२८ असार २०७७ आइतबार
ब्लग

टुँडिखेलमा ल्होसार : सांस्कृतिक दृष्टिकोण

टुँडिखेलको परिचय

टुँडिखेलको सहज परिचय काठमाडौंको बीच भागमा अवस्थित खुल्ला मैदान हो। यो शहिदगेट र रत्नपार्कको बिचमा अवस्थित छ। सामान्यतया आम मानिसको टुँडिखेलप्रतिको बुझाइ यहि हो।

किम्बदन्ति अनुसार कुनै बखत त्यो चउरमा ‘टुँडिल’ नामकी देवी थिइन्। काठमाडौंको स्थानीय भाषामा चउरलाई ‘ख्य’ भनिने हुनाले, उनै टुँडिल देवीको चउर ‘टुँडी ख्य’ हुँदै भाषाको अपभ्रंस हुनगइ टुँडिखेल रहन गएको पाइन्छ।

अर्को किम्वदन्ती अनुसार इटुमबहास्का केशचन्द्रको लामो कथा छ। कुनै बखत केशचन्द्रको विलौना सुनेर परेवाले बिस्टाएका सुनलाई गुरुमापा नामको राक्षसद्वारा बोकाइ सहरभित्र छिराएका थिए। गुरुमापाले सहरभित्र छिरेपछि स्वभावअनुसार उपद्रव गर्न बाँकी राखेन। तर सहरवासीले त्यसो गर्न नदिई त्यो राक्षसलाई सहरभन्दा बाहिरको ठूलो चउरमा बसाउन योजना बुने। उसलाई मनाउन फागु पूर्णिमाको दिन सहरबाहिरको त्यो चउरमा आई वर्षको एकपटक एउटा राँगोको मासु र दस पाथी चामलको भात ख्वाउने कबुल गरियो। गुरुमापालाई पनि त्यो कुरा मञ्जुरी भयो। यसरी त्यो राक्षसलाई राखिएको चउरलाई कसैले ‘तिनिख्यस’ पनि भनेका छन्। जुन अहिलेको टुँडिखेल हो। यो किंवदन्तीबाट टुँडिखेललाई राक्षसको आँगन भन्ने बुझियो। तर पछि परेड खेल्ने गरी राज्यको आँगन बन्न पुग्यो।

मानवविकासको क्रमसँगै टुँडिखेललाई राष्ट्रलाई शोक पर्दा शोक मनाउने र राष्ट्रले जित्दा हर्ष बढाई गर्ने स्थानको रुपमा लिने गरियो। राणा प्रधानमन्त्री चन्द्रशमशेरले विस १९६७ ताका चरम गरिबि र कमजोर आर्थिक अवस्था भएका जनताहरुलाई आफू बेलायत भ्रमणबाट फर्किएपछि टुँडिखेलमा सामूहिक भोज गरेको इतिहास हामी सामु जिवितै छ। २०७२ को विनाशकारी भूकम्पमा धेरै मानिसहरुको आश्रय स्थल बन्यो टुँडिखेल। त्यस्तै टुँडिखेललाई राज्यको उच्च ओहदाका व्यक्तिहरुको मृत्यु पश्चात अन्तिम श्रद्धाञ्जलिको लागि प्रयोग गरिने स्थानको रुपमा समेत प्रयोग गरिन्छ। यो भन्दा बढि सम्बन्ध कुनै पनि नेपाली या जातिहरुको टुँडिखेलसँग जोडिएको छैन।

देशमा गणतन्त्रको स्थापना पश्चात आफूलाई पहिचानवादी ठान्ने आदिवासिहरुले टुँडिखेलमा आफ्नो नितान्त मौलिक पर्वलाई मान्न थाले। जसलाई उनीहरुले पहिचान मान्दै आएको छ। तमु ल्होसार त्यसको एउटा ज्वलन्त उदाहरण हो।

ल्होसार के हो ?

ल्होसार गुरुङ, तामाङ, शेर्पा र हिमाली आदिवासीहरूको मौलिक पर्व हो। ल्होसार तीन किसिमका हुन्छन्। तमू ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार। तमू ल्होसार गुरुङहरूले प्रत्येक वर्ष पुस १५ का दिन मनाउने गर्छन् भने सोनाम ल्होसार तामाङ समुदाय र ग्याल्वो ल्होसार हिमाली जनजातिहरूले आआफ्नो तिथिमितिअनुसार मनाउँछन्। समग्रमा ल्होसारको अर्थ भने एउटै छ।

ल्होसार शब्द ल्हो र सार गरी दुई शब्दले बनेको छ। जसको अर्थ, ल्हो भन्नाले वर्ग र सार भन्नाले सुरुवात भन्ने जनाउँछ। यसको अर्थ हुन्छ नयाँ वर्गको सुरुवात अर्थात् नयाँ वर्षको प्रारम्भ। विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरूको प्रतीक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष (फो–ल्हो) मृग  को वर्ष थियो भने यस वर्ष (च्यु–ल्हो) मुसा वर्ष रहनेछ।

यस अर्थमा तमु समुदायले सम्पूर्ण समय अर्थात् ल्होलाई १२ वटा भाग गरी जनावर या चराको आधारमा बाँढेका छन्। यस वर्ष भने (च्यु–ल्हो) मुसा शुभ वर्षले तमु संस्कारमा आफ्नो प्रभाव राख्नेछ। यो वर्षभरी जन्मनेहरू अब (च्यु–ल्हो) अर्थात् मुसा वर्गको रहने छ। ल्होसार मान्ने जातिहरूमा वर्षको भूमिका वर्गले खेल्ने गर्छन्।

ल्होसार पहिचानसँग जोडिएको विषय हुनाले, पहिचान बुझ्न जरुरी छ। पहिचान के लाई मान्ने ? पहिचनासँग भाषा, संस्कृति, धर्म, वर्ग, क्षेत्र/भूगोल, लिंग, पेसा आदि जोडिएको हुन्छ। त्यसका साथै पहिचानको लागि यी ५ आधारहरु प्रथामिक आधारहरु हुन्। जातीय/समुदायगत, भाषिक, संस्कृतिक आधार, भौगोलिक/क्षेत्रगत र ऐतिहासिक निरन्तरता। यी माथिको आधारहरुविनको विषयहरुलाई हामी पहिचान मान्न सक्दैनौँ।

टुँखिलेलसँग ल्होसारको सम्बन्ध

यसरी हामीले पहिचानको परिभाषालाई आधार मान्ने हो भने हाम्रो टुँडिखेलसँग कुनै पनि किसिमको सम्बन्ध छैन। न भाषिक सम्बन्ध छ, न जातीय, समुदायगत संस्कृतिक, भौगोलिक र ऐतिहासिक निरन्तरता नै छ। हामी टुँडिखेलमा ल्होसार मान्नुलाई पहिचान ठान्छौँ। अनि हामी त्यसैलाई पहिचान भन्दै टुँडिखेलमा संस्कृतिको नाममा बुर्लुक्क उफ्रन्छौँ। त्यसपश्चात हाम्रो पहिचानको हविगत के हुन्छ ? पहिचानवादी भन्नेहरुसँग पहिचानको परिभाषा र त्यसको महत्व नभएपछि त्यो पहिचानको के अर्थ ?

आदिवासि जनजातिहरुले आफूले जे गरेपनि त्यसलाई पहिचान ठान्ने प्रवृतिले आज पहिचानको रङ्ग मेटिदै गएको छ। हामी पहिचानवादीहरुमा संस्कृतिक भ्रम मात्र होइन अन्य भ्रमहरु पनि उत्तिकै हाबि छ। समग्रमा हामीसँग भ्रमको चाङ्नै रहेको छ। जसलाई हामीले चिर्न सकेका छैनौ। त्यहि भ्रम हाम्रो पहिचनाको लागि घातक बनिरहेको छ।

जस्तो उदाहरणको लागि राज्यले आज आदिवासि र जनजाति भन्ने शव्दलाई एउटै परिभाषामा समेटिएको छ। राज्यको यो बुझाई आजको होइन हिजैदेखिकै निरन्तरता हो। हामी पहिचानवादीहरुले त्यसको भ्रम चिर्न सकेनौं या जानेनौं। त्यतिमात्र होइनौँ, पहिचानको उपलब्धी समेत मापन गर्न सकेनौ।

को हो आदिवासि ?

आदिवासि भन्नाले त्यस्तो समुदायलाई जनाउँछ, जसको आफ्नै मातृभाषा र रितिरिवाज, परम्परागत थातथलोसहितको छुट्टै साँस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास हुन्छ साथै आफ्नो पुख्र्यौली भूमिसँग अटुट सम्बन्ध राख्दछ। सम्रगमा आदिवासि कालखण्डसँग सम्बन्धित पक्ष हो।

जनाजाति भनेको प्रकृया अर्थात् आन्दोलन भन्ने बुझ्नु पर्छ। नेपालमा उत्पादित आधारमा हिन्दु वर्ण व्यवस्था भित्र नपर्ने जातिहरुलाई जनजाति भनिन्छ। सबै जनजाति आदिवासि होइनन् तर सबै आदिवासि जनजाति हुन्। मानव विकास सूचकांकका आधारमा यी समूहलाई उन्नत, सुविधाबाट वञ्चित, सीमान्तकृत, अति सिमान्तकृत र लोपोन्मुख गरी ५ समूहमा विभाजन गरिएको छ। तर हामी पहिचानवादीहरुको बुझाई आदिवासि र जनजाति एउटै हो भन्ने छ। समस्या यहि छ।

यसरी हामी पहिचानवादीहरुसँग भ्रमका चाङ्हरु छन्। संस्कृति, धर्म, भाषा लगाएत आवत पक्षमा भ्रमका चाङहरु छन्। जसलाई हामीले पहिचान खोज्दै गर्दा एक–एक केलाउनु पर्ने आवश्यक छ। तर हामी त्यतातिर केन्द्रित हुदैनौँ। यस्तै रवैया कायमै रहे हाम्रो पहिचानले हावा खाने लगभग निश्चित छ। यहि भ्रमका कारण आज हाम्रो ल्होसार पहिचानको नाममा टुँडिखेलमा आइपुगेको छ।

हामीले अब निष्कर्ष निकाल्नुपर्छ टुँडिखेलमा ल्होसार मान्ने प्रवृति वेठिक हो। हामी मुख्यत गण्डक क्षेत्रलाई तमु (गुरुङ) बसोबास क्षेत्रको रुपमा लिइन्छ। भलै जीवन जिउने र समयको वहनसँगै आज विश्वका विभिन्न भुभागमा तमु (गुरुङ) हरु छरिएर रहेका छन्। यसरी हेर्दा तमुहरुको मात्र होइन, अन्य आदिवासि जनजातिहरुको पनि टुँडिखेलसँग त्यति लामो पहिचानगत सम्बन्ध छैन। अनि हामी टुँडिखेलमा ल्होसार मान्नुलाई किन पहिचान र उपलब्धि मान्ने ? हामीले त पहिचानको नाममा पहिचान मास्ने काम गर्दै छौँ।

हामीले हाम्रो पुस्तालाई कस्तो पहिचान सिकाउँदै छौँ ? आज हाम्रो समुदायको साना–साना नानि बाबुहरुलाई ल्होसार के हो ? भन्ने प्रश्न गर्यो भने, उत्तर के आउँछ ? ल्होसार टुँडिखेलमा मान्ने पर्व हो। प्रश्नको उत्तरमा कुनै कुराको कमि छैन। हामीले त्यहि संस्कृति सिकाएका छौँ। उ त्यहि संस्कृतिमा हुर्कदै छ।

अन्त्यमा वर्ष दिनमा एक दिन मनाउने मौलिक पर्वलाई टुँडिखेलमा प्रस्तुत गर्दा हाम्रो भूमिका र पहिचान गुरुमापाको जस्तो रहने निश्चित छ। हामीले गुरुमापाले जस्तो उद्ण्ड व्यवहार प्रस्तुत गरेर राज्यले हामीलाई मौलिक संस्कृति र पर्व टुँडिखेलमा प्रस्तुत गर भनेको पक्कै हैन र छैन पनि। अनि हामी आफै त्यसको पहिचान र विशिष्ट पक्ष नबुझि किन टुँडिखेलमा गुरुमापाको भूमिकामा प्रस्तुत भइरहेका छौँ ? के हामीले हालसम्म प्राप्त गरेका सबै उपलब्धीहरु गुरुमापालाई मनाउन दिएको दश पाथि चामल र रागाँको मासु जस्तै हुन् ?

deardevraj36@gmail.com

प्रकाशित: १५ पुस २०७६ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App