नेपाली राजनीतिका चतुर खेलाडीको रूपमा चिनिने प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणमा रहेका विश्वप्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको घरेलु मैदान ‘सान्टियागो बर्नाबाउ’ को भ्रमण गरे।
आफूलाई रियल मेड्रिडको फ्यान बताएका ओलीलाई क्लबले क्रिस्टियानो रोनाल्डो जस्ता दिग्गज खेलाडीले प्रयोग गरेको चर्चित ७ नम्बरको जर्सी उपहार दियो। क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागत गर्दै रङ्गशालाको अवलोकन भ्रमण गराउने क्रममा ओलीलाई उनको नाम अङ्कित ७ नम्बरको जर्सी उपहार दिए।
ओलीले पाएको ७ नम्बरको जर्सी फुटबल जगतमा एउटा विशेष प्रतीक हो। रियल म्याड्रिडमा यो जर्सी विश्व चर्चित खेलाडीहरू जस्तै क्रिस्टियानो रोनाल्डो, डेभिड बेकह्याम, राउल गोन्जालेज लगायतले लगाए। यिनीहरू केवल खेलाडी मात्र होइनन्। खेल भावना र अनुशासनका अनुपम उदाहरण हुन्। उनीहरूको खेल जीवनलाई हेर्ने हो भने निरन्तर अभ्यास, परिश्रम, समर्पण र टिमवर्कको स्पष्ट प्रभाव देखिन्छ। त्यसैले उनीहरू खेल्दा पनि नखेल्दा सबैको मनमा रहन्छन्।
‘म पनि रियल मेड्रिडको फ्यान छु,’ ओलीले भने, ‘यो भव्य रङ्गशाला र क्लबको आतिथ्यता देखेर खुसी लाग्यो।’ भ्रमणका क्रममा ओलीले अत्याधुनिक र सुविधा सम्पन्न रङ्गशालाको प्रशंसा गर्दै आफूलाई रियल मेड्रिडको समर्थकको रूपमा चिनाए।
यो भ्रमणले कूटनीतिक मात्र होइन, सांस्कृतिक र खेलकुद कूटनीतिलाई पनि नयाँ सन्देश दिएको छ। राजनीति र फुटबल, यी दुई फरक क्षेत्र भए पनि यिनको मूल मर्म उस्तै देखिन्छ। रणनीति, लक्ष्य, सहकार्य र परिणाम। खेलमा गोल नगर्ने टिम जित्दैन, राजनीति पनि त्यस्तै हो–प्रतिज्ञा गरेर मात्र हुँदैन, जनताको अपेक्षाको गोलपोष्टमा ठ्याक्कै हान्नुपर्छ। सफल प्रधानमन्त्री हुन मैदानको कप्तानजस्तै आफूभन्दा अरूको पनि ऊर्जा, सहयोग र समर्पणबाटै विजय सम्भव हुन्छ। ओलीलाई यो जर्सी दिइनु केवल सम्मानको सङ्केत मात्र होइन।
विभिन्न समयमा विभिन्न सङ्घर्ष, उतारचढाव र राजनीतिक घुम्ती पार गर्दै प्रधानमन्त्री बनेका ओली, राजनीति रूपी मैदानमा ७० कट्दा पनि उत्तिकै सक्रिय छन्। त्यसैले उनलाई दिइएको ७ नम्बरको जर्सीले गहिरो सन्देश दिन्छ, ‘गोल गर्न बाँकी छ।’
तर गोल एक्लैले गर्न सकिँदैन। जस्तो कि रियल म्याड्रिडबाट खेलेका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोको उदाहरण लिऊँ। उनले जति गोल गरे, त्यो केवल उनको व्यक्तिगत क्षमताले मात्र होइन, टिमका अन्य खेलाडीको पनि ठूलो देन थियो। उस्तै गरी, ओलीले पनि यदि नेपालको समृद्धिको ‘गोल’ पूरा गर्न चाहन्छन् भने उनले आफ्ना अन्य ‘खेलाडी’ जस्तै मन्त्री, सांसद, कर्मचारी र जनतालाई एउटै टिमको रूपमा सङ्गठित गर्नुपर्छ। टिम भावना बिना कुनै ‘गोल’ सम्भव हुँदैन। खेल हेर्ने क्रममा एक्लै गोल गर्न खोज्ने धेरैका सपना अधुरा भएको हामीले देखेका छौँ।
त्यसैले ओलीले पाएको ७ नम्बरको जर्सी लक्ष्यप्रतिको प्रतिबद्धता र टिमवर्कप्रतिको सङ्केत पनि हो। यदि ओलीले यही भावनालाई आफ्नो कार्यशैलीमा उतारे भने, उनी नेपालको इतिहासमा केवल कुशल राजनीतिज्ञ होइन, रणनीतिक कप्तानको रूपमा चिनिन सक्छन्।
मुलुकमा अहिले राजनीतिमा जुन प्रकारको अन्योल, असहयोग र प्रतिस्पर्धा छ, त्यसलाई ‘टिमवर्क’मा बदल्नुपर्छ। फुटबल मैदानमा जस्तै राजनीति पनि जीतको लागि हो, तर यो जीत केवल आफ्नो हैसियतको लागि होइन, जनताको भलोका लागि हुनुपर्छ। खेलमा जुन उत्साह, जोस र प्रतिबद्धता देखिन्छ, त्यो राजनीतिमा अभाव छ। ओलीजस्ता अनुभवी नेताले त्यो खालीपनलाई भर्न सक्छन्, यदि उनी साँच्चै ‘गोल’ हान्न चाहन्छन्।
ओलीको रियल म्याड्रिड भ्रमण र पाएको ७ नम्बरको जर्सी केवल तस्बिर खिच्ने प्रसङ्ग होइन, यो एउटा अवसर हो, जुन उनले आफ्नो नेतृत्वमा नयाँ सन्देश दिन सक्छन्, ‘अब फरक टिम बनाउने बेला आएको छ, अब गोल गर्ने बेला आएको छ।’ खेलमा जस्तै, राजनीतिमा पनि स्पष्ट लक्ष्य, सहकार्य र निर्णायक प्रहारले नै सफलताको गोल हासिल हुन्छ। नत्र ७ नम्बर जर्सी नपाए पनि गोल हान्ने खेलाडी मैदानबाहिर तयार भइसकेका छन्। फुटबल मन पराउने ओलीलाई थाहा होला कि गोल हान्ने हो, नसके मैदान छाड्ने हो। सम्भवतः ७ नम्बर जर्सीको पवित्र भावना पनि यही हो–सक्छौ गोल गर, सक्दैनौ मैदान छाड।
प्रकाशित: २० असार २०८२ ०८:२१ शुक्रबार