२० वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

मुस्ताङमा यार्सा संकलन सुरु

मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा संकलन सुरु भएको छ। यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा संकलन सुरु भएको हो। 

यार्सागुम्बा समून्द्री सहतको तीन हजारदेखि छ हजार मिटरको उचाइमा पाइने जडीबुटी हो। यहाँका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका आधा दर्जनभन्दा बढी स्थानमा हरेक वर्ष वैशाखदेखि असार मसान्तसम्म यार्सा संकलन हुन्छ। यार्सा संकलनका लागि जिल्लाका स्थानीय, जिल्लामा अस्थायी बसोबार गरेका व्यक्ति र जिल्ला बाहिरबाट उल्लेख्य व्यक्तिहरू लेक पुग्छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी)हरूले शुल्क लिएर यार्सागुम्बा संकलनका लागि अनुमति दिने गरेको एक्याप जोमसोमका प्राकृतिक स्रोत सरक्षण सहायक दीपक ओलीले जानकारी दिए।

कार्यालयहरूले यार्सा संकलनको अवधिभर कार्यविधि र मापदण्ड निर्धारण गर्छ। संकलनका क्रममा हुनसक्ने जोखिम, चोरी शिकारी, वन डढेलो, अवान्छित र अपराधजन्य घटना रोकथाम गर्ने सर्त उल्लेख गरी अनुमति दिने चलन छ।

थासाङ गाउँपालिकाको कोवाङ सीएमसीले सर्वसाधारण नागरिकलाई यार्सा संकलन पुर्जी वितरण गरेको समितिका अध्यक्ष जीवन थकालीले जानकारी दिए। उनका अनुसार स्थानीयलाई रु तीन हजार ५०० र जिल्ला बाहिरबाट आउनेलाई रु सात हजार शुल्क उठाउने गरिएको छ।

कोवाङ समितिले मुलिखर्क, मुली, पड्के, ठूलो सरे र सानुसरेलगायतका लेकमा यार्सा संकलन फुकुवा गरेको छ। समितिको लेकका लागि हालसम्म नौ स्थानीयसहित ८७ जनाले अनुमति लिएका छन्।

थासाङको बतासेमा पनि संकलन फुकुवा भइसकेको छ। उक्त लेकका लागि ४५ जनाले अनुमति लिएका छन्। टुकुचे समितिले स्थानीयलाई रु एक हजार रुपैयाँ र जिल्ला बाहिरका व्यक्तिलाई रु तीन हजार शुल्क तोकेको छ।

थासाङको कुञ्जो लेकमा पनि यार्सा संकलन सुरु भइसकेको छ। घरपझोङ गाउँपालिकास्थित संरक्षण व्यवस्थापन समितिले वैशाख २५ गतेदेखि यार्सागुम्बा संकलन अनुमति दिने तयारी गरेकोसमितिका सचिव पवन गुरुङले जानकारी दिए।

जोमसोम समितिले जोमसोम, ठिनी र ढुम्बा गाउँका स्थानीयलाई यार्सा संकलनका लागि रु चार हजार र  सोही क्षेत्रमा अस्थायी बसोबास गरी घरखेत कमाएर बसेका व्यक्तिलाई प्रतिव्यक्ति रु छ हजार शुल्क तोकेको छ।

वारागुङ मुक्तिक्षेत्र-१ को मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले आगामी जेठ २ गतेदेखि यार्सा संकलन फुकुवा गर्ने तयारी गरेको छ। मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले नेर झोङ, लिरी, रिसम्बा र छिमीघ्वा लगायतका लेकहरूमा यार्सा संकलन गर्ने अनुमति दिने गरेको समितिका सचिव लाक्पाटसी गुरुङले जानकारी दिए।

यार्सा संकलन गर्ने व्यक्ति वा व्यापारीले जिल्ला बाहिर यार्सा निकासी गर्नु परेमा रु तीन हजार १०० रुपैयाँ राजश्व बुझाउनु पर्ने नियम छ। रासस

प्रकाशित: १४ वैशाख २०८३ १५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App