२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
ब्लग

हराएको गाईको समाचार

गाई हरायो। देशमा वैधानिक प्रधानमन्त्री र प्रधानसेनापति हराएको बेला मंगलबार बिहानै रेडियोमा बजेको खबर थियो यो।

मुलुकको वर्तमान परिस्थितिले सेयरबजारमा आएको लाखौँको उतार-चढाव भन्दा पनि पर्सा लखनपुरमा एक किसानको मंगलबार बिहान गाई हराएको खबरले मेरो ध्यान तान्यो।

दिनभर खोज्दा नपाएपछि किसानले रेडियोको सहारा लिएर खोजीमा देखाएको उत्सुकताले मलाई त्यस विषयमा सोच्न बाध्य बनायो। भारतमा अम्बानी परिवारले आफ्नो आम्दानीको केही प्रतिशत गुमाउँदा त्यो विश्व समाचार बन्न सक्छ। सेयर बजारमा आएको सामान्य उतार-चढाव राष्ट्रिय समाचार बन्न सक्छ। तर ती किसानले धान बेचेर किनेको सिङगो गाई बाच्छासहित हराउँदा किन ठूलो समाचार बन्न सक्दैन। यसको जवाफ खोज्न मन लाग्यो।

मंगलबार राति र बुधबार बिहानसम्म यसै विषयमा पूरै ध्यान केन्द्रित भयो। सोच्न थालेँ, कतै त्यो गाईसँग किसान परिवारको सपना पनि जोडिएको थियो कि। कहीँ त्यही गाईको दूध बेचेर तिनका कलिला बालकको पढाइ खर्च पो जुट्थ्थो कि। अनि त्यसैको दूध किसानका वृद्ध बा-आमाले पिउँदै आएका पो थिए कि। यस्तै प्रश्नले मलाई चैनसँग बस्नै दिएन। जवाफ खोज्न किसानको घर मै जाने विचार गरेँ।

नजिकका साथीलाई यो घटना सुनाएँ। धत् मुला, गाई हराएको नि समाचार हुन्छ र, अधिकांशले यसै भन्दै जिस्काए। म मुस्कुराएँ। मलाई कसैगरी पनि त्यो बस्तीमा जान तयार हुने एउटा साथी खोज्नु थियो। म त्यसैमा जुटेँ। जीतपुर बजारमा चिनेका पुराना साथी जफुर रहमानलाई भेटाएँ। उनलाई पनि उक्त घटनाको जानकारी गराएँ र जानको लागि आग्रह गरेँ। सुरुमा उनी पनि हाँसे। मैले सबै कुरा बताएँ र अन्त्यमा भनेँ-समाचारको लागि नभए पनि घुम्नको लागि मात्र भए पनि हिँड। अब उनी तयार भए।

जीतपुरबाट झण्डै ३० किलोमिटर पर पर्ने रहेछ यो गाउँ। गाउँ बारे जानकारी राख्ने मानिसलाई भेटेँ। एकले बताए- वीरगन्ज सुख्खा बन्दरगाहबाट १० किलोमिटर जति पश्चिममा जानू। त्यसै गरेँ। तर गाउँ फेला परेन। लखनपुर गाविस त फेला पर्यो तर किसानको घर एकडरवा भन्ने गाउँमा रै'छ। सोध्दै-खोज्दै गाउँमा पुग्यौँ। छिर्ने बित्तिकै भेटिएका एक किसानलाई किशोरी सहनीको घर कुन भनेर सोध्यौँ। उनले गाउँको पल्लो छेउमा जान भने।

आँगनमा पुग्यौँ। किलामा बाँधिएका रातो गाई र बाच्छा पानी पिउँदै रै छन्। सँगै उषादेवी पानी चलाउँदै थिइन्। गाई तपाईँहरु कै हराएको हो ? मैले सोधेँ। उनी हाँसिन् र भनिन् - हामीले त भेट्टायौँ।‘

गाई हराएपछि उनको परिवारले एकदिन भोगेको कहालीलाग्दो घटना उनले सुनाइन्। पाँच वर्षीय जुम्ल्याहा छोरा र वृद्ध ससुरालाई दूध खुवाउन उनीहरुले भर्खरै उक्त गाई किनेका रै'छन्। त्यो हराएलगत्तै परिवारमा रुवाबासी चलेको उनले बताइन्। सबैतिर खोज्दा पनि नभेट्टाए पनि उनका ससुराले रेडियोमा खबर गरेको उनले बताइन्। समाचार कै कारण गाई भेटिएकाले रेडियो झनै प्यारो लागेको उनले बताइन्। यति भनेपछि गाईतर्फ हेर्दै उनी फेरि हाँसिन्।

सँगै रहेको साथीले मेरो अनुहारमा हेर्यो। म पनि हासिरहेको थिएँ। उसले बुझेन र सोध्यो - ‘उनीहरुले गाई भेट्टाएपछि तेरो त समाचार हराइहाल्यो नि। उसको प्रश्न स्वाभाविक थियो। म गाई हराएकै समाचार नै लिन यति मेहनतका साथ आइपुगॆका थिएँ। यो समाचारको बारेमा बाटोमा ऊसँग थुप्रै कुरा पनि गरेको थिएँ। त्यसैले ऊ गाई भेट्टाएको कुराले समाचार गुमेको अड्कल लगाएको थियो। मेहनत गुम्दा पनि हाँसेको देखेर उसले उक्त प्रश्न गरेको थियो। ‘सबै कुरा बुझे पनि उसले केही कुरा भने बुझेको थिएन। उसले बुझ्न सकेन मैले समाचार गुमाए पनि त्यहाँ धेरै कुरा पाएँ भन्ने। अझ यसो भनौँ न - गाईसँगै उभिएकी उषादेवी र उनका कलिला छोराको हँसिलो अनुहार हेरेर मलाई जुन आत्मसन्तुष्टि मिल्यो त्यो मैले समाचारबाट प्राप्त गर्न सक्दिन थिएँ।

 

प्रकाशित: २५ वैशाख २०६६ ०५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App