१० असार २०७८ बिहीबार
ब्लग

कोरोनाको आगोमा रोम बन्दै नेपालगन्ज

अहिले मृत्युको सन्त्रासमा छ नेपालगन्ज। हेर्दाहेर्दै मसानघाटको कल्पना गर्न बाध्य छ, नेपालगन्ज। कुनै कल आउँदापनि झस्किन्छ नेपालगन्ज। कतैबाट, आफन्तको बारेमा अप्रिय समाचार सुन्नुपर्ने हो कि भन्ने डरमा छ नेपालगन्ज। नेपालगन्जवासीमा सायदै कोही भेटिएलान जो कोरोनाको कहरबाट बच्न सकेको होस।

साथी, टोलको अन्टी, फलाना दाईको मुवा, फलानाको बुवा बितेको श्रद्धाञ्जली भन्दै नेपालगन्जवासीहरु सामाजिक सन्जालमाल पोष्ट गर्न थालेका छन्। फेसबुकमा लगातार पोष्ट कमेन्ट गर्दै दुखित रुपमा मलामी समेत जान नसकेको पीडामा छट्पटीदैं छन्। जो पिसिआर गरेर पोजेटिभ रिपोर्ट पाउँछन् उनको मनोबल, उनीहरुको मानसिक अवस्था, यस्तो अवस्थामा छ कि बाच्ने आशानै देखिदैन। मृत्युको मुखमा झक्झक्याउन एउटा तत्कालको घटना केही दिन अघिको सत्य तर तीतो।

नेपालगन्ज पीडाले जलिरहेको छ। सरकार सत्ताको बासुरी बजाउँदैमा मस्त छ। अहिले हामीलाई निरो हैन, ‘हिरो’को खाँचो छ। जसले नेपालगन्जको आगो निभाओस्। 

अन्दाजी साँझ पाँच बजे मलाई फोन आउँछ। नेपालगन्ज वार्ड न.१० घर भएको एकजना दाई पर्नेले भेरी हस्पिटल इमर्जेन्सबाट अत्तीएर कल गर्नुभएको थियो। उहाँको कोरोना संक्रमित आमाको अक्सिजन लेभल कम भएकाले अक्सिजन बेड जसरी मिलाइदिनु भान्नु भयो। आमाको अक्सिजन ६५ प्रतिशत थियो। मैले रामलीला मैदान नजिक नयाँ बनेको ५० आइसोलेसन बेड भएको ठाउँमा लानु बनेर कन्ट्याक्ट नम्बर दिए। उता कोभिड आइसोलेसनबाट बेड खाली छ तर वार्डको फोकल पर्सनललाई सम्पर्क गर्नु भनेको रहेछ। त्यसपछि मैले फोकल पर्सन गगन स्वादलाई सम्पर्क गर्दा त्यसतो बिरामीलाई डाइरेक्ट लिन मिल्दैन, बरु मेयर धवल शमशेर र उपमेयर उमा थापालाई कल गर्नु अनि बल्ल त्यहाँ एड्मिट हुन्छ भने। धन्न भाग्यवश भेरीको इमर्जेन्सीमा प्रयोग भएको सिलिन्डरमा अक्सिजन भएकोले त्यहीं कुनामा राखेर त्यो अक्सिजन दिइयो।  

के अक्सिजन लेभल कम भएको आइसोलेसन सेन्टर देखावटी पब्लिसिटीका लागि मात्र हो त? के त्यहाँ एड्मिट हुनलाई भिआइपी, सेलिब्रिटी, टप बिजिनेसमेन र नेताहरु हुनु पर्ने हो र?  

बिजेन्द्र जिसिको वालबाट गरिएको यो पोष्टले झसङ्ग बनाउदै स्थानीय निकायले अक्सिजनसहितको आईसोलेसन बेड अस्पताल सन्चालन गरे भन्ने खबर आउँदा आउँदै यस्ता खबरले झन दुःखी बनायो नेपालगन्जलाई। जुन जनप्रतिनिधिलाई वाहवाहि भयो उसैको सोच र व्यवहारमा प्रश्नचिह्न खडा भएको छ।  

आम नागरिकको आशामा जनप्रतिनिधिहरुबाट तुषारापात भएको परिस्थितिमा नेपालगन्ज गुज्रिएको देख्दा र नेपालगन्जका नागरिकलाई रैती समान पनि व्यवहार नगर्ने नेताले गर्दा अझै परिस्थिति बिकराल हुने खतरा बढेको छ। कोरोनाकालमा नेपालगन्जमा ३ वटा सिडिओसाबहरु आउनु भयो तर बलजफ्ती सरुवा गराईनु भएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई बाँकेले बिर्सन सक्ने छैन, उहाँले यहाँका जनप्रतिनिधिहरुको अकर्मण्यताको आकलन गरेर उनीहरुमाथि भर नपरेर पहिलो चरणमा कोरोनासित लड्न जुन साहस गर्नुभयो त्यसको लागि उहाँलाई धन्यवाद दिनै पर्ने हुन्छ। प्रहरी प्रशासन र जनप्रतिनिधि मिलेर नेपालगन्जलाई संकटमुक्त बजाउनुको साटो सिडिओ कुरुम्बाङको सरुवामा लाग्नु अर्थपूर्ण छ। खुला सिमानामा रहेको नगरलाई समयमा सुरक्षित गर्न नसकेको मुख्य कारण हो आज समुदायमा कोरोना फैलिनु। नगरपालिकाले लकडाउन गरेपछि पनि ई रिक्सा, लामो दूरीको नाममा चलेका सवारीसाधन र ती सवारीसाधनसम्म पुर्‍याउन प्रयोग भएका अन्य साधनलाई नियन्त्रण गरिएको भए आज यो भयावह र कहालीलाग्दो अवस्था आउने थिएन होला।  

स्थानीय सांसद र स्थानीय सरकार प्रमुखबीच कुनै संवाद सहकार्य भएको समाचार पनि आउदैन कतैबाट। बरु भेन्टिलेटरको बजेट समेत फ्रिज हुनपुगेको सुन्दा नागरिकको ज्यान प्रति कत्तिको संवेदनशील छन् सहजै अनुमान गर्न सकिन्छ। यसैबीच एउटा सुखद समाचार पनि आयो भेरी अञ्चल अस्पतालमा अक्सिजन प्लान्ट लागेको छ। सम्भवतः अब अक्सिजनको कमी घट्ने छ र केही हदसम्म कोरोनाको चेन ब्रेक भई संक्रमितहरुको संख्यामा कमी पनि आउला।  

नेपालगन्जको लागि कामना गरौं यो संकटबाट पार पाउन सकोस र नागरिकको मत प्राप्त नेताहरु जागुन्। भोटको राजनीतिबाट उठेर नागरिकको जीवनरक्षामा ईमानदारी साथ लागुन् नत्र जसरी इटलीको रोम जलिरहेको बेला निरो बाँसुरी बजाईरहेको थियो त्यसरी नै नेपालगन्जवासीले सधैं भरि नेताहरुलाई निरोको रुपमा सम्झिन न परोस।  

अन्त्यमा,  

नेपागन्ज पीडाले जलिरहेको छ। सरकार सत्ताको बासुरी बजाउदैमा मस्त छ। अहिले हामीलाई निरो हैन, ‘हिरो’को खाचो छ। जसले नेपालगन्जको आगो निभाओस्। जय माँ बागेश्वरी, जय जय नेपालगन्ज।

प्रकाशित: २३ वैशाख २०७८ २१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App