१५ चैत्र २०८० बिहीबार
ब्लग

बलात्कारीका लागि कहाँ बदलियो समाज?

सृष्टिकर्ता भन्छौ तर  

बलि मेरै माग्छौ तिमी

कहिलेसम्म रेटी

आफ्नो भोक मेट्छौ तिमी?

तिम्रो इज्जत इज्जत अरे

मेरो इज्जत खेलौना भो  

तिम्रो सम्मान सम्मान अरे  

मेरो सम्मान बिलौना भो!!  

हिजोआज बलात्कार र आत्महत्या दिनदिनै आउने समाचार बनेका छन्। हरेक दिन कुनै न कुनै ठाउँमा त्यस्ता घटना भएको सुनिन्छ। बलात्कार र आत्महत्या  सामान्य सामाचार मात्र हुन्? समाजभित्रको  यो कालो रूपलाई हटाउन समाचार बनेर आएर मात्र पुग्छ त? यसलाई निर्मूल  पार्ने कस्तो कदम चाल्ने त? 

इज्जत, परम्परा, धर्म-संस्कृति, नीति, नियम, कानुनका नाममा महिलाकै घाँटी थिचिन्छ। अनि त्यसलाई आत्महत्याको नाम दिइन्छ।

समाजभित्र एउटा यस्तो पक्ष पनि छ, जसले महिलाको इज्जतको ठेक्का लिएर बसेजस्तो व्यवहार गर्छ। अनि इज्जतको नाम दिएर महिलालाई हतोत्साहित बनाउँछ। इज्जतका नाममा महिलालाई डोरीमा झुन्डिन बाध्य पार्छ। प्रश्न छ ती ठेकेदारहरूलाई– यसरी कहिलेसम्म महिलालाई मर्न बाध्य पारिरहन्छौ? प्रकृतिले दिएको स्वतन्त्र सास फेर्न पनि कहिलेसम्म तिमीहरूको निर्देशन र आदेशमा चल्नुपर्ने?

हालै सप्तरीमा भएको घटना त्यसको एउटा ज्वलन्त उदाहरण हो। एउटी किशोरी बलात्कृत हुन्छे, कुटिन्छे अनि उसैलाई इज्जत जाने डर देखाइ आत्महत्या गर्न बाध्य पारिन्छ। हरेक दिन कुनै न कुनै रूपमा महिला बलिमा चढिरहेका छन्, यो समाजका लागि। इज्जत, परम्परा, धर्म-संस्कृति, नीति, नियम, कानुनका नाममा महिलाकै घाँटी थिचिन्छ। अनि त्यसलाई आत्महत्याको नाम दिइन्छ।

समाज अब सचेत छ भनिन्छ। शिक्षा, ज्ञान–विज्ञान सबै आधुनिक भयो रे! महिला तुलनात्मक रूपमा धेरै अगाडि पुगे रे! अनि के त अगाडि बढे भनेर पछार्न घिनलाग्दो सामाजिक परिवेश खडा गरिएको? बलात्कारीका लागि कहाँ बदलियो यो समाज? महिलाको शरीर हेरेर गर्ने कुरा बदलियो? महिलाको इज्जतको हिसाबकिताब गर्ने समाज बदलियो? सानाभन्दा साना अर्थहीन कुरालाई मुद्दा बनाएर समाजका हरेक तहमा महिलाकै इज्जतमा लगेर जोड्ने समाज कहाँ बदलियो?  

अधिकारको कुरा गर्दा, स्वतन्त्रताको कुरा गर्दा, मर्यादित भएर बाँच्न तथा स्वाभिमानी हुन खोज्दा पनि पलपलमा इज्जतको मन्त्र जपेर निरुत्साहित पारिन्छ, महिलालाई। महिलाको इज्जत खोसिन्छ, लुटिन्छ, कुटिन्छ र रक्ताम्य पारिन्छ। अनि भनिन्छ– चुप लाग, विचार गर, इज्जत जान्छ!  हे ! समाज यो कुन धर्म हो तिम्रो? कुन शास्त्रले सिकायो तिमीलाई यस्तो?  

महिलाकै लागि न्याय भन्दै त्यही आडमा हत्या र आत्महत्या गराउँछौ। कैयौं किशोरीको श्वासप्रश्वास उसको इज्जतका नाममा बन्द गराइयो। इज्जत भन्दै घाँटीमा डोरी तेर्स्याइयाे। अनि इज्जतकै नाममा उनीहरूलाई खोलामा बगाइयो। यस्तो असामाजिक कुकृत्यलाई ‘सामाजिक’ भन्दै मनोमानी गर्ने प्रवृत्तिलाई कहिलेसम्म आत्मसात् गर्ने त? इज्जतको नाम दिएर जिन्दगीमै गरिने खेलबाडलाई कहिलेसम्म मूकदर्शक भएर हेरिराख्ने? कति झुन्डिएको सुन्ने? कति काटिएको भनेर पढ्ने? अनि कति मरे भनेर लेख्ने? शिक्षा र चेतनाकै अभाव हो भने यो समाजको आँखा च्यातेर उघार्न जरुरी छ।  

इज्जतका नाममा अब यसरी समाजले महिलालाई कतिन्जेल बलि दिइराख्ने? आफ्नो यौन प्यास मेटाउन महिलालाई आक्रमण गर्ने बलात्कारीहरूलाई कहिलेसम्म ठाउँ दिइरहने? अब त अति भयो। यसबारे गम्भीर भएर सोच्न ढिला भइसक्यो।  

महिलाको एउटा अंगको बहानामा बनाइएको ‘सामाजिक इज्जत’ को परिभाषालाई स्वीकार्नु कति पनि उचित छैन। अनि यही अमानवीय मान्यतामा आफूलाई कैद गर्दै जीवन नै समाप्त गरिनु झन् बढी दुःखलाग्दो कुरा हो। जसोतसो सम्हालिए पनि पटकपटक त्रास देखाएर महिलाको मनस्थिति कमजोर बनाउँछ, यो समाज। शारीरिक बलात्कारले मात्र नपुगेर महिलाको पटकपटक मानसिक र सामाजिक बलात्कार पनि गर्छ, यो समाज। इज्जतका नाममा आफ्नो बाँच्ने अधिकारलाई बिर्सेर मृत्यु रोज्नु कदापि ठीक होइन।  

मनमा प्रश्नैप्रश्न उठ्छन्– लैंगिक विभेदविरुद्धका कानुनी किताब कहाँ छन्? महिलालाई सृष्टिकर्ता मान्ने धार्मिक ग्रन्थ कहाँ छन्? अनि महिला आधा आकाश हो नारा लगाउने र भाषण गर्नेहरू कता छन्?  

एक राष्ट्रिय दैनिक पत्रिकाको समाचारअनुसार औसतमा हरेक दिन ६ महिला बलात्कृत भइरहेका छन्, नेपालमा। त्यो पनि सार्वजनिक भएका घटनाका आधारमा बनाइएका प्रतिवेदनअनुसार। बाहिर नआएका यस्ता घटना त कति होलान् कति?  

महिलाको इज्जत खोसिन्छ, लुटिन्छ, कुटिन्छ र रक्ताम्य पारिन्छ। अनि भनिन्छ– चुप लाग, विचार गर, इज्जत जान्छ!  हे ! समाज यो कुन धर्म हो तिम्रो? कुन शास्त्रले सिकायो तिमीलाई यस्तो?  

समाजको यस्तो घृणित पक्षलाई निरुत्साहित पार्न कानुन, शिक्षा, सचेतना, आत्मनिर्भरताजस्ता कुरामा जोड दिन जरुरी छ। यस्तो जघन्य अपराध जारी रहनु सचेत वर्गको मौनता नै मुख्य कारण हो जस्तो लाग्छ। यसैगरी बसिरहने हो भने  

बुझे र थाहा पाएसम्म कुनै कानुन, धर्म, संस्कृतिमा महिलाविरुद्ध हिंसा गर्नुपर्छ भनिएको छैन। तर ‘इज्जत’लाई हतियार बनाएर महिलालाई प्रहार गर्ने र मर्न बाध्य पार्ने अमानवहरूलाई सामाजिक रूपमै बहिष्कार गर्दै दण्ड दिन जरुरी छ।

प्रकाशित: १ कार्तिक २०७७ ०९:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App