coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
ब्लग

कागजी ‘जहाज’

तुम लिख कर लाना हर फिक्र एक कोरे कागज पर,

फिर, हम सिखाएंगे तुम्हे,

कि कैसे ‘जहाज’ बनाकार उनको उडाया जाता...!

भारतका प्रसिद्ध गीतकार गुलजारले लेखेको सायरीका बारेमा यी बालकलाई के पत्तो? न त चिया पसलको टेबलमा राखिएको घोषणापत्रमा लेखिएका घरघरमै स्वास्थ्य सेवा, वृद्धभत्ता, उद्यमको योजना, बिना धितो ऋण जस्ता सपनाहरु उसले पढ्यो। ऊ सरासर पसलमा आयो। उक्त पानालाई  पट्यायो। कागजी ‘जहाज’ बनायो अनि मुस्कुराउँदै  हावामा उडायो।

कुनै अमूक दलका कार्यकर्ताले छाडेको प्रतिबद्धता-पत्रमा के लेखेको थियो? वा, त्यो कति कार्यान्वयन हुन्छ भन्ने उक्त बालकलाई के थहा? बरु जहाज राम्रोसँग नउडेर होला ऊ घोषणापत्रको अर्को पेज खोज्दै  बाहिर निस्कियो।

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरूले वडा र टोलटोलमा चुनावी एजेण्डा र प्रतिबद्धता-पत्र लिएर मतदाता माँझ पुगिरहेका छन्। तर, मतदाता भने दलहरूलाई घोषणापत्र भन्दा पनि त्यसलाई पूरा गर्न सक्ने विश्वास लिएर आउन आग्रह गरिरहेका छन्।

दलहरूले निर्वाचनका समय घोषणपत्रमा एउटा र व्यवहारमा अर्को काम गरेको भन्दै यसमा मात्र विश्वास गर्न नसकिने उनीहरूको बुझाइ छ। त्यसैले होला विश्वासको कमीमा गरिने बाचा उनीहरूलाई झुटको पुलिन्दा मात्र लाग्छ। दिल्लीका मुख्यमन्त्री केजरीवाल पछिल्लो समयमा घोषणापत्र भन्न छाडेका छन्।

जनताको समस्या समाधान गर्ने मुख्य उद्देश्य बोकेर राजनीतिमा होमिएका केजरीवालले ‘ग्यारेन्टीपत्र’को धारणा अगाडि ल्याएका छन्। उनको विगत र ग्यारेन्टीपत्रको अभियानले उनको पार्टीले पञ्जाबको चुनावमा अत्यधिक बहुमत ल्याउन सफल रह्यो।

यता हाम्रो भने घोषणपत्रमा ठूला-ठूला कुरा लेख्ने तर काम भने नगर्ने दलहरूको विगतका कारण ती पत्रहरु महत्त्वहीन छन्। पार्टीहरूले विगतमा गरेका बाचा पूरा नगरेको भन्दा पनि भरोसा गर्न सक्ने पार्टी अभाव भएकोमा मतदाताहरु बढी चिन्तित छन्।

त्यसैले होला, कतिपय मतदाता त ‘बेनितो मुसोलिनी’ को ‘कसैमा विश्वास गर्नुभन्दा पनि कसैलाई विश्वासै नगर्नु धेरै राम्रो’ भन्ने सिद्धान्तमा लागेका छन्। विश्वासको अभावमा दलहरूका एजेण्डा र घोषणपत्र चिया पसलमा बालकले उडाएको कागजी जहाजको पाना जस्तै बनेको छ। यसले न त कुनै गन्तव्य लिन्छ न त यसले जनतालाई कतै पुर्‍याउँछ।  

प्रकाशित: २७ वैशाख २०७९ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App