coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
ब्लग

'चिकित्सक र आफन्तले दिने उर्जाले आत्मबल बढाउँदो रहेछ'

काेराेना संक्रमितको अनुभव

भन्छन् नि! ‘नमरी स्वर्ग देखिदैन।’ भौतिक दुनियामा स्वर्ग छ कि छैन त्यो तपशिलको कुरा भयो। मैले यो प्रसंग यहाँ किन जोडेको भने कोरोना भाइरस(कोभिड १९)बारे पनि विभिन्न तर्क गरिन्छन्।  

कसैले हाउगुजी भन्छन्, कसैले खेलाची नगर्न आग्रह गरिरहेका छन्। कोरोना केही पनि होइन र मास्क पनि लगाउन आवश्यक छैन भनेर हौंवा पिट्ने अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प पनि यसको चपेटामा परे। ‘मोती टिप्न समुन्द्रको गहिराइमै पुग्नुपर्छ।’ अहिले ट्रम्प पनि मास्क लगाएर मिडियामा झुल्किन्छन्।

यस्तै धारणा मेरा पनि थिए। मलाई कोभिड संक्रमण पुष्टि भइसकेपछि भने केही फेरिएका छन्। केही प्रष्ट भएको छ। घरमै आइसोलेसन बसाइका क्रममा मेरो मनमा पनि विभिन्न कुरा खेले। त्यही अनुभव यहाँ सुनाउँदै छु।

जोखिमकैबीच उच्च सतर्कता अपनाएर करिब पाँच/छ महिना व्यवसायमै संलग्न रहें। असोजको पहिलो हप्ता उच्च ज्वरोले सतायो। १०२ डिग्री फरेनहाइट र घटबढ भइरहने ज्वरोसँगै  छाती दुख्ने, कफ जम्ने, जोर्नीहरू दुख्ने, टाउको दुख्नजस्ता लक्षण देखिए।

सामान्य लागेर केही दिन घरमै आराम गरें। घरायसी उपचारमा जोड दिए। तातोपानी पिएँ। खानपिनमा ध्यान दिएँ। जुन अहिले पनि जारी छ। ज्वरो कम गर्न सिटामोलसम्म लिएँ।

तर बीसको उन्नाइस पनि नभएपछि चिकित्सकको सम्पर्कमा जानुपर्यो। चिकित्सकको सल्लाह बमोजिम पीसीआर परीक्षण गर्ने कुरा भयो। ११ गते स्वाब संकलन गरियो। स्वाब संकलनपछि सजग भएर बसें। डर पनि लागेको थियो। मनोबल उच्च बनाउने प्रयत्न गरेँ। आफैलाई सम्झाए पनि। तर मन न हो कहाँ मान्थ्यो र ? अनेक कुरा खेलिरहन्थे। लागेको थियो कोरोना रिपोर्ट नेगेटिभ आउँछ। तर सोचेझैं कहाँ हुन्छ र ?

आफूलाई त जसोतसो मनाएँ। तर समस्या घरपरिवारलाई मनाउन थियो। ‘यो सामान्य भाइरल जस्तै हो। केही पनि हुँदैन। केही दिनमा विसेक हुन्छ।’ घर परिवारलाई भने। तर कोही मान्न तयार थिएनन्। संक्रमणकै कारण लाखौंको ज्यान गएकोबारे उनीहरु बेखबर थिएनन्।  

असोज १३ गते कोभिड १९ पोजेटिभ रहेको खबर आयो। चिकित्सकको फोनपछि बिरक्त लाग्यो। वनको बाघले खाओस नखाओस मनको बाघले खायो। सम्हाल्न खोज्दा पनि अनायासै मन बहकियो। अनेक कुराहरू मनमा खेले। आफैलाई सम्झाएँ। मन दह्रो बनाएँ। धेरै संक्रमितहरू घरमै बसेर पनि सन्चो भएको मलाइ थाहा थियो। म पनि घरमै आइसोलेसन बस्ने निर्णयमा पुगेँ।  

आफूलाई त जसोतसो मनाएँ। तर समस्या घरपरिवारलाई मनाउन थियो। ‘यो सामान्य भाइरल जस्तै हो। केही पनि हुँदैन। केही दिनमा विसेक हुन्छ।’ घर परिवारलाई भने। तर कोही मान्न तयार थिएनन्। संक्रमणकै कारण लाखौंको ज्यान गएकोबारे उनीहरू बेखबर थिएनन्। नजिकका आफन्त वा नातागोतामा कसैलाई संक्रमण देखिएको थिएन। म नै पहिलो थिए। सम्झाउन झन चुनौति थपियो। हिम्मत जुटाएर सम्झाउने प्रयास गरें। माने पनि नमाने पनि स्वीकार्नुको विकल्प थिएन। अन्ततः शान्त हुनुभयो।  

आफू कोभिड पोजेटिभ भएको फेसबुकमार्फत साथीभाइलाई जानकारी दिएँ। सम्पर्कमा आएकालाई सजग हुन भनें। त्यसपछि आएका प्रतिक्रिया मेरा लागि आत्मबल बने। स्वास्थ्य लाभको कामनाले सन्तोषको अनुभूति दिलायो। साथीभाइका कामनाले संक्रमण निदान हुनेमा विश्वस्त छु।  

स्वास्थ्य सामान्य छ। कुनै गम्भीर लक्षण देखिएका छैनन्। सामान्य लक्षण भए पनि कहिलेकाही अलि च्याप्छ। गाह्रो भएझैं हुन्छ। छ/सात महिनादेखि यसबारेका विभिन्न समाचार र भनाइ मनमा गडेका छन्। स्वभाविक रुपमा डर पनि लाग्छ। मानसिक रुपमा यसले विभिन्न तनाव दिँदो रहेछ। कोरोना केही होइन भन्छन् तर मलाई त्यस्तो लागेन। यसको मनोवैज्ञानिक असर गहिरो छ। खानपिनमा ध्यान दिनै पर्दो रहेछ। जुन मैले गरिरहेको छु। नियमित तातोपानी पिउछु।

रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुने खाने कुरामा जोड दिएको छु। झोलिलो खानेकुरा बढी खाइरहेको छु। यसको भ्याक्सिन छैन। तर साथीभाइ, आफन्तको साथ र खानपान नै भ्याक्सिन हो जस्तो लाग्छ। ढुक्क बस्न सकिदो रहेनछ। आफूबाट संक्रमण परिवारका अरुलाई नसरोस् भनेर हरदम सजग हुन्छु। संक्रमण नभएकाहरुले पनि सजगता अपनाउन आवश्यक छ। यसको अर्थ संक्रमितलाई घृणा गर्ने होइन।  

संक्रमण नभएकाहरुले सजग हुने हो। भिडभाडमा नजाने, मास्कको उचित प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, नियमित हात धुने नभए स्यानिटाइजरको उचित प्रयोग गर्ने गरे जोखिम कम गर्न सकिन्छ।  

अन्त्यमा,

कोभिड बाजा बजाएर आउँदैन। सजग नभए यसले जसलाई पनि संक्रमण गर्न सक्छ। सजग बनौं।

तर निको पनि हुन्छ। नडराऔं। मान्छेलाई त्रसित नगरौं।

आत्मबल जरुरी छ। संक्रमित आफैँले आत्मबल बलियो बनाउन गाह्रो हुन्छ। चिकित्सक, आफन्त, छिमेकी र साथीभाइले उर्जा दिनुपर्छ। यसले आत्मबल बढाउँदो रहेछ। मलाई पनि साथीभाइले उर्जा दिइरहनु भएको छ। चिकित्सकसँग नियमित परामर्स भइरहन्छ। यही साथ र उर्जाले छिट्टै संक्रमणमुक्त हुनेमा विश्वस्त छु।

प्रकाशित: २० आश्विन २०७७ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App