coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
ब्लग

एकान्तबासबाट तिहारको शुभकामना

५ वर्षकी छोरी छन्। उनीसँग भेट नभएको दुई हप्ता भयो। कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि परिवारबाट अलग्गै बसेको छु। तर, यो कुरा मेरो सानो छोरीलाई भने थाहा छैन। त्यसो त मैलै कोरोना संक्रमित भनेर सार्वजनिक गरेको पनि छैन। संक्रमित भएपछि सम्पर्कमा आएका घरपरिवार, म कार्यरत सञ्चारगृह र साथीसंगीलाई भने जानकारी गराएको थिएँ।  

छोरीलाई श्रीमती आरतीले म काठमाडौं गएको भनेर भनेकी रहिछन्। त्यसकारण छोरीले दिनहुँजसो फोन गरेर बाबा घर कहिले आउने? भनेर सोधिरहन्छिन्। तिहारको माहोल छ। त्यसैले पनि छोरीले तिहारका दिनसम्म भएपनि बाबा घर आउनुहुन्छ भन्ने पखाईमा बसेकी छन्। तर, म भने तिहार दिनसम्म पनि घर जान सक्दीन।  यसपालीको मेरो तिहार आइसोलेसनमै बित्दैछ। छोरीलाई मात्रै होइन सार्वजनिक रुपमा समेत कोरोना संक्रमित भएको भन्न त्यति सहज कहाँ छ र। कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण सहज छैन। त्यसैले मैलै ‘होम आइसोलेसन’ मा नबसी सामुदायिक आइसोलेसनमा बस्ने निधो गरेको हुँ। आइसोलेसनको दुई सातासम्म त दैनिकि सजिलै वित्यो। जब तिहारका धुनहरु बज्न थालेँ। सामाजिक सञ्जालमा लक्ष्मीपूजाका तस्बिरहरु छाउन थालेँ। त्यसपछि भने परिवार र दिदिबहिनिको यादले सताउदो रहेछ।  

यो वर्षको तिहारमा भने प्रत्येक अभिभावकले आफ्ना सन्तानको क्षणिक खुसी होईन, वृद्ध बुवाआमाको आशा होईन कोरोना पराजित गर्ने साहस बटुलौं।  

दसैं त जन्मघर नवलपरासी पूर्व बुलिङटार पुगेर मनाएको थिए। तर, तिहारलाई भने कोरोनाले छेकिदियो। दसैं लगत्तै स्वास्थ्यमा समस्या आएपछि बुटवल फर्केर पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। तिहारमा आइसोलेसनमा दिन बित्ने निश्चित भएकाले दिदिबहिनीलाई भने यसपाली टिका नलाउने खबर गरिसकेको थिएँ। कोरोनालाई जित्न दिदिबहिनिहरुको सुझाव छ। त्यसैले दिदि भाई र दाजु बहिनीको चाड तिहारले मलाई छोएन। त्यो सानो बच्चालाई पनि तिहार पर्व नजिकिएसँगै बाबा आइदिए हुन्थ्यो भन्ने चाहना बढेको महसुस गरेँ। यस्तै अपेक्षा बच्चादेखि बृद्ध बुवाआमासम्मले गरेका छन्। तर, यो वर्षको तिहारमा भने प्रत्येक अभिभावकले आफ्ना सन्तानको क्षणिक खुसी होईन, बृद्ध बुवाआमाको आशा होईन कोरोना पराजित गर्ने साहस बटुल्न जरुरी छ।  

दिदिबहिनि र परिवारका अन्य सदस्यहरुले कोरोना भन्दा हाम्रो लागि चाडपर्व ठूलो होईन भनेर हिक्मत बढाइदिएका छन्। आइसोलेसनमा बस्दा पनि मेरो श्रीमती, साढुभाई, सासूससुरा, साथीसंगी र शुभचिन्तकहरुले खानेकुरा ल्याइदिनुभएको छ। यसले मेरो स्वास्थ्यसँगै कोरोना पराजित गर्ने शक्ति पनि पैदा भएको छ। यति हुँदा हुँदै पनि चाडपर्वहरुमा घरपरिवारबाट टाढा हुनुपर्दाको पीडा भने बेग्लै हुदो रहेछ।  

आइसोलेसनको वरपर देउसुरी र भैलोका गीतहरु बज्न थाल्दा संक्रमित भएर भित्र बसेका दिदिबहिनिहरुले आफ्नो दाजुभाईलाई सम्झिरहेका छन्। तर, पनि कोरोना भन्दा ठूलो पर्व होईन। कोरोना भाइरसका कारण हजारौं नेपालीहरुले तिहार मनाउन पाएका छैनन्। कोही होम आइसोलेसनमा छन भने कोही सामुदायिक आइसोलेशन भने कोही मृत्युसँग लड्दै कोरोना बिशेष अस्पतालको शैयामा छन् ।  

तिहार भन्ने वित्तिकै उज्यालोको पर्व भनेर बुझिन्छ । तर, कोरोना भाइरसका कारण हजारौंको तिहार अध्यारो बनाइदिएको छ। मैलै यसपाली दसैंमा समेत सावधानी नअपनाएको भए सायद धेरैलाई कोरोना फैलाउने एक पात्र बन्न सक्थेँ। तर, सामान्य सावधानी अपनाएकै कारण आफूमा मात्र कोरोना भाइरसलाई सिमित गराउन सकेँ। तिहार अर्को वर्ष पनि आउछ त्यसैले यो वर्ष मैलै कोरोनालाई पराजित गर्ने पर्वका रुपमा मनाउदै छु।  

कोरोना भाइरस व्यक्ति व्यक्तिको सम्पर्कबाट मात्रै सर्दछ। त्यसकारण परिवारका सदस्यहरुबाट छुट्टै बसेको छु। आफन्ती, साथीसंगी, सहकर्मी सबैलाई सुरक्षित बनाउनका लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्ड पूर्ण रुपमा पालना गरेको छु। दिदिबहिनिहरुले उनेका मखमलीका मालाहरु अर्को वर्ष लगाउला भनेर चित्त बुझाएको छु। त्यसैले कोरोना संक्रमण जित्न र फैलन नदिन प्रत्येक घरका सदस्यहरु जिम्मेवार बनौं। कोरोना केही होईन भनेर हेलचेक्रयार्इँ गरेकै कारण ज्यान गुमेको पनि छ। त्यसैले यसलाई सामान्य रुपमा नलिन मेरो सुझाव छ।  

म आफैं पनि स्वास्थ्य सुरक्षा निकै संवेदनशिल थिए। तर, पेशागत चरित्रको हिसाबले प्रत्यक्ष अप्रत्यक्ष भने मानिसहरुसँगको भेटमा जानैपथ्र्यो। त्यसैले म आफू असुरक्षित नै भएको ठानेको थिए। संक्रमण भने जतिखेर म सुरक्षित छु भन्ने लागेको थियो, त्यहि बेलामा भयो। हरेक पलमा हामीले होसियारी अपनाउनुपर्छ भन्ने मैलै महसुस गरेको छु।

कोरोना लाग्दैमा खत्तम भयो भन्ने र कोरोना केही पनि होईन भन्ने यी दुवै सोँच गलत छन्। त्यसैलै कोरोना संक्रमण एउटा बिशिष्ट अवस्था हो भनेर बुझ्न जरुरी छ। आइसोलेसनमा बसेकाहरुले तिहारलाई कोरोना पराजित गर्ने समयका रुपमा लिएका छन्।  

परिवारको खुसी त्यतिखेर मात्रै कायम रहन्छ जबसम्म तपाईको जीवन रहन्छ। त्यसकारण कोही कसैलाई रुघाखोकी, ज्वरो, टाउको दुख्ने, जिउ भारी हुने, स्वाद र गन्ध थाहा नहुने, पखला लाग्ने जस्ता लक्षण देखा परेको भए, सावधानी अपनाउनुस्। सामान्य रुघाखोकी त हो भनेर हेलचेक्रयाई गरेमा यसले ठूलो क्षति गराउन सक्छ। यो वर्षको तिहारमा टिका नलगाउदैमा केही फरक पर्दैन तर, टिकाको वाहनामा कोरोना संक्रमण फैलाउने काम भने नगरौं। स्वास्थ्य मापदण्ड अपनाएर मनाऔं, असुरक्षित भए जो जहाँ छ, त्यहि तिहार मनाऔं। आइसोलेसनबाट यहि छ तिहारको शुभकामना।

प्रकाशित: ३० कार्तिक २०७७ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App