६ जेष्ठ २०७९ शुक्रबार
ब्लग

पहिले हामीचाहिं अग्रगामी हौं भन्ने पुष्टि गर्ने कि?

अघिल्लो वर्ष ओलीको प्रतिगमनविरुद्ध जनता विद्रोहमा उत्रिए। जब ओलीले संविधानमाथि खेलवाड गरे, ओलीइतरका सबै नेताले संविधान बनाउँदा नै कमजोरी भएको महसुस गर्दै त्यसलाई सच्याउने प्रतिबद्धता समेत जनाएका थिए।

माधव नेपाल र प्रचण्ड, शीर्षस्थ यी दुई नेताले हामीबाट पनि धेरै गल्ती भएको त्यसलाई सच्याउने भन्दै जनतासँग याचना गरेका थिए। उनीहरूले भृकुटीमण्डपको दुईदुईवटा विशाल आमसभामा संविधान बनाउँदा आजको दिनको हेक्का गर्न नसकिएको र अब संविधान संसोधन गरेर गणतन्त्र नेपाललाई अझ बलियो बनाउने प्रतिबद्धता जनाएका थिए तर एक वर्षभरिमा नेपालको राजनीतिमा धेरै पानी बगिसकेको छ। नेताहरूको बोली मात्र होइन चिन्तन समेत फेरिएको छ। तिनका प्रतिबद्धताहरू इतिहासमा सीमित भएको छ।

सडकमा हामी यता छौं भन्दै हात जोड्दै जनता गुहार्ने हाम्रा नेताहरू सत्ताको स्वादमा फेरि ढलीमली गर्न पाएपछि सडकमा सँगै रहेका जनता बिर्सर्दै पुरानै मञ्चमा फर्केका छन्। उनीहरूलाई जनता वा पार्टी कार्यकर्तामाथि चासो नभई कसरी आफू मालिक रहिरहनेमा चिन्ता छ। हिजो केपीले दिनरात लात हानिरहँदा रुँदै जनतासँग उनीहरूले गरेका प्रतिबद्धता मात्र होइन, गणतन्त्रलाई जोगाइराख्ने दायित्व समेत बिर्सन थालेका छन्।

त्यसबेला हाम्रो ठम्याइँ थियो–संविधानमा कमजोरी भयो, शासकीय स्वरूप र निर्वाचन प्रणाली गलत हुँदा केपी ओलीले गणतन्त्रमाथि खेल्ने मौका पाए।

ओलीले संविधानका यिनै कमजोरीमा टेकेर हाम्रा नेताहरूलाई सडकको धुलो चटाउन बाध्य भएका थिए। लामो बलिदानी दिएका नेता र कार्यकर्तामाथि ओलीले रैती सरह शासन गर्न चाहे। राष्ट्रपतिले प्रधानमन्त्रीको इसारामा व्यवस्था र संविधानकै घाँटी निमोठ्ने कुचेष्टा गरिन्। त्यसैले संविधान संशोधन गर्ने र शासकीय प्रणालीमा सुधार गर्ने विषय समेत उठेको थियो। तर, नेताहरूलाई घुम्ने मेच पुनःप्राप्त भइसकेपछि यतिबेला उक्त विषय गौण भएको छ।

सिंहदरबार र बालुवाटार खुला हुँदा नेताहरू गाडी घोडामा मद्होस् हुइँकिन पाएका छन्। त्यसैले अहिले संविधान संशोधनको कुरा हराएको छ तर मीठो–मसिनो खान पाएपछि एसी रुमभित्र घुम्ने मेचमा बसेपछि उनीहरूले विगतको चोट बिर्सेका छन्। घोचेको घाउ निको भएको महसुस भए पनि बाटामा फालिएको काँडा हटाउने सोच नै छैन।

नेताज्यूहरूलाई हिजो चिसो सडकमा बसेको स्थान पनि याद छैन होला सायद। अतः जनता फेरि निराश छन्, कार्यकर्ता रुष्ट छन् र देश पुनः अन्योलमा डुबेको छ। अर्थात् ओलीलाई विस्थापन गरेर हामी सरकारमा गयौं, हामीले नयाँ पार्टी बनायौं र नेता बन्यौं तर विधिपद्धति फेरिएन, चिन्तन र चरित्रमा कुनै सुधार देखिएन। नीतिनियमको परिमार्जनमा कसैको चासो गएको पाइएन।

लौ न गरौं भन्दा सबैको कान, आँखा र मुख बन्द हुने गरेका छन्। परम्परा जे चल्दै थियो त्यही दोहोरिएको छ। यस विषयमा मैले नेताहरूलाई लिखित रूपमा केही सुझाव दिएँ। ती सुझाव पढ्ने फुर्सद कसैलाई छैन। पार्टीको मुखपत्र बुलेटिनमै छाप्दा समेत नेताहरूले हेर्दै हेरेनन्। केहीले चाहिँ ‘ए अँ छापिएको रहेछ। मैले शीर्षक देखेंथे’ मात्र भने। चियाचौतारी र कफी क्याफेमा जमेर घन्टौं समय बिताउँछन्। ओलीविरुद्ध नानाथरी कथाकुथुरी आउँछ।

आफ्नै कामरेडहरूविरुद्ध उछितो काढेको सुन्छु तर जनपक्षीय पार्टी बनाउने,  देशलाई समृद्ध बनाउने र कार्यकर्ताको आवाज सुन्नपर्ने सुझाव सुनिएकै छैन।

ओलीले गर्न नसकेका कामहरू गर्ने र बिगारेकालाई सुधार्ने कुरामा कसैको मन गएको देखिन्न। बरु ओलीलाई सरकारबाट विस्थापन गरेको हर्षबढाइँ र आत्मरतिमा रमाएको जताततै देखिन्छ।

नेताहरूको घरमा घुइँचो लाग्ने गरेको छ। सबैका आआफ्ना स्वार्थ छन्, योग्यता होस् या नहोस्, केन्द्रीय सदस्य चाहिएको छ। केन्द्रीय सदस्यपछि इन्चार्ज वा पदाधिकारी थप चाहिएको छ। कोही संसद् हुने अपेक्षाले नेताको द्धारदलानमा दिनैपिच्छे पुगेका छन्।

संसद्लाई मन्त्री चाहिएको छ र मन्त्री हुनेलाई राम्रो मन्त्रालय।  नेता–कमरेडहरू योग्यता, क्षमता, समावेशिता र देशको आवश्यकता हेर्नेभन्दा कसले बढी भक्ति दर्शन गर्छ, कसले आफ्नो गुणगानसहित कुरा गर्छ, त्यसलाई टीका लगाइदिइहाल्छन्।

तिनीहरूले के कति काम गरेका छन्, पार्टी एकाइहरू,विभाग र जनसंगठन के कसरी चलिरहेका छन्, समस्याहरू केके छन् सोध्दैनन् र बुझ्दैनन् पनि। कार्यकर्ताको गुनासो के छ? त्यो पनि गहिरिएर बुझ्ने गरेको पाइँदैन। नेता र मन्त्रीहरू उही सरुवाबढुवा, आफ्ना मान्छेको भर्ती, भाषणभुषण फूलमाला, पिर्के सलामी र गाडीका लागि दौडधूप गरेको देखिन्छ।

यसैलाई उनीहरूले लोकतन्त्रको सबल पक्ष भनेर परिभाषा दिंदै आएका छन्। उनीहरूको बुझाइमा समाजवाद वा समृद्धिको आधार नै यही हो।

केपी ओलीसँग लड्नुको उद्देश्य नयाँ पार्टी खोल्नु वा नयाँनयाँ नेता बन्नु, ओलीका दायाँबायाँ बस्नेहरूको ठाउँमा माधव नेपालको दायाँबाँयाँ हामी बस्नु हाम्रो मक्सद थिएन। मुलुकलाई नयाँ दिशामा डोर्‍याई जनताको समृद्धि र मुलुकको छिटो विकास गर्दै समाजवादको लक्ष्यमा अगाडि बढ्नु थियो। मुलुकलाई अग्रगतिमा अघि बढाई एसियाली मापदण्डमा छिट्ट्र पुर्‍याउनु थियो। जनताले हिजो पाएका सास्तीहरूलाई निराकरण गर्नु थियो।

करमाथि करको आतंकले जनता आतंकित भइरहेका बेला त्यसबाट जनतालाई मुक्त गर्नु थियो। ओलीले एकलौटी बाहुनवाद लादेर आफ्ना जात, गोत्र र वंशका मान्छेहरूलाई मात्र सेवासुविधामा पहुँच दिएकाले त्यसलाई तोडी संविधानले व्यवस्था गरे अनुरूप सबैको समावेशी हिस्सेदारीता स्थापना गर्नु थियो। भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्नु थियो।

कर्मचारीतन्त्रमा देखिएका अनिष्ठा, विचलन, भ्रष्टाचार र मनोमस्तीलाई नियन्त्रण गरी तिनलाई जनताको वस्तविक सेवक भएको महसुस गराउनु थियो। दिनदिनै भइरहेका बलात्कार, हत्या, हिंसा तथा जातीय भेदभावको निर्मूल गरी मानव अधिकारको रक्षा गर्दै समावेशी नेपालको स्थापना गर्नु थियो।

समग्रमा कानुनको राज, विधिको शासन र नीति पद्धतिमा आधारित विकास कायम गराउनु थियो। त्यसका लागि हामीले आफ्नो चरित्र, नियत र मुलुकको समग्र नीतिमा हेरफेर गर्नुपर्ने थियो। केही नयाँ संरचना निर्माण गर्नु र केही पुराना संरचना तोड्नुमोड्नु थियो।

हामीले विद्रोह गर्नुको औचित्य विधिपद्धति र सुशासन अनि जनतालाई राहत दिने विषयहरू थिए, लोकतन्त्रमा देखिएका विघ्नव्यवधानहरू र ऐनकानुनको दुरूपयोगलाई नियन्त्रण गर्नु थियो। राष्ट्रिय स्वाभिमान र जनताको सार्वभौमताको रक्षा थियो। समाजवादका आधारहरू निर्माण गर्दै वास्तविक रूपमा मुलुकलाई समृद्ध बनाउनु थियो। तर हामीले नीतिगत सुधारका कुराहरूको विषयलाई छुँदै छोएका छैनौ। मुलुकलाई समृद्ध पार्ने नयाँ संरचनाहरू निर्माण गर्ने कुरामा बहस गर्न कोही तयारै छैन। यथास्थितिको ऐनकानुन र दोहोरो चरित्रको कर्मचारी संयन्त्रलाई हल्लाउन पनि चाहदैनौं।

ओलीले बिगारेका विधि, पद्धति र आतंकहरूलाई खारेज गर्ने कुरामा नेताहरूको ध्यान गएको छैन। हिजो जसरी चलेको थियो,त्यही परम्परालाई धानेर आफू रमाउने कुरामा केन्द्रित छौं।

मन्त्रालयहरू हेरौं–मन्त्री, तिनका पिए र कर्मचारीहरू खुबै व्यस्त देखिन्छ तर तिनका ढर्रा र परिणाम उही पुरानै। खोई त जनताले राहत पाएको! खोई त जनताले सहजताको अनुभव गरेको! कार्यकर्ताले मेरो नेता मेरो पार्टीको मन्त्री भनेर गर्व गर्न सकेको खोई? दलित उत्पीडित, पछाडि पारिएका समावेशी समूहले मेरो पार्टी, मेरो पनि सरकार, यसले मेरो मुद्धा सम्बोधन गर्छ भन्ने आधार खोई? ओली प्रतिगामी नै थिए तर हामीचाहिं अग्रगामी हौं भन्ने पुष्टि गर्ने परिणाम खोई कमरेड?

प्रकाशित: ९ फाल्गुन २०७८ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App