१८ मंसिर २०७८ शनिबार
ब्लग

मानसिक समस्याबारे बेलैमा सोचौ

सन्दर्भ– विश्व मानसिक दिवस:

पछिल्लो समय विविध कारणले नेपालमा पनि मानसिक समस्या बढ्न थालेको छ। आम रूपमा समस्याका रूपमा नलिइने यो समस्या विकराल बन्दै गइरहेको भन्दै मानसिक स्वास्थ्यमा काम गर्नेहरूले चिन्ता र चासो दिन थाले पनि सरकारी तवरबाट भने चासो दिने गरेको पाइँदैन। विभिन्न अभाव, समस्या, बेरोजगारीका कारण देखिने मानसिक समस्या कोरोना त्राससंगै बढ्दो गतिमा गएको देखिन्छ।

केन्द्र सरकारले यदाकदा मानसिक स्वास्थ्यका बारेमा न्यून चासो दिने गरेको देखिए पनि प्रदेश सरकार र स्थानीय तहहरू यो विषयमा अनभिज्ञ जस्तै छन्। मानसिक स्वास्थ्यलाई समस्याका रूपमा नलिने गरेका कारण पनि समस्या ओझेल परेको हो। विभिन्न सरकारी निकायहरू सम्वेदनशील नबनिदिएका कारण स्वास्थ्यका जटिल मुद्दाहरू जहिल्यै लुक्ने गर्दछन्। विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य एउटा अवस्था हो। जसमा व्यक्तिले आफूसँग भएको सामथ्र्यलाई महसुस गर्ने, जीवनमा आइपर्ने सामान्य तनावलाई सामना गर्न सक्ने, उत्पादनशील काम गर्न सक्ने, आफ्नो क्षमता अनुसार परिवार र समाजका लागि योगदान गर्न हुन्छन्।

मानसिक स्वास्थ्यले संवेगात्मक, मनोवैज्ञानिक र सामाजिक सुस्वाथ्यलाई समेटेको हुन्छ। यसले व्यक्तिले कस्तो सोच्छ, महसुस गर्छ र क्रियाकलाप गर्दछ भन्ने कुरालाई प्रभाव पार्दछ। त्यसैले मानसिक रूपमा स्वस्थ्य व्यक्तिले आफ्नो सोचाइ, भावना र व्यवहारलाई समाजमा सबैले मान्य हुने ढंगले प्रकट गर्दछन्।

मन र समाज बिचको तालमेल मिलेको अवस्थामा व्यक्तिमा कुनै समस्या हँदैन। यसलाई मनोसामाजिक सुस्वास्थ्य भनिन्छ। तर एउटा व्यक्ति समाजमा बसेको र हुर्केको हन्छ, उसँग त्यस समाजप्रतिको संस्कार, परम्परा, धर्म आपसी सम्बन्ध हुन्छ भने त्यसको साथसाथै उसको व्याक्तिगत भावना विचार, धारणा, बुझाइ आदि पनि हुन्छ। यी दुई बिचको सम्बन्ध नै मनोसामाजिक हो र यी दुई बिच सन्तुलन हुन सकेन भने मनोसामाजिक समस्या उत्पन्न हुन सक्छ।

मानसिक तनावका कारण मानिसलाई थुप्रै रोग लाग्न सक्छन्। डिप्रेसन, निराशापन, एन्जाइटिक डिसअडर, छटपटीको समस्यासंगै निन्द्राको समस्या समेत हुन्छ। तनावका समयमा मानिसहरूले लागु पदार्थ समेत प्रयोग गर्छन्। अहिलेको कोरोना महामारीमा पनि धेरै जना एकैपटक प्रभावित हुन्छन र भइरहेको छन्।

समाजमा अफवाहजन्य कुराहरू फैलिएका कारण पनि अस्तव्यस्तजस्तै बनेको छ। आधारहीन हल्लाले मानिसहरूमा नकारात्क भावनाको विकास हुन्छ भने  व्यक्तिहरूको दिनचर्या पूरै उथुलपुथल हुन्छ।

यो अवस्थामा मानिसहरू सामाजिक, पारिवारिक, आर्थिक तथा मानसिक रूपले एकदमै दयनीय अवस्थामा हुन्छन्। कतिपय घरका परिवारिक सदस्यहरू आइसुलेसनमा बसेको यो समयमा बिरामी आफै मात्र नभई उनको परिवारलाई तनाव भइरहेको छ। मानसिक रूपमा चिन्ता,पिर छटपटी भइरहेको अवस्था छ। अहिले दिन प्रतिदिन आत्महत्याका घटनाहरू बढिरहेको अवस्था छ।

मानिसहरूलाई दिक्क लाग्ने, नरमाइलो लाग्ने, निराशा हुने, छटपटी हुने, अत्यास लाग्ने, ढुकढुकी बढ्ने हुन्छ। हातखुट्टा झमझमाउने पोल्ने कहिले यता कहिले यता दुखेजस्तो लाग्ने हुन्छ। यस्तो बेलामा जचाउन गयो रिपोटमा केही पनि आउँदैन यो सबै तनावका कारणले हुन्छ।

मानसिक तनावबाट बच्ने उपायहरू

मानसिक तनावबाट बच्न, शारीरिक स्वस्थ्य राख्न हामी व्यायाम गर्ने जस्तै मन स्वस्थ राख्नका लागि पनि काम गर्नुपर्छ। आफ्नो विचारलाई कसरी स्वस्थ राख्ने? मेरो विचार कतातिर गैरहेको छ? म आज कस्तो छु? मेरो सोचाइ कस्तो छ? म स्वस्थ्य छु कि छैन? आज म खुसी छु कि छैन अलि तनाव पो छु कि यस्ता कुरा बेलाबेलामा याद गर्नुपर्छ। मेरो तनाव कस्तो खालको हो, मेरो पारीवारिक हो कि व्यावसायिक हो कि या जागीरको पो हो कि यसलाई पत्ता लगाउनुपर्छ। यस्ता कुराको साथै निन्द्राको व्यवस्थापन खानाको व्यवस्थापन गर्न जरुरी छ।

आफू र परिवारलाई बेलाबेलामा मनोरन्जन दिन आवश्यक छ। आफूले आफूलाई स्वस्थ र बलियो बनाउन मैले कुनै रमाइलो र खुसी हुने काम गरेको छु कि छैन भनेर आफूले आफूलाई जाँच्नुपर्छ। आधुनिकताले गर्दा व्यक्तिवादी चिन्तन हावी भएको छ। दिनरात काम गर्ने गर्नाले एक दिन पनि मानिसलाई फुर्सद छैन। रातिमा काम गर्नेलाई अझ बढी तनाव हुनसक्छ।

बेलाबेलामा साथीभाइ,आफन्तसंग घुम्ने रमाइलो गर्ने गर्नुपर्दछ। बिदाको दिनमा आफ्नो कामको तनाव लिनु हुँदैन। आफ्नो विचारलाई बेलाबेलामा जाँच गर्नुपर्दछ। यस्ता समस्या देखिए भने मनोविमर्शकर्ता कहाँ जानुपर्छ र त्यहाँबाट समस्या समाधान हुन नसकेमा मानसिक रोग विशेषज्ञहरूसंग सल्लाह लिनुपर्छ।

नेपालमा मानसिक समस्या भन्नासाथ एउटै कुरा बुझ्ने गर्छौ त्यो हो पागलपन। जबसम्म व्यक्ति र समाज यो समस्याबाट उठन सक्दैन तबसम्म यो समस्या रहिरन्छ।अहिले पनि मानसिक स्वास्थ्यलाई समस्याको रूपमा हेरिएको अवस्था छैन। मानसिक समस्यालाई लाज र घृणाको संज्ञा दिइरहेको छ।

यसले समस्यामा परेको व्यक्ति झन् समस्या भोग्नुपरेको छ भने समाजले पनि कतै न कतै पीडाबोध गरेको हुन्छ। सबैभन्दा पहिले त मानसिक समस्याप्रति कोही कतै पनि संवेदनशील नभएको पाइन्छ।यसले यो समस्यालाई झनै मौलाएको देखिन्छ।

विश्व स्वास्थ्य संगठन अनुसार विश्वमा बर्सेनि ८ लाख व्यक्तिले आत्महत्याको कारणबाट ज्यान गुमाइरहेका छन्। १५ देखि १९ वर्ष उमेर समूहको व्यक्तिहरूको मृत्यु हुने प्रमुख तेस्रो कारण पनि आत्महत्या नै हो। विश्वमा हुने ७९ प्रतिशत आत्महत्या कम र मध्यम आय भएका देशहरूमा भएको छ। नेपालमा आत्महत्यासम्बन्धी नियमित तथ्यांक नभए पनि विश्व स्वास्थ्य संगठनले २०१२ मा उमेर अनुसारको आत्महत्याको दर निकालेको थियो।  

नेपाल आत्महत्याबाट मृत्यु हुने देशमा सातौं स्थानमा रहेको र प्रति एक लाखमा २५.९ जना व्यक्तिहरूले आत्महत्या गर्ने देखिएको छ। सन् २००८/०९ मा गरिएको मातृमुत्यु र रुग्नता अध्ययनले प्रजनन उमेर समूहका महिलाको मृत्यु हुने प्रमुख कारण पनि आत्महत्या नै रहेको जनाएको छ। यसले नेपालमा मानसिक स्वास्थ्यको अवस्था अत्यन्तै कमजोर र भयावह रहेको देखाउँछ।

नेपालमा मानसिक स्वास्थ्य नीति २०५२ सालमा बनेको थियो तर पनि मानसिक स्वास्थ्य कार्यक्रमले नेपालको राष्ट्रिय स्वास्थ्य एजेन्डामा गतिलो प्राथमिकता पाएन। स्वास्थ्य मन्त्रालयले २०७१ मा नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय कार्य योजनामा मानसिक स्वास्थ्य सम्बन्धी कार्य क्षेत्रहरू तोकिनुको साथै कार्यान्वयनको तहमा ल्याएको छ।

यसको अतिरिक्त नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०७२–२०७७ ले पनि मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अंगको रूपमा समावेश गर्दै आधारभूत स्वास्थ्य सेवा सूचीमा इपिलिप्सि, स्किजोप्रेनिया, बाइपोलार डिसअर्डर र एन्जाइटी डिसअर्डरलाई समावेश गर्दै त्यसको निःशुल्क उपचार तथा मनोविमर्श सेवा प्रदान गर्ने व्यवस्था समेत गरिएको अवस्था छ।

विकराल बन्दै गइरहेको मानसिक समस्यालाई न्यूनीकरण गर्न देशमा रहेका तिन तहका सरकारले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ। स्थानीय सरकारले आफ्नो ठाउँका समस्या पहिचान गर्दै समस्या समाधानका लागि बेलैमा सोच्न सक्ने हो भने आम नागरिकले समस्याबाट मुक्ति पाउने छन्। हरेक स्थानीय तहहरूले एक जना मनोविमर्शकर्तालाई खटनपटन गर्न सकेमा मात्र पनि भोलिका दिनमा रोग पहिचान गर्न र उचित व्यवस्थापन गर्न सहज हुने छ।

विकराल बन्दै गइरहेको मानसिक समस्यालाई न्यूनीकरण गर्न देशमा रहेका तिन तहका सरकारले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ। स्थानीय सरकारले आफ्नो ठाउँका समस्या पहिचान गर्दै समस्या समाधानका लागि बेलैमा सोच्न सक्ने हो भने आम नागरिकले समस्याबाट मुक्ति पाउने छन्। हरेक स्थानीय तहहरूले एक जना मनोविमर्शकर्तालाई खटनपटन गर्न सकेमा मात्र पनि भोलिका दिनमा रोग पहिचान गर्न र उचित व्यवस्थापन गर्न सहज हुने छ। 

प्रकाशित: २५ आश्विन २०७८ १५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App