भारत र पाकिस्तान दक्षिण एसियाका दुई प्रमुख शक्ति राष्ट्रहरू १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएदेखि नै तनावपूर्ण सम्बन्धमा छन्। यी दुई देशहरूबिच चार ठूला युद्धहरू (सन् १९४७, १९६५, १९७१ र १९९९) भएका छन्। युद्धबाट १९७१ मा बंगलादेशको जन्मबाहेक कुनै ठोस परिणाम प्राप्त भएन। त्यसबाहेक पनि आतंकवाद र निरन्तरको सीमा विवादले हजारौं सैनिक र नागरिकको ज्यान लिइसकेको छ।
हाल जारी तनावले पनि दुवै देशमा सर्वसाधारणको ठूलो क्षति भइरहेको छ। यी दुई आणविक शक्ति सम्पन्न देशहरूको युद्ध र अस्थिर सम्बन्धले दक्षिण एसिया मात्र होइन, सम्पूर्ण विश्वलाई नै खतरामा पारेको छ। यस्तो अवस्थामा भारत र पाकिस्तानले जिम्मेवार भएर संयमता अपनाउँदै एकअर्कालाई आदर्श छिमेकीको रूपमा स्वीकार गर्नु आजको आवश्यक्ता हो।
दुई देशले युद्धको सट्टा शान्ति र संवादमार्फत आफ्ना आन्तरिक समस्याहरू समाधान गर्नुपर्छ। यसमा नेपाल दक्षिण एसियाको एक तटस्थ, शान्तिप्रिय र बुद्धको जन्मभूमिको रूपमा परिचित राष्ट्र भएका कारण शान्ति स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। यस कुरामा नेपालले जोड दिनुपर्छ, न कि कुनै एक पक्षको लिनुपर्छ।
सन् १९४७ मा धार्मिक आधारमा भएको विभाजनले करोडौं भारत र पाकिस्तानमा मानिसलाई प्रभावित गर्यो। त्यसबेलादेखि नै कश्मीरको मुद्दा यी दुई देशबिच विवादको प्रमुख जड बनेको छ। दुवै देशले कश्मीरमाथि आ-आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन्। यसले युद्ध, आतंकवाद र सीमा क्षेत्रमा निरन्तर हिंसालाई निम्त्याएको छ। यी बाह्य समस्याहरूलाई प्राथमिकता दिँदा दुवै देशले गरिबी, बेरोजगारी, भोकमरी, शिक्षा र स्वास्थ्य जस्ता आन्तरिक समस्याहरूलाई बेवास्ता गर्दै आएका छन्।
स्वतन्त्रतापछि भारत विश्वको सबैभन्दा ठूलो लोकतन्त्र र उदीयमान आर्थिक शक्तिको रूपमा स्थापित भएको छ। तर जुन विकास चीन वा अन्य देशहरूले पाएका छन्, त्यसको तुलनामा भारत आज पनि धेरै पछाडि छ। ६० देखि ९० को दशकमा चीन र भारतको अर्थतन्त्रमा कुनै खास फरक थिएन्। स्वतन्त्र भएपछि एक समयमा भारतको भन्दा पाकिस्तानको अर्थतन्त्र बलियो थियो।
पाकिस्तानमा देखिएको राजनीतिक अस्थिरता पनि विकासको बाटोमा तगारो बनेको छ। पाकिस्तानमा सेना र राजनीतिक शक्तिबिच पटक पटक देखा परेको सत्ताको लडाइँले आर्थिक विकास नभएको तर्क समेत गर्ने गरिएको छ। नेताहरूले वार्ता र संवादमा जोड दिए पनि सेनाले युद्धको भाषा जान्दछ। विभाजनछि नै एकअर्कालाई शत्रुको रूपमा हेर्ने प्रवृत्तिले दुवै देशको विकासलाई बल पुगेको छैन। यदि यी दुई देशले संवाद र सहकार्यमा जोड दिएका हुन्थे भने दक्षिण एसिया समृद्ध र स्थिर क्षेत्र बन्न सक्थ्यो।
युद्धले कुनै पनि देशलाई विजेता बनाउँदैन। भारत र पाकिस्तानबिचका विगतमा भएका युद्धहरूले आर्थिक क्षति, मानवीय हानि र सामाजिक अस्थिरता मात्र ल्याएका छन्। यी दुई आणविक हतियार सम्पन्न देशहरूबिचको सम्भावित युद्धले दक्षिण एसियालाई मात्र होइन, विश्वव्यापी अर्थतन्त्र, पर्यावरण र मानवतामाथि नै गम्भीर खतरा निम्त्याएको छ। सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा भएको आणविक आक्रमणले लाखौं मानिसको ज्यान लिएको थियो। त्यसको प्रभाव अझै पनि देखिन्छ।
यस्तो विनाशकारी सम्भावनालाई रोक्न, भारत र पाकिस्तानले युद्धको सट्टा शान्तिको बाटो रोज्नुपर्छ। युद्धको आर्थिक बोझ पनि ठूलो छ। युद्धमा खर्च हुने अर्बौं डलरलाई दुवै देशले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्न सक्छन्। युद्धले जनताको जीवनस्तरमा सुधार ल्याउनुको सट्टा थप गरिबी र अस्थिरता नै लिएर आउँछ।
शान्ति र संवादको महत्त्व
लामो समयसम्म शत्रुतापूर्ण सम्बन्ध राख्ने देशहरूले संवाद र सहकार्यमार्फत शान्ति र समृद्धि हासिल गरेका धेरै उदाहरणहरू छन्। दोस्रो विश्वयुद्धमा जर्मनी र फ्रान्स घोर शत्रु थिए। तर, युरोपेली युनियनको गठन र आपसी सहकार्यले यी देशहरूले शान्तिको बाटो रोजे। आज जर्मनी र फ्रान्स युरोपका प्रमुख आर्थिक शक्ति र घनिष्ठ मित्र छन्।
जापान र दक्षिण कोरियाबिच पनि ऐतिहासिक तनाव थियो। तर आर्थिक सहकार्य, सांस्कृतिक आदानप्रदान र कूटनीतिक प्रयासले सम्बन्ध सुधारेका छन्। आज यी दुई देशहरू एसियाका प्राविधिक र आर्थिक शक्ति बनेका छन्। सन् १९८९ मा बर्लिनको पर्खाल ढलेको घटना पनि महत्वपूर्ण छ। त्यो घटना जर्मनीको विभाजनको अन्त्य पूर्व र पश्चिम जर्मनीको पुनर्मिलन, शीतयुद्धको समाप्ति र साम्यवादको पतनको प्रतीक बन्यो। विश्वका धेरै उदाहरणहरूले देखाउँछन् कि संवाद, सहकार्य र आपसी समझदारीले दीर्घकालीन शान्ति सम्भव छ। भारत र पाकिस्तानले पनि यस्तै बाटो अपनाउनुपर्छ।
नेपाल भारत र पाकिस्तानको साझा छिमेकी हो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य र विश्वमा शान्तिको सन्देश बोकेर चिनिएको राष्ट्रको रूपमा स्थापित नेपाल भारत र पाकिस्तानबिच शान्ति स्थापना गराउनका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। नेपालको असंलग्न परराष्ट्र नीति, शान्तिप्रिय इतिहास, गौतम बुद्धको अहिंसावादी दर्शन र भौगोलिक अवस्थितिले मध्यस्थताको लागि आदर्श देश बनाउँछ। नेपालले भारत र पाकिस्तानबिच संवादको लागि तटस्थ मञ्च प्रदान गर्न सक्छ। काठमाडौं वा लुम्बिनीमा उच्चस्तरीय शान्ति सम्मेलन आयोजना गरेर कश्मीर र अन्य विवादास्पद मुद्दाहरूमा छलफलकाे सुरुवात गर्न सकिन्छ। नेपालको तटस्थ छवि र बुद्धको शान्ति सन्देशले दुवै देशलाई विश्वासमा लिन सक्छ। विगतमा नेपालले प्रयास नगरेको होइन तर त्यो पर्याप्त भएन्।
भारत र पाकिस्तानबिचको तनावले सार्कको प्रभावकारिता कमजोर भएको छ। नेपालले सार्कको सक्रिय सदस्य एवं अध्यक्षको रूपमा क्षेत्रीय सहकार्यलाई जोड दिनुपर्छ। व्यापार, पर्यावरण, प्रविधि र जलवायु परिवर्तन जस्ता गैर(राजनीतिक मुद्दाहरूमा सहकार्यले तनाव कम गर्न मद्दत गर्छ। युरोपेली युनियनले क्षेत्रीय एकीकरणमार्फत शान्ति कायम गरेको उदाहरण नेपालले अनुकरण गर्न सक्छ। नेपालले भारत र पाकिस्तानका जनताबिच सांस्कृतिक समानतालाई जोडेर सम्बन्ध सुधार गर्न सक्छ। साथै, नेपालले क्रिकेट, साहित्य र चलचित्र जस्ता माध्यमबाट सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्न सक्छ।
गौतम बुद्धको अहिंसावादी दर्शनलाई विश्वव्यापी मञ्चमा प्रस्तुत गरेर नेपालले भारत र पाकिस्तानलाई शान्तिको बाटोमा प्रेरित गर्न सक्छ। संयुक्त राष्ट्रसंघमा नेपालले बुद्धको शान्ति सन्देशलाई जोडेर दुवै देशलाई संवाद र मेलमिलापको लागि अपिल गर्न सक्छ। नेपालले लुम्बिनीलाई विश्व शान्ति केन्द्रको रूपमा विकास गरेर अन्तर्राष्ट्रिय शान्ति सम्मेलनहरू आयोजना गर्न सक्छ। नेपालले भारत र पाकिस्तानलाई त्रिपक्षीय आर्थिक सहकार्यमा जोड्न सक्छ। नेपालको पर्यटन, व्यापार र पूर्वाधार विकासमा संयुक्त परियोजनाहरूले आर्थिक लाभ ल्याउन सक्छ।
नेपालले आफ्ना विश्वविद्यालयहरू र शान्ति अध्ययन केन्द्रहरूमार्फत भारत र पाकिस्तानका युवाहरूलाई शान्ति शिक्षा, नेतृत्व विकास र द्वन्द्व समाधानका कार्यक्रममा सहभागी गराउन सक्छ। यस्ता कार्यक्रमले भावी पुस्तामा एकता र समझदारीको भावना जागृत गर्नेछ। दक्षिण एसियाली युवाहरूका लागि शान्ति र सहकार्यमा आधारित पाठ्यक्रम सुरु गर्न सक्छ। नेपालले दक्षिण एसियामा क्षेत्रीय शान्ति पहलको नेतृत्व गर्न सक्छ। बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्स जस्ता अन्य सार्क सदस्यहरूसँग मिलेर नेपालले भारत र पाकिस्तानलाई संवादमा ल्याउन दबाब सिर्जना गर्न सक्छ। यस्तो सामूहिक प्रयासले क्षेत्रीय स्थायित्वलाई बलियो बनाउने अपेक्षा गरिएको छ।
कश्मीर मुद्दामा नेपालले कश्मीरी जनताको चाहनालाई प्राथमिकता दिँदै दीर्घकालीन समाधान खोज्न सहयाेग गर्नुपर्छ। नेपालले संयुक्त राष्ट्रसंघमार्फत आणविक हतियारको होडबाजी रोक्न अपिल गर्न सक्छ। विश्व समुदायले भारत र पाकिस्तानलाई शान्तिको बाटोमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, चीन र रूस जस्ता शक्तिहरूले मध्यस्थताको प्रस्ताव राख्न सक्छन्।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले आर्थिक सहयोगमार्फत दुवै देशलाई विकासमा केन्द्रित गर्न प्रोत्साहन गर्न सक्छन्। नेपालले यी संस्थाहरूसँग सहकार्य गरेर शान्ति प्रक्रियालाई बलियो बनाउन सक्छ। भारत र पाकिस्तानबिचको तनावले दक्षिण एसियाको समृद्धि र स्थायित्वलाई खतरामा पारेको छ। नेपालको सक्रिय नेतृत्व र विश्व समुदायको समर्थनले दक्षिण एसियालाई शान्ति, स्थायित्व र समृद्धिको नयाँ युगमा प्रवेश गराउन सक्छ।
एजेन्सीको सहयोगमा
प्रकाशित: २६ वैशाख २०८२ १९:२८ शुक्रबार