२२ असार २०७७ सोमबार
ब्लग

वैज्ञानिकको अवमूल्यन

कमल अधिकारी

‘स्कुल किन नगएकी नानु?’

यो प्रश्न सुन्नेबित्तिकै मेरी ३३ महिनाकी छोरी शान्भी भन्छिन्, ‘कोरोना छ नि त त्यसैले।’  

अचेल कोरोना भाइरसबारे सबैले थाहा पाएका छन्। यसले विश्वलाई नै प्रभावित बनाएको छ। कोरोना महामारी नियन्त्रण गर्ने सवालमा सबल सरकार प्रमुख भएका केही देश छाडेर अधिकांशले ठूलो मूल्य चुकाउनुपरेको छ। महामारी नियन्त्रणमा सफल देखिएका देशका सरकार आफ्ना वैज्ञानिकले दिएका उचित सल्लाह आत्मसात् गरिरहेका छन्। असफल देखिएका सरकार भने वैज्ञानिकको बेवास्ता गरिरहेका छन्।  

हरेक अध्ययनमा वैज्ञानिकको भूमिका महत्वपूर्ण हुन्छ। अझ विभिन्न रोगको उपचारमा प्रयोग हुन सक्ने औषधि पत्ता लगाउने विषयमा त सम्बन्धित वैज्ञानिकको भूमिका निकै ठूलो हुन्छ। प्रत्येक देशका सरकारले यस्तो परिस्थितिमा वैज्ञानिकका कुरालाई विशेष प्राथमिकताका साथ सुन्ने र वैज्ञानिककै सहभागितामा विज्ञानसम्मत रणनीति बनाएर अघि बढ्नुपर्ने हुन्छ। यसरी वैज्ञानिक मान्यतालाई आत्मसात् गरेर अघि बढ्दा कोरोना जस्ता महामारीलाई पूर्ण रूपमा निर्मूल गर्न नसके पनि तिनीहरूबाट हुन सक्ने सम्भावित क्षति कम गर्न सकिन्छ। अहिले विश्वभर भइरहेका कोरोना नियन्त्रणका प्रयासलाई सरसर्ती नियाल्ने हो भने वैज्ञानिकको सल्लाहलाई बेवास्ता गरेर राजनैतिक सल्लाहकार र आफ्नो अल्पज्ञानलाई आधार मानी रणनीति बनाएर अघि बढिरहेका सबैजस्तो देशका सरकार चुकिरहेका देखिन्छन्।    

नेपालको परिवेशमा बहुदलदेखि अहिलेको गणतान्त्रिक शासन व्यवस्थासम्म आइपुग्दा बैज्ञानिकहरू मुख्यतया तीन समूहमा बिभाजित देखिन्छन्। पहिलो समूहका वैज्ञानिकलाई ‘सरकारी वैैज्ञानिक’ भन्दा फरक नपर्ला। यो समूहका वैज्ञानिक सरकारको काममा सहयोग गर्ने, प्रशंसा गर्ने र आवश्यक परे सरकार प्रमुखको जस्तोसुकै भनाइलाई पनि सहि सावित गर्न यताउताका तथ्यहरू (बेप्रसंगका नै किन नहोउन्।) संकलन गरेर आफ्नो ‘विद्वता’ प्रस्तुत गर्नतिर लाग्छन्। नुनको सोझो गर्नुपर्ने बाध्यता, आफ्नो दलको सरकारका कार्यक्रमलाई प्रशंसा गर्नुपर्ने नैतिक बाध्यता र सरकारप्रति देखाएको बफादारिताको आडमा भविष्यमा कुनै पद पाइन्छ कि भन्ने आशाले यो समूहका वैज्ञानिक निर्देशित भएका हुन सक्छन्।

कोरोना महामारी नियन्त्रणमा सफल देखिएका देशका सरकार आफ्ना वैज्ञानिकले दिएका उचित सल्लाह आत्मसात् गरिरहेका छन्। तर, असफल देखिएका सरकार भने वैज्ञानिकको बेवास्ता गरिरहेका छन्।   

दोस्रो समूहका वैज्ञानिकलाई ‘प्रतिपक्षी वैज्ञानिक’ भन्न सकिन्छ। यो समूहका वैज्ञानिकमा प्रतिपक्षी राजनैतिक दलहरूको समर्थन गरेर सरकारले जतिसुकै राम्रो काम गरे पनि विरोध गर्ने प्रवृत्ति देखिन्छ। केही गरी सरकार परिवर्तन भएर प्रतिपक्षमा बसेका दलको सरकार बनेमा यो समूहका वैज्ञानिक‘सरकारी वैज्ञानिक’ भएर प्रस्तुत हुन्छन् भने पहिले सरकारी वैज्ञानिक भएर बसेकाहरूको समूह ‘प्रतिपक्षी वैैज्ञानिक’मा रूपान्तरित हुन्छ।  

तेस्रो समूहका वैज्ञानिक‘तटस्थ वैैज्ञानिक’ हुन्। यो समूहका वैज्ञानिक राजनैतिक आस्थाभन्दा माथि उठेर विशुद्ध वैज्ञानिक मान्यतालाई अँगाल्ने र सरकारले जुनसुकै काम गरे पनि विज्ञानको सेवालाई आफ्नो धर्म मानेर आआफ्नो क्षेत्रबाट केही योगदान गर्नु पर्छ भनी लागिपरेका देखिन्छन्। 

वैज्ञानिकहरू पनि तीन किसिमका छन्–सरकारी वैज्ञानिक, प्रतिपक्षी वैज्ञानिक र तटस्थ वैज्ञानिक। मुलुकलाई तटस्थ वैज्ञानिकको खाँचो छ।   

वर्तमान समयमा तेस्रो समूहका वैज्ञानिक महामारी नियन्त्रण गर्न केही योगदान गर्नुपर्छ भन्ने ठम्याइ राखेर इन्टरनेटका माध्यमबाट विभिन्न अनौपचारिक समूह बनाई छलफल, बहस र गोष्ठी चलाइरहेका छन्। सरकारका विशिष्ट व्यक्ति र सम्बन्धित विषयविज्ञलाई बोलाई सूचना आदानप्रदान गरिरहेका छन्। दुःखको कुरा यस्ता प्रयास सम्बन्धित वैज्ञानिक समूहबाहेक अन्य क्षेत्रमा प्रभावकारी हुन सकिरहेको छैन। भन्नुको मतलब सरकारले उनीहरूको आवाज सुनिरहेको छैन र उनीहरूको सल्लाह तथा सुझावलाई वेवास्ता गरिरहेको छ। किनकि यो समूहका  वैज्ञानिक सरकारी ओहदामा विरलै हुन्छन्। र सरकारको दोषी नजर उनीहरूसम्म सजिलै पुग्दैन।  

हुन त, वैज्ञानिक वा कुनै विषयको विज्ञ कहलिन कम पढेका अथवा पढ्दै नपढेका शासकबाट दीक्षित हुनुपर्ने परम्परा सदियौं देखिको हो। पहिलापहिला मन्दिर, मस्जिद वा चर्चका पूजारीले पढाउने र दीक्षित गर्ने परम्परा थियो। समयक्रममा देशको मातहत रहने गरी सरकार र कानुन बन्न थाले र अध्ययन तथा अध्यापनमा गर्न विद्यालय तथा विश्वविद्यालय खोलिए। धार्मिक स्वार्थयुक्त पूजारीले आफ्ना चेलालाई अधिनमा राख्न शुरू गरेको ‘दीक्षित’हुने परम्पराकै परिवर्तित रूप भएर आएको विश्वविद्यालयका ‘दिक्षान्त समारोह’मा उत्तीर्ण विद्यार्थीलाई राजनैतिक स्वार्थयुक्त राष्ट्रपति अथवा प्रधानमन्त्रीले ‘दीक्षित’ भएको प्रमाणपत्र दिन्छन्। यसले घुमाइफिराई शासक वर्गमाझ ‘हामीले जतिसुकै कम पढे पनि अथवा पढ्दै नपढे पनि यी विज्ञ भनाउँदाहरू हामीभन्दा तल्लो दर्जाका नागरिक हुन्’ भन्ने मान्यतालाई स्थापित गर्ने काम गरेको छ। यसबाट उनीहरूमा आफू सधैं विज्ञहरूभन्दा माथि नै राखेर हेर्ने अहं कायम छ।  

स्वार्थी पूजारीले आफ्ना चेलालाई अधिनमा राख्न शुरू गरेको ‘दीक्षित’हुने परम्पराकै परिवर्तित रूप भएर आएको विश्वविद्यालयका ‘दिक्षान्त समारोह’मा उत्तीर्ण विद्यार्थीलाई राजनैतिक स्वार्थयुक्त राष्ट्रपति अथवा प्रधानमन्त्रीले ‘दीक्षित’ भएको प्रमाणपत्र दिन्छन्।

वर्षौं मेहेनत गरेर वैज्ञानिक अथवा विज्ञ भएर आउँदा पनि देशभित्र उपलब्ध सम्मान र पदक पाउन सरकार चलाइरहेको ‘दलले सिफारिस गरेको मान्छे’ हुनुपर्ने  दुर्भाग्यपूर्ण अवस्था हाम्रो देशमा छ। सरकार आफैंले सक्षम, कर्मठ र मेहेनती वैज्ञानिक वा विज्ञलाई खोजी गर्ने प्रयास कहिल्यै गरेको देखिँदैन।  

वैज्ञानिकले विज्ञान नै आफ्नो धर्म हो र सत्यलाई सत्य र असत्यलाई असत्य भन्ने साहस गर्नु पर्छ। माथि उल्लेख भएझैँ पहिलो, दोस्रो र तेस्रो समूहमा विभाजित नभै एक भएर सरकारलाई उचित र सही सल्लाह दिनुपर्छ। यस्तो भएमा कोरोना र अन्य महामारीबाट जनतालाई बचाउन अथवा तिनीहरूले निम्त्याउने दुःख कम गर्न सकिन्छ। जबसम्म यस्तो गर्न सकिँदैन, सरकार र प्रतिपक्षी दलहरू यसरी नै वैज्ञानिक र विज्ञलाई आआफ्नो कित्तामा राखी सत्ता चलाइरहने छन् र जनताले दुःख पाइनै रहनेछन्।  

प्रकाशित: १६ असार २०७७ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App