२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
ब्लग

चेतना हराएको मानवता

कोरोना महामारीको त्रासमा रहेको नेपालमा अर्को घटनाले सबैको मन हल्लियो। आँखा रसायो। दुःखलाग्दो अवस्था भयो। कारण थियो– गत जेठ १० मा जाजरकोटका नवराज बिक र रुकुम पश्चिमकी सुष्मा मल्लको प्रेम कहानीबीच भएको हत्या काण्ड। प्रेम गरेकै कारण हत्या गरिनु ज्यादै भत्र्सनायोग्य घटना हो। यो घटना टाढा बसेर हेरिरहँदा, पढिरहँदा मानवमा चेतना हराउँदै गएको हो भन्न सकिन्छ। एउटा मानवले मानवसँग विवाह गर्न खोज्दा जातीयको पर्खाल खडा भएपछि विभत्स हत्यो भयो, यो चेतना भएका मानिसले कसरी गर्न सक्छन् होला ? कल्पनाभन्दा पनि बाहिरको कुरा।  

सुष्मा र नवराजबीच केही वर्षअघिदेखि प्रेम सम्बन्ध थियो भन्ने खबर बाहिरियो। उनीहरूलाई उमेर, लकडाउन र कोरोनाले छेकेन। खबरअनुसार दुईले विवाह गर्ने निधो गरे। सुष्माले बोलाइन्, नवराज आफ्ना १९ जना साथी लिएर सुष्माको घर गए। नवराजका बुबाका अनुसार अझै विवाह गर्न होइन, भेट्न मात्र गएको पनि भन्ने भनाइ छ। तर सुष्माका अभिभावक र गाउँलेले नवराज र उनका साथीहरूलाई सुष्मालाई भेट्नसमेत नपाउदै गाउँदेखि लखेट्दै लखेट्दै ज्यानै लिइदिए। नवराज र उनको ५ जना साथीहरूलाई मारेर भेरी नदीमा बगाइदिए। हत्या गरी फालिएको हो भन्ने प्रमाण लासको पोस्टमार्टमबाट भइसकेको छ। कथित दलित कोखबाट जन्मिएकै कारण नवराजले आफ्नो प्रेमिकालाई विवाह गरी घरमा लान पाएनन्, यही कारण अकालमै ज्यानै लिइयो। अहिले यो घटनाले देश नै तातेको छ।  

आफूलाई कथित गैरदलित हुनुमा कहिलेकाहीँ पीडा बोध हुन्छ। मानवलाई मानव देख्न र एकपटक जन्म लिने यो संसारमा मानवलाई जस्तो व्यवहार पनि गर्न नसक्ने कस्तो जातमा जन्मेछौँ, कस्तो संस्कारमा हुर्केछौँ भन्ने लाग्छ।  

उता बुटवलमा पनि यही समय अर्को पनि जातीयताकै कारण नमीठो घटना भयो। बुटवलकी एक युवतीले आत्महत्या गरिन् वा हत्या भयो त्यो त सत्य बाहिर आउला नै। तर एक १३ वर्षकी दलित युवतीको अकालमै ज्यान गयो। कथित उपल्लो जातका युवकसँंग सँंगै भेटिएकी उनलाई त्यहाँका वडा अध्यक्षसहित गाउँलेले २५ वर्षका युवासँगै विवाह गराइदिने फैसला गरे। केटोले ती अवोध बालिकालाई घर भित्र्याउने सहमति गरे र लगे तर परिवारले अस्वीकार ग¥यो। गाली, बेइज्जती गरियो। अपमान भयो। दलित केटीलाई घरभित्र पस्न नदिने पक्षमा परिवार पुगे। सोही दिन ती बालिका घर नजिकै रुखमा झुण्डिएकी अवस्थामा भेटिइन्। रुकुम घटनाले यो घटना छायाँमा त प¥यो तर यो पनि जातीयताकै कारण भएको अर्काे जघन्य अपराध थियो।  

यी र यस्ता घटना पछिल्लो समय धेरै भइरहेका देखिन्छ। विवाहमा जातीय पर्खाल खडा भएपछि जातसँग जोडिएर यस्तो घटना हुने गरेको देखिन्छ। जुन २१ औँ शताव्दीको मानव समुदायका लागि सुहाउँदो विषय हुनै सक्दैन।  

रुकुम घटना भर्खरै भएको हुँदा चर्चामा छ। धेरैको रगत उम्लिएको छ। लकडाउनका बेला समेत सडकमा आइ दोषीलाई कार्बाहीको माग उठिरहेको छ। तर यस्ता घटना मानवताको नाममा कलङ्क नै हो। यद्यपि विगतमा झै बिस्तारै सबैको सेलाउँदै जानेछ। सञ्चार माध्यमले पछ्याउन छाड्नेछन्। फेसबुकका भित्ताहरू पनि रङ्गिन छाड्नेछन्। दोषीले उन्मुक्ति पाउँछन् र फेरि पनि अर्काे घटना दोहोरिनेछ। विगत हेर्दा यस्तै लाग्छ। तर कामना गरौँ, यसपटक त्यस्तो नहोस्।  

कानुनी राज्यमा न्यायको आशा गरौँ तर पीडकले सजाय पाउनेमा ढुक्क हुन सक्ने अवस्था छैन। यो घटनालाई दबाउन, लुकाउन, दोषीलाई बचाउन चलखेल सुरु भइसकेको खबर पनि सुनिन थालिसकेको छ। जातीयताका कारण अकालमा मरेका, मारिएका घटना धेरै रहेछन्। नेपालमा जातीय भेदभावलाई दण्डित गर्ने कानुन बनेपछि पल्छिलो ९ वर्षमा १७ भन्दा बढी दलितले अन्तरजातीय विवाह तथा छोइछिटोका कारण ज्यान गुमाएका घटना बाहिर आएका छन्।  

मेरी एक जना साथी जसले केही वर्षअघि आफन्तको सहमतिबेगर दलितसँग बिवाह गरिन्। उनको १० वर्षको बच्चा पनि भइसक्यो तर अझैसम्म उनले जन्मघर टेक्न र अभिभावक भेट्न पाएकी छैनन्। स्वीकृति दिइएको छैन। केही वर्षपहिले बिहानीपख एक जना दाइ हतारिँदै घरमा आउनुुभयो। उहाँ निकै आत्तिएको जस्तो देखिनुहुन्थ्यो। के भयो भनी सोधेँ। दाइले भन्नुभयो– ‘छोरीले गल्ती गरी’। अर्थात भर्खरै १४ वर्ष पनि पूरा नभएकी छोरी पोइल गइ। ओहो ! उमेर नपुगी विवाह गरिछन् भन्न नपाउँदै उहाँले थप्नुभो– ‘मान्छेसँग गरेकी भए त ढिला÷चाँडो यस्तै हो भनिन्थ्यो तर हामीलाई नि मारेर गइ, दमाईँसँग गइछे।’ ओहो ! मैले प्रतिप्रश्न गर्ने र सम्झाउने शब्द भेटिन। केही दिनपछि थाहा पाएँ– उहाँले बिववाह भइसकेकी छोरी फिर्ता ल्याएर जात मिल्ने अर्को युवकसँग पुनः विवाह गरिदिनुभएछ। समाजमा यस्तो विडम्बना छ। अनि हामीजस्ता गैरदलितले कुर्लेर कहाँ छ भेदभाव भनेर मात्रै किन हुन्थ्यो ?

हिन्दु धर्मले बढी जातीयता व्याख्या ग¥यो भन्ने एकथरीको भनाइ छ। दलितहरू हिन्दु धर्मकै कारण आफूहरू अपहेलनामा परेको ठान्छन्। यो सत्य पनि होला। तर दलित र गैरदलितबीच विवाह हुँदा बढी घटना हुने गरेको तथ्यहरूले देखाउँछ। पारिवारिक स्वीकृतिमा नै विवाह भएको त विरलै घटना होलान् तर आफूखुसी विवाह गर्नेलाई पनि परिवार र समाजले स्वीकार नगर्ने, उस्तै परे, रुकुम काण्ड जस्तै घटनाहरू हुने गरेको पाइन्छ। विवाह केटा र केटीले आफूलाई मन परेको मान्छेसँग गर्न पाउने र स्वेच्छिक निर्णय लिन पाउने सामाजिक व्यवस्था नभएसम्म यस्तो समस्या आइरहने देखिन्छ। धर्मशास्त्रमा भएको विवाहको प्रसङ्ग यहाँ राख्नु उपयुक्त लाग्यो।

महाभारतमा अर्जुन र सुभद्राको विवाहको सन्दर्भमा श्रीकृष्णले भन्नुभएको छ कि ‘दुई जनाबीच प्रेम छ, विवाह गर्ने अभिलाषा छ र यसका लागि कन्या तयार छिन् तर विवाहको लागि कुनै कारणबाट रोकावट आएमा वरले वधू (पुरुषले महिलाको) को हरण गर्नु अपराध होइन। यो हरण होइन, वरण हो। निसङ्कोच हरण गर्न हुन्छ। आफ्नो जिन्दगीको सवालमा अरूको आग्रह वा अनुरोधलाई स्वीकारेर सम्बन्ध बनाउने होइन, आफ्नो निर्णय आफैँले गर्ने हो किनकि तिम्रो जिन्दगी तिमीले बाँच्ने हो।’  

त्यसैगरी विदर्भ राजा भिष्मक्तले छोरी रुक्मिणीको विवाह उनको अनुमतिबिना शिशुपालसँग आफ्नो छोराको हठका कारण गरिदिने निधो गर्छन्। रुक्मिणीले श्रीकृष्णसँग प्रेम गरिकी हुन्छिन् र वियोगमा पर्छिन्, अनि श्रीकृष्णलाई खबर पठाउँछिन् र जसरी पनि लैजाने आग्रह गर्छिन् र श्रीकृष्णले रुक्मिणीका दाजुसँग युद्ध गरेर रुक्मिणीलाई आफ्नो बनाएर लैजान्छन्। हामीले मान्दै र पुज्दै आएका भगवानहरूले पनि प्रेमका लागि यस्तो कदम उठाएका प्रसङ्गहरू छन्। जहाँ पारिवारिक स्वीकृति थिएन्।  

अहिले जुग फेरिएको छ। कानुन फेरिएको छ। शासन गर्नेहरू फेरिएका छन्। तर खै मान्छेहरूको मन र चेतना फेरिएको ? बुझ्न गाह्रो छ। अनि आफूलाई कथित गैरदलित हुनुमा कहिलेकाहीँ पीडा बोध हुन्छ। मानवलाई मानव देख्न र एकपटक जन्म लिने यो संसारमा मानवलाई जस्तो व्यवहार पनि गर्न नसक्ने कस्तो जातमा जन्मेछौँ, कस्तो संस्कारमा हुर्केछौँ भन्ने लाग्छ।  

एक दार्शनिकको भनाइ छ– ‘प्रेम र युद्धमा हरेक कुरा जायज हुन्छ।’ हो, हाम्रो समाजमा पनि प्रेम सबैले सबैलाई गर्छन्। जीवन बिताउनका लागि जीवनसाथी चुन्ने अधिकार उसैलाई हुन्छ, जसलाई चाहिएको हो। तर के साँचो प्रेम पनि जात, धन, वर्ग, भाषा, भूगोल, आर्थिक अवस्था हेरेर मात्र हुन्छ ? सबै कुरा हेरेर, मिलाएर गरिने त सन्धि, सम्झौता होइन र ? विवाहमा सम्झौता गराउनु भनेको आफ्नो परम्परालाई कायम राख्नु हो। जसले फाइदामात्र गर्दैन यसका धेरै बेफाइदा पनि छन्।  

रुकुमको घटनामा सामाजिक सञ्जाल, अनलाइन सबैमा विभिन्न तर्क, कुतर्क, व्याख्या, विश्लेषण बढिरहेका  

छन्। दलित समुदाय यो घटनाको विरोधमा छन्। जुन जायज पनि छ। प्रेम गरेकै कारण कोही पनि नवराजहरू मर्नुहुँदैन। गैरदलित समुदायका मानिस पनि चूपचाप छैनन्। बोलिरहेका छन्। मानवीय चेतना भएका, मान्छेलाई मान्छे देख्न र स्वीकार्न सक्नेले यस घटनाको आआफ्नो स्थानबाट भत्र्सना गरेका छन्। दोषीलाई कार्बाहीको माग गरेका छन्। प्रेम गरेकै कारण पनि कोही पनि मारिनु क्षम्य हुन सक्दैन। मानवीय चेतना भएका मानिसले यस्तो गर्न सक्छन् जस्तो लाग्दैन। चेतशून्य भएकाहरूबाट यस्तो घटना हुने हो।  

जातको सन्दर्भमा धेरै गैरदलित सङ्कीर्णमात्र होइन एकप्रकारको मानसिक रोगी नै छन् जस्तो लाग्छ। उनीहरू जबर्जस्ती नै भए पनि अन्याय गरेरै भए पनि आफूभन्दा तल कसैलाई राखेर आफू ठूलो हुन खोज्छन्। जुन राम्रो होइन, हरेक मानिसलाई समान व्यवहार गर्नुपर्छ भन्ने मान्यता राख्नुपर्छ। समानताले नै समाजमा शान्तिभाव पैदा गर्न मद्दत गर्छ। समृद्धिको यात्रामा हिँड्न सकिन्छ।  

म कथित गैरदलित परिवारमै जन्मेर, हुर्केर बाँचिरहेकी मान्छे, गैरदलितहरूको रूप देखेकी छु। दलितहरूको पीडा भोग्नु र मैले देख्नुमा फरक छँदैछ। हाम्रो समाजमा अशिक्षित वा कम पढेलेखेका, वृद्धहरूले मात्र विभेद गरिरहेका छैनन्। शिक्षित मानिस, जो डिग्री र पिएचडीका होल्डर छन्, समानता, रूपान्तरण र अधिकारका कुरा गर्छन्, पढाउँदै हिँड्छन्, उनीहरू नै जातपातको कुरा आउँदा परिवर्तन स्वीकार गर्न तयार हुँदैनन्। मीठा कुराले शब्दमा सुधारेर, बाहिर राम्रो बोलेर भित्र व्यवहारमा जहीँको त्यहीँ भएपछि परिवर्तन कसरी र कहिले हुन्छ त ?

केही ठूला अधिकारकर्मी र चेतनास्तर माथि उठेका मानिएकाहरू पनि मीठा र चिल्ला कुरा गर्छन्। हो क्यारे जस्तो पारिदिन्छन् तर दलितको सवाल दलितले नै उठाउनुपर्छ भन्नेमा लगेर पन्छिन्छन्। जति मीठो कुरा गरे पनि उनीहरूको मनमा पनि आफ्ना दरसन्तानले दलितसँग विवाह नगरुन् भन्ने छँदैछ। अनि कसरी समानताको अभ्यास गर्न सकिन्छ ? कसरी आमूल परिवर्तनको कुरा गर्न सकिन्छ ? हाम्रो समाजमा जातीय समानताको बहस पर्याप्त भएकै छैन।  

जबसम्म यस्ता सवाल सबैको साझा बन्न सक्दैन जब मान्छे मान्छेका लागि बोल्न सक्दैन, जब मान्छेले मान्छेलाई मान्छे देख्न र स्वीकार्न सक्दैन तबसम्म परिवर्तनको बाटो भेटिने छैन। मान्छेले मान्छेलाई मान्छे देख्न, मान्न र स्वीकार्न सक्ने क्षमता र मन बनाऔँ। हरेक मानवमा चेतना छ, त्यो चेतनालाई बाहिर ल्याउँ। समस्या आफैँ समाधान हुन्छन्।

 

प्रकाशित: १९ जेष्ठ २०७७ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App