्मिक ग्रन्थहरू, साहित्य र लोककथाहरूले प्रकृतिको रक्षा गर्न, नदी, हिमाल, वन, वनस्पति र जीवजन्तुको सम्मान गर्न सिकाउँछन्। तर आज, हामी त्यही पवित्र नदीहरूलाई मैलो ढाल्ने मुख्य स्रोत बनिसकेका छौं। हामीले आफ्नो सांस्कृतिक मूल्यहरूलाई बिर्सिसकेका छौं? हामी प्रकृतिलाई देवीको रूपमा पूज्ने मानिसहरू कसरी आफ्नै हातले त्यही प्रकृतिलाई फोहोरको ढिस्को बनाइरहेका छौं? हाम्रो संस्कृतिमा “सम्पूर्ण पृथ्वी नै एक परिवार हो” भन्ने भावना छ। तर आजको भौतिकवादी युगले हामीलाई त्यो भावनाबाट टाढा लगेको पुर् याएको छ। हामीले आफ्नो सांस्कृतिक विरासतलाई पनि यसैगरी प्रदूषित गरिरहेका छौं।
जैविक विविधताको कुरा गर्दा त, हाम्रो लापरवाहीले गर्दा पृथ्वीका अनगिन्ती जीवजन्तुहरूको जीवन संकटमा पर्ने खतरा बढेको छ। नदीमा फ्याँकिने प्लास्टिकले गर्दा माछा र अन्य जलजीवहरू मर्छन्। जंगलमा फ्याँकिएको प्लास्टिक तथा फोहोरले वन्यजन्तुहरूको प्राकृतिक बासस्थानमा असर गर्छ, साथै जनावरले प्लास्टिक खादा ज्यान समेत गुमाएका धेरै घटनाहरू छन्। यो क्रम यसरी नै चल्ने हो भने भविष्यमा हामी आफूले नै प्रकृतिलाई गरेको यो अत्याचारको मूल्य चुकाउन बाध्य हुनेछौं। हामीले के बुझ्न जरुरी छ भने, हामी प्रकृतिबाट अलग हौंइनौं, हामी प्रकृतिको एक अंश हौं। र जब हामी प्रकृतिलाई क्षति पुर्याउँछौं, हामी आफैंलाई नै क्षति पुर्याउँछौं।
तसर्थ, हामी सबै मिलेर यो समस्याको दिर्घकालिन समाधानका लागि काम गर्नुपर्छ। यो परिवर्तनको सुरुवात हामीहरू हरेक व्यक्तिबाट नै हुनुपर्छ। हामीले आफूले प्रयोग गरेको वस्तुहरू, विशेष गरी प्लास्टिक, त्यसको उचित व्यवस्थापन गर्ने बानी बसाल्नुपर्छ। हामीले आफ्नो घर, आफ्नो आँगन, आफ्नो टोल र आफ्नो कार्यक्षेत्रलाई फोहोरमुक्त बनाउन उद्धत हुनुपर्छ। हामीले आफ्ना साथीभाइ, परिवार, र समुदायलाई पनि यसको महत्वबारे जागरूक गराउनुपर्छ। सानो सानो कुराबाट सुरुवात गर्न सकिन्छ। आफूसँग भएको फोहोर कुनै पनि सार्वजनिक स्थानमा नफ्याँक्ने, वेस्टविनको प्रयोग गर्ने, एक पटकमात्र प्रयोगमा आउने प्लास्टिकको प्रयोग नगर्ने, रिसाइक्लिङ्गलाई प्रोत्साहन दिने, कपडाको झोला प्रयोग गर्ने, खेर गएका बस्तुहरूलाई पुनः प्रयोग ल्याउने, र आफूले देखेको फोहोरलाई उठाउने साहस गर्ने। यी साना कदमहरूले ठूलो परिवर्तन ल्याउन सक्छन्।
सरकार र स्थानीय निकायहरूले पनि कडाईका साथ यो काम गर्नुपर्छ। फोहोर फ्याँक्नेहरूलाई जरिवाना लगाउने, रिसाइकल गर्ने, फोहोरलाई श्रोतमा बर्गीकरण गर्ने, वेस्टविनको उचित व्यवस्थापन गर्ने, र जनचेतना अभियान सञ्चालनमा ल्याउन आवश्यक छ। तर सरकारले मात्रै के गर्न सक्छ? जबसम्म हामी नागरिकहरूको सहभागिता र चेतना बढ्दैन, तबसम्म कुनै पनि योजना सफल हुन सक्दैन। हामी आफैंले जिम्मेवारी लिनुपर्छ। हामीले आफ्नो भावी पुस्ताको लागि एउटा सफा, स्वच्छ र हरियाली नेपाल छोड्नुपर्छ। के हामी आफ्ना छोराछोरीलाई फोहोर र गन्धले भरिएको देश दिन चाहन्छौं? अवश्य पनि होइन नै!
आउनुहोस्, हामी सबैले संकल्प लिऔं। आजदेखि, अहिलेदेखि नै, हामी कुनै पनि सार्वजनिक स्थानमा फोहोर फ्याँक्न छोडौं, कसैले फ्याँकेको देख्यौ भने उठाउन लगाऔं। हामी आफ्नो दायित्व बुझौं। हामी आफैंले सुरुवात गरौं। एउटा प्लास्टिकको बोतल, एउटा च्यूइङ्गमको खोल, एउटा बिस्कुटको प्याकेट, पानीको प्लास्टिक बोतल – यी साना कुराहरूलाई पनि सही ठाउँमा राख्ने बानी बसालौं। हामीले अरुलाई पनि सिकाऔं र आफूपनि व्यवहारमा अप्नाऔं। यदि कसैले हाम्रो सामुन्ने फोहोर फ्याँक्छ भने, नरिसिकन, उसलाई मीठो स्वरमा समझाऔं। हामी सबैको सानो प्रयासले नै हाम्रो शहरहरू, हाम्रो नेपाललाई सफा, स्वच्छ र स्वस्थ ठाँउको रूपमा परिचित गराउन सक्छौं, एउटा यस्तो देश बनाउन सक्छौं जुन सफा र स्वच्छतामा अग्रणी हुन सक्छ। हामी शिक्षित हौं, हामी सभ्य हौं। हामीहरूले आफ्नो कार्यले, आफ्नो व्यवहारले, र आफ्नो चेतनाल यो कार्यलाई साबित गर्न जरुरी छ।
(लेखक क्लिन अप नेपालका कार्यकारी निर्देशक हुन्।)
प्रकाशित: १२ मंसिर २०८२ १०:२६ शुक्रबार





