२२ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

बेंगलुरुको विशाल योगफल, चेन्नईलाई २५१ रनको चुनौती

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत आइतबार जारी खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले चेन्नई सुपर किंग्स (सीएसके) विरुद्ध विशाल योगफल तयार गरेको छ।

घरेलु मैदान एम. चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा मात्र ३ विकेटको क्षतिमा २५० रनको विशाल योगफल तयार पारेको हो।

बेंगलुरुलाई ओपनरद्वय विराट कोहली र फिल साल्टले आक्रामक सुरुवात दिलाएका छन्। यी दुईले ४.३ ओभरमै ३७ रनको साझेदारी गरेका थिए।

कोहलीले १८ बलमा २ चौका र १ छक्कासहित १५५.५५ को स्ट्राइक रेटमा २८ रन बनाए। उनी अंशुल कम्बोजको बलमा शिवम दुबेको हातबाट क्याच आउट भए।

कोहली आउट भएपछि क्रिजमा आएका देवदत्त पडिक्कलले साल्टसँग मिलेर इनिङ्स अगाडि बढाए। साल्टले ३० बलमा ३ चौका र २ छक्कासहित ४६ रन बनाएर १०.४ ओभरमा आउट भए।

त्यसपछि पडिक्कलले उत्कृष्ट ब्याटिङ गर्दै २९ बलमा ५ चौका र २ छक्काको मद्दतले ५० रनको अर्धशतकीय पारी खेलेका छन्। उनी १४.१ ओभरमा जेमी ओभरटनको बलमा बोल्ड आउट भएका हुन्।

१४.१ ओभरमा १५१ रनमा ३ विकेट गुमाएको अवस्थाबाट कप्तान रजत पाटीदार र टिम डेभिडले विष्फोटक ब्याटिङ गर्दै चेन्नईका बलरहरूको धुलाइ गरे। यी दुईले चौथो विकेटका लागि मात्र ३५ बलमा अविजित ९९ रनको आक्रामक साझेदारी गरे।

टिम डेभिडले २८० को स्ट्राइक रेटमा ब्याटिङ गर्दै मात्र २५ बलमा ३ चौका र ८ छक्कासहित अविजित ७० रन बनाए। त्यस्तै, कप्तान पाटीदारले २५२.६३ को स्ट्राइक रेटमा १९ बलको सामना गर्दै १ चौका र ६ छक्कासहित अविजित ४८ रनको योगदान दिएका छन्।

बेंगलुरुले इनिङ्सको अन्तिम ५ ओभर मा मात्रै कुनै विकेट नगुमाई ९७ रन जोडेको थियो।

बलिङतर्फ चेन्नई सुपर किंग्सका सबै बलर निकै महँगा साबित भएका छन्। टोलीका लागि अंशुल कम्बोजले ४ ओभरमा ५२ रन खर्चेर १ विकेट लिएका छन्।

जेमी ओभरटनले ३ ओभरमा ४२ रन दिएर १ विकेट लिए भने शिवम दुबेले २ ओभरमा ३० रन खर्चेर १ विकेट हात पारे।

तीव्र गतिका बलर खलिल अहमदले ४ ओभरमा ३७ रन दिए पनि विकेट लिन सकेनन्। म्याट हेनरीले ३ ओभरमा ३६ रन र स्पिनर नूर अहमदले ४ ओभरमा ४९ रन खर्चिंदा कुनै सफलता पाएनन्।

प्रकाशित: २२ चैत्र २०८२ २१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App