१३ मंसिर २०७७ शनिबार
ब्लग

समाज आधुनिक, सोच पुरानै

कुनै बेला समाजलाई धार्मिक दृष्टिकोणले हेरिन्थ्यो भने कुुनै समय अध्यात्म र दर्शनको पुञ्जका रूपमा। शासकको विचार र चिन्तनअनुरूप समाज, राज्य र राज्य प्रणाली बनाइन्थ्यो। कुनै शासकले  समाजलाई उत्पादन प्रणालीको एक आधारका रूपमा लिन्थे र त्यसअनुरूप सत्ता सञ्चालनको खाका कोर्न खोज्थे भने कुनै शासकले भौतिकवादी दृष्टिबाट समाजलाई संरचना नै संरचनाभित्रको जड मान्थे। ठोस रूपमा अध्ययन गरी वस्तुगत आधारमा समाजलाई हेर्ने इतिहास कमै पाइन्छ। किनकि समाजको परिभाषा वा अध्ययन पनि शासकका चिन्तन, स्वभाव र दृष्टिकोणमै भर पर्थ्याे। 

नेपाली समाज आधुनिक कालमा प्रवेश त गर्‍याे, तर आधुनिक चेत नभएका शासक (नेता) का कारण शासन आधुनिक बन्न सकेन।  

ढुंगे युगका शासक र जनताको सम्बन्ध बल/शक्तिमा आधारित हुन्थ्यो। ‘जसको शक्ति उसको भक्ति’ भनेझैं समाजको स्वरूप निर्धारण भएको थियो। क्रमशः जनता नै उत्पादन प्रणालीसँग जोडिन पुगे र तिनै शासकले समाजलाई उत्पादन प्रणालीसँग जोडेर हेर्न थाले। धर्मसँग आबद्ध शासकले समाज र जनतालाई पनि धर्मसँगै जोडेर हेरे। बिस्तारै मालिक र नोकरको संरचना बन्न थालेपछि समाजलाई पनि शासक र शासितको सम्बन्धका आँखाले हेर्न थालियो। सामन्त जन्मिन थाले र समाजलाई सामन्तवादतर्फ लगे। तत्कालीन शासक नै सामन्त बने।  

बिस्तारै निरंकुशता झाँगिँदै गयो। शासकले समाज र जनतालाई नोकर वा शोषित वर्गका रूपमा व्यवहार गर्न थाले। सम्पत्तिवाद वा पुँजीवादको उदयले समाजमा सम्पत्तिप्रधान विचार/चिन्तन विकास हुन थाले र शासकले पनि सम्पत्तिलाई नै केन्द्रमा राखेर शासन गर्न थाले। श्रमिक र मालिकको संरचना तयार हुँदै गर्दा समाजलाई पनि शासकले श्रमिकलाई श्रम, भूमि, पुँजीजस्ता अत्यावश्यक वस्तु ठान्न थाले।  

द्वन्द्वात्मक भौतिकवादजस्ता सिद्धान्त आए। अनि शासकले त्यसैअनुरूप समाजलाई हेर्न थाले, तर समाजको वस्तुगत स्वरूपको अध्ययन भने गरेनन्। समाजको वस्तुसत्यको अध्ययन गर्ने होइन, आफ्नै चिन्तन, दृष्टिकोण र स्वार्थअनुरूप शासन गर्ने शासक मात्रै देखिए।

समयले परिवर्तन माग गर्छ भन्ने वस्तुसत्यअनुरूप समाज बिस्तारै आधुनिक हुँदै उत्तरआधुनिक बन्दै जान थाल्यो। मान्छेमा चेतना, शिक्षा, जागरण बढ्न थाल्यो। विभिन्न विकल्प खाजी हुन थाल्यो। त्यही विकल्प खोज्ने क्रममा मान्छे स्वतन्त्र बन्यो। औपनिवेशिक प्रणालीबाट मुक्त भयो।  

इतिहास अध्ययन गर्दा नेपालमा पनि शासकका चिन्तन/विचार र दर्शनअनुरूप शासन गरिएको पाइन्छ। नेपाली समाज आधुनिक कालमा प्रवेश त गर्‍याे, तर आधुनिक चेत नभएका शासक (नेता) का कारण शासन आधुनिक बन्न सकेन। शासकले नेपाललाई अन्य देशमा ‘डेट एक्सपायर’ भइसकेका नीति, कार्यक्रम तथा प्रक्रियाको प्रयोगशालाका रूपमा प्रयोग गरिरहे। समाजअनुकूल नभएर आफूअनुकूल शासन चलाइरहे। आन्दोलनका लागि जनतालाई उक्साए, तर उही नेता वा शासकमैत्री शासनै सञ्चालन गरे।  

समाज विकास तथा उन्नत राज्य व्यवस्थाका लागि भनेर नीति तथा कार्यक्रम नबन्ने होइनन्, तर कार्यान्वयन गर्ने ठाउँमा हुने सिन्डिकेट, राजनीतिक (कु) संस्कार तथा अध्ययन कमीका कारण ती त्यसै थन्किने कुरा बने।  

२०१७ सालमा राजा महेन्द्रले गरेको ‘कुु’लाई राजनीतिक पूर्वाग्रहबाट माथि उठेर हेर्ने हो भने विकास तथा नीति र वैज्ञानिक कार्यक्रमको सोच आएको देखिन्छ। २०३६ सालमा राजा वीरेन्द्रले सञ्चालन गरेको कार्यक्रम पनि राजनीतिक सुव्यवस्था र जनमैत्री प्रणालीको दिशामा केन्द्रित थियो। २०४६ पछि त युग पनि विश्वव्यापीकरणको प्रभावमा प्रवद्र्धनात्मक प्रणालीमा जान थाल्यो। धेरै कुरा ‘ग्लोबलाइज’ भए- कार्य, कार्यक्रम, प्रविधि। जनताले स्वतन्त्रता र समानता महसुस गर्न थाले। शिक्षामा महिला सहभागिता बढ्न थाल्यो। समाज बिस्तारै शिक्षित र चिन्तनशील प्रणालीमा जान थाल्यो, तर जनआकांक्षा बढ्दै जाने क्रममा राजनीतिक अस्थिरता देखा प¥यो र त्यसपछि भ्रष्टाचारको जालोमा फसेको राजनीतिक व्यवस्था त्यसबाट उम्किन सकेको छैन।

व्यवस्था फेरिए पनि पञ्चायतकालीन सोचकै व्यक्ति पटकपटक सत्तामा पुगे। राजनीतिक नारा फेरिए, तर कार्यशैली फेरिन सकेन। सिसी नयाँ, रक्सी पुरानै। नेताले जनतालाई हेर्ने नजर उस्तै। यस्तो लाग्छ– विश्व राजनीति नेता तथा शासकले मात्रै बुझेका छन् र उनीहरूको सोच नै राष्ट्रका लागि अन्तिम सोच हो। वर्तमान नेपालका शासक– चाहे नेकपा, कांग्रेस, मधेसवादी दल वा राप्रपाकै किन नहुन्, कसैमा नवीन र जनचाहना सम्बोधन गर्न सक्ने योजनै छैन। गफ र भाषणमा त छ, तर व्यवहारमा उही भ्रष्टाचार, कमिसन र दलाली प्रवृत्तिकै बोलवाला छ।  

कर्मचारीतन्त्रमा हिजोका शासक वर्गले बनाइदिएको चाकडी र घुसखोरी प्रणाली नै छ। कर्मचारीतन्त्रको सिन्डिकेटकै कारण केही मन्त्री त मन्त्रालय हाजिर हुन नपाउँदै हिँड्नुपरेको अवस्था छ। देशको अवस्थाबाट निराश हुँदै कैयौं युवा पासपोर्ट बोकेर एयरपोर्टको लाइनमा छन्। शासक वर्गलाई त युवा चुनावका बेला मात्रै चाहिन्छ।  

वर्तमान पुस्ता कुरा होइन, काम चाहन्छ। भाषण होइन, भविष्य चाहन्छ। नेता होइन, नेतृत्व चाहन्छ। तर शासक एकअर्कालाई आरोप र दोषरोपण गरेरै शासन टिकाउने ध्याउन्नमा छन्। ओली सरकारले बनाएका योजना तथा कार्यक्रम भाषणमा मात्र सीमित नभएर व्यवहारमा लागू हुनुपथ्र्याे। तर त्यसो हुन नसकेका कारण यो सरकारप्रतिको जनविश्वास बिस्तारै ओरालो लाग्दै छ।  

अहिले देश कोरोना महामारीबाट आतंकित छ। यतिबेला नागरिक सिर्फ बाँच्न चाहन्छन्। ठूलठूला समृद्धि र सपनाका कुरा पछि गरौंला। तर सरकार जनतालाई ७ महिनासम्म घरमा थुनिसकेपछि कोरोनाको उपचार गर्दिनँ भन्छ।  

कोरोनाका कारण भविष्य अन्योलमा परेका युवा विकल्पको खोजीमा छन्। तर सरकारले शिक्षा, पर्यटन तथा कुनै पनि क्षेत्रमा विकास तथा रोजगारीको योजना बनाएको देखिन्न। लगानीमैत्री वातावरण नभएका कारण देशमा लगानी भित्रिने सम्भावना पनि क्षीण हुँदै गएको छ। विदेश नीतिमा देखिएको कमजोरीका कारण वैदेशिक रोजगारी पनि आशलाग्दो छैन।  

अब शासकले उत्तरआधुनिक बनी आफूलाई बहुआयामिक बनाउन जरुरी छ। नयाँ पुस्तालाई सम्बोधन गर्ने गरी केही प्याकेजमा कार्यक्रम ल्याउनुपर्छ। क्लस्टर–क्लस्टरमा विशिष्टीकृत उत्पादन तथा प्रवर्द्धनात्मक कार्यक्रम बनाइनुपर्छ। सिर्जनशील जनशक्तिलाई मौका दिई देशलाई सिर्जनाले सिँगार्नुपर्छ। प्रविधि तथा इन्टरनेटका विज्ञलाई उपयोग गरी देशका केही महŒवपूर्ण क्षेत्रमा प्रविधियुक्त समाज निर्माण गर्नुपर्छ। अहिलेको समाज तथा पुस्ताले यिनै कुरा खोजेका छन्। सरकारको ध्यान पुगोस्।  

अनुसन्धानरत

प्रकाशित: २३ कार्तिक २०७७ १६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App