२८ पुस २०८२ सोमबार
image/svg+xml
ब्लग

हिट विकेट

क्षेत्रीय संकिर्णता

सात महिना नबित्दै नेपाली महिला टोलीको प्रर्दशन आलोचित बनेको छ । डिसेम्बरमा एसिसी यु-१९ उपाधि जित्दा टोलीले सबैको वाहवाही पाएको थियो । उपाधि जित्ने लक्ष्यका साथ एसिसी महिला क्रिकेट च्याम्पियनसिप खेल्न गएको नेपालको यात्रा यसपटक तेस्रो स्थानमा टुङगिएको छ ।


नेपाली महिला क्रिकेटको अगुवामा चिनिने लेखबहादुर क्षेत्रीले खेलाडी छनोटमा पक्षपात गरिएका कारण असफल हुनुपरेको आरोप लगाएका छन् । राजनीतिक प्रभावमा विश्वास राख्दै आएका नेपाल क्रिकेट संघका सदस्य एवम् क्षेत्रीय क्रिकेट विकास समिति (क्षेत्र नं ५) का अध्यक्ष विनोद मैनालीले पराजयबाट छनोट समितिको क्षमतामा प्रश्न उठेको बताए । खेलाडी छनोट, विशेष गरी महिला क्रिकेट टोलीको हकमा क्षेत्र नं. ५ बाट तत्काल प्रतिक्रिया आउनु सामान्य भइसकेको छ । यसको प्रमुख कारण महिला क्रिकेटको सुरुवात यस क्षेत्रबाट हुनु हो । आफ्नो क्षेत्रबाट महिला क्रिकेट सुरु भएकाले राष्ट्रिय टोलीमा आˆनै क्षेत्रका धेरै खेलाडीले स्थान पाउनुपर्ने मान्यता उनीहरुले राखेको देखिन्छ ।


लेखबहादुर नेपालका पूर्व कप्तान हुन् । उनको कप्तानीमा नेपाल घरेलु मैदानमा सम्पन्न १९९८ को एसिसी ट्रफीको पहिलो चरणबाटै बाहिरिएको थियो । महिला टोलीको पराजयमा षड्यन्त्रको गन्ध पाएका उनले छानबिन सुरुवात आफू कप्तान हुँदा पहिलो चरणमा भोगेको पराजयबाट गर्नुपर्दछ, किनभने घरेलु भूमिमा खेल्दा सधै नेपाल जितको दाबेदार मानिन्छ ।


मैनालीले छनोट समितिमा प्रश्न उठाएका छन् । साँच्चै छनोट समितिमाथि चोर औंला उठाउने मैनालीले बुझने हो भने तीन औंला आफैतिर फर्किएको छ । वर्तमान छनोट समितिको संरचना तयार पार्नुमा उनी नै जिम्मेवार छन् । विजयकुमार शर्माको नेतृत्वमा रहेको छनोट समितिलाई हटाउन उनले नै नेतृत्व गरेका थिए । सधै एउटालाई दिनु हुँदैन भन्दै नेपाल क्रिकेट संघको बैठकमा मैनाली र पूर्व सदस्य लेखबहादुरले सुनिलसिंह हमाललाई छनोट प्रमुख बनाएको एक वर्ष मात्र भएको छ । लगत्तै एक महिनापछि आफूलाई जानकारी नदिई निर्णय गरेको भन्दै हमाल छनोट समितिमा बस्न मानेनन् । यही कारण हुन सक्छ लेखबहादुरले नैतिकता सम्झेर राजिनामा दिए । लेखबहादुरले राजिनामा दिए पनि मैनालीका लागि छनोट प्रमुख छान्ने काण्डले कुनै असर पारेन ।


नेपाली क्रिकेट वृत्त त्यति ठूलो छैन । एउटै हारले आलोचनाका लागि यत्रो समय निकाल्नुभन्दा विश्लेषण गरेर कमजोरी पत्ता लगाउनु उचित हुन्छ । लेखबहादुर र मैनालीको आलोचना गरेर छनोट समिति र क्यानलाई चोख्याउन खोजेको होइन । अरुण अर्यालको नेतृत्वमा रहेको वर्तमान छनोट समिति चुकेको मान्न सकिन्छ । विकेटकिपर ममता थापा र बिना बुढामगरलाई अन्तिम छनोटमा राख्न नसक्नु उनीहरूको कमजोरी हो । नेपालले प्रभाव जमाउन सुरु गरेको महिला प्रतियोगितामा क्यान हल्का रूपमा प्रस्तुत भयो । प्रशिक्षकको जिम्मेवारी प्रदीपराज पाण्डे जस्ता नयाँलाई दिइयो । नयाँ प्रशिक्षक नै पठाउने हो भने साथमा नयाँ पुस्ताका प्रशिक्षक राजु बस्नेत, राजु खड्का, विनोद दासलाई समेट्नु राम्रो हुन्थ्यो । किनभने अहिले प्रशिक्षण शैलीमा ठूलो परविर्तन आइसकेको छ ।


यो प्रसङग खुलेर बाहिर आएको छैन, तर आफ्नो क्षेत्रको खेलाडी पार्न क्षेत्र नं. ६ बैतडीको पहल पनि कम छैन। मलेसियामा भएको प्रतियोगिताका लागि नेपाली टोली छनोटका क्रममा थियो । बैतडीका एक खेलाडी अन्तिम १४ मा नपरेको क्षेत्रले थाहा पायो । क्षेत्रले तत्कालै केन्द्रमा छनोटका लागि आधार मानिएको राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनको औसत र आाकडा पठाउादै छनोट समितिलाई सतर्क गरायो । बैतडीका अगुवाहरूबाट चालिएको त्यही कदमले हुन सक्छ, ती खेलाडी नेपाली टोलीमा समेटिइन्।


स्कोर कार्ड तथा औसत हेरेर खेलाडी छान्ने हो भने आज पारस खड्का र वसन्त रेग्मीजस्ता खेलाडी एउटा टोलमा सीमित हुन्थे । २००३ को यु-१७ एसिया कपका लागि भएको छनोट प्रतियोगितामा पारसको प्रर्दशन निकै फिका थियो । तर उनको प्रतिभा प्रर्दशनभन्दा माथि थियो । राष्ट्रिय छनोट प्रतियोगितामा ६५ रन पनि बनाउन नसकेका पारसलाई नेपाली यु-१७ को कप्तान बनाइएको थियो । पारसले भारतमा नेपालका लागि सबैभन्दा बढी २ सय ५ रन बनाए । पारसलाई अहिले नेपाली टोलीको भावी कप्तानको रूपमा लिइन्छ । त्यस्तै वसन्त मोटरसाइकल दुर्घटनामा परेका कारण ४ वर्षअघि यु-१९ राष्ट्रिय खेल्न सकेनन् । राष्ट्रिय नखेल्दा नेपाली टोलीमा पर्ने सम्भावना कम हुन्छ । तर पनि टोलीमा समावेश वसन्त नै नेपालले यु-१९ विश्वकपको प्लेट च्याम्पियनसिप जित्दा प्रमुख खेलाडी बने । न्युजिल्यान्डविरुद्धको फाइनलमा उनी नै म्यान अफ द म्याचमा चुनिए ।


पारस र वसन्त उदाहरण मात्र हुन् । त्यसैले नेपाली क्रिकेटमा सबैभन्दा पहिला क्षेत्रीय सोंच त्याग्नु जरुरी छ । नेपालले जितेमा मात्र क्षेत्रको महत्व रहन्छ । क्षेत्रले राम्रो संरचना नबनाएसम्म नेपालले जित्दैन ।

प्रकाशित: २८ असार २०६६ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App