राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उदयमान नेता रवि लामिछानेले सोमबार साँझ तामझामका साथ पत्रकार सम्मेलन गरे। उनी दुई/दुई पटक भारी मतले निर्वाचन जितेका सांसद पनि हुन। यी दुई निर्वाचनका बिचमा लामिछानेले धेरै मुद्दा खेप्नुपर्यो। उनी ग्यालेक्सी टीभी (गोर्खा मिडिया नेटवर्क प्रालि)का तत्कालीन प्रबन्ध निर्देशक पनि हुन र यसअघिका पत्रकार पनि।
ग्यालेक्सी टेलिभिजन छोड्दा खातामा एक करोड रुपैयाँ जम्मा भएको आरोपमा केन्द्रित भएर उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए।
पत्रकार सम्मेलनमा आफ्नो दायाँबायाँ आफ्नै पार्टी सम्बन्धित विषयका विद्वानहरूलाई राखेका थिए। सभापति लामिछानेले एकातर्फ ‘सेलिबे्रटी’ बैंकरका नामले चिनिने अनिल केशरी शाह राखेका थिए जो पार्टीका प्रशिक्षण विभागका प्रमुख पनि हुन। अर्कातिर युवा अर्थशास्त्रीको परिचय बनाएका र पार्टीकै सांसद स्वर्णिम वाग्लेलाई राखेका थिए।
त्यसो त रवि पूर्व पत्रकार पनि हुन। पछिल्लो समय यदाकदा उनलाई चतुर युवा नेताका रूपमा पनि चित्रण गरिन्छ। शायद त्यसैले होला, पत्रकार सम्मेलनको उद्देश्य र लक्ष्यसँग मिल्दाजुल्दा पात्रलाई दायाँबायाँ राखेर उनी बसे।
लामिछानेमाथि आफ्नो खातामा कतैबाट एक करोड रुपैयाँ जम्मा भएको आरोप छ। यो आरोप खण्डन गर्न बैंकर शाहलाई राखेका थिए भने ग्यालेक्सी टीभीमा प्रबन्ध निर्देशक रहँदा सहकारीबाट लिएको ऋण/सहकारीको बदमासी जस्ता विषयमा बहस गर्न अर्थशास्त्री वाग्लेलाई राखे।
सुरुमा सभापति लामिछाने आफैले आफ्नो तर्फबाट बचाउको धेरै प्रयत्न गरे। आफ्नो खातामा एक करोड रुपैयाँ जम्मा भएको आरोप उनले स्वीकार गर्ने कुरै भएन। रकम जम्मा नभएको प्रमाणहरू दिन विभिन्न प्रयत्न पनि गरे। यतिसम्मकी सम्बन्धित बैङ्क र शाखाका प्रबन्धकलाई त्यहीबाट फोन गरेर समेत आफूले प्राप्त गरेको पत्रको आधिकारिकता सार्वजनिक रूपमा पुष्टि गर्ने प्रयत्न गरे। शाखा प्रबन्धकसँग भएको कुराकानी समेत ह्यान्ड फ्रि गरेर सुनाए।
बचाउका सबै प्रयत्न सकिएपछि बैंकको ‘सिस्टम’बारे जानकारी दिन आफ्नो एकातर्फ बसेका बैंकर अनिल केशरी शाहलाई माइक हस्तान्तरण गरे। शाहले सभापति लामिछानेको बैङ्क खाता, त्यसमा जम्मा भएको चेकको वास्तविकता खुलाउँदै गए। शाह बैंकर भएकाले पनि उनले कहाँनेर कसरी चेक जम्मा हुन्छ? कसरी ट्रान्जेक्शन क्लियर (पैसा जम्मा हुने प्रक्रिया पुरा हुने अवस्था) हुन्छ भनेर सञ्चारकर्मीहरूलाई सम्झाउँदै गएका थिए।
शाहका अनुसार चेक इन्ट्री (जम्मा) हुँदैमा खातामा पैसा जम्मा भएको मानिदैन्। कुनै व्यक्ति वा संस्था अर्को कुनै व्यक्ति वा संस्थाको खातामा पैसा जम्मा गर्न कुनै पनि बैंकमा जान्छ। त्यस बैंकका टेलरले त्यसलाई इन्ट्री गर्नै पर्छ। तर इन्ट्री गर्ने बित्तिकै त्यो पैसा सम्बन्धित खातावालाको खातामा जम्मा भइहाल्दैन।
त्यसरी इन्ट्री भएको चेक ‘क्लिरियन्स्’का लागि चेक काटिएको बैंकमै पठाइन्छ। पठाइएको बैंकले त्यो चेकको आधिकारिकता परीक्षण गर्छ। खातामा पैसा छ की छैन र हस्ताक्षर सही हो की होइन भनेर परीक्षण हुन्छ। परीक्षणमा सबै वैधानिक र सही देखियो भने मात्रा खाता भएको बैंकले चेक जम्मा गरेको बैंकको शाखालाई रिपोर्ट पठाउँछ। त्यही रिपोर्टका आधारमा खातामा पैसा जम्मा हुने बैंकिंङ प्रचलन छ। यसरी शाहले आफ्नो भनाई सञ्चारकर्मीहरू माझ राखिरहेका थिए।
यही क्रममा शाहले भने यो सबै प्रक्रियालाई ‘ट्रान्जेक्शन’ भनिन्छ र यो क्लियर नभएसम्म चेक जम्मा गरिएको खातावालाको मोबाइलमा ‘घण्टी’ बज्दैन। यही क्रममा बैंकर शाहले सभापति रवितर्फ देखाउँदै आफ्नो तर्फबाट दाबी गरे, ‘उहाँको खातामा ‘‘ट्रान्जेक्शन क्लियर’’ पनि भएन र खातामा पैसा पनि जम्मा भएन।’
यता गोर्खा मिडिया नेटवर्कले सहकारी संस्थाबाट लिएको ऋण र सभापति लामिछानेको संलग्नताबारे नेपाल प्रहरीको सिआईबीले पनि अनुसन्धान सुरु गरिसकेको छ। सभापति लामिछानेको खाताको ट्रान्जेक्शन क्लियर भए/नभएको पुष्टि पनि अनुसन्धानबाट नै हुनेछ। यहाँ त बैंकको ‘ट्रान्जेक्शन क्लियर’ नहुँदा रविलाई फाइदा पुग्ला वा उनी जोगिएलान्।
तर जनताले भरोसा गरेको तथा ठुलो जनमत प्राप्त गरेर अघि बढेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सभापति लामिछाने माथि पटक–पटक लाग्ने गरेका विभिन्न आरोप र मुद्दाहरूबाट जोगिन गाह्रो हुँदै गएको छ। उनी माथि लागेका हरेक आरोप र मुद्दाहरूको ‘ट्रान्जेक्शन क्लियर’ हुन जरुरी देखिन्छ।
यो भएन भने आगामी २०८४ को संघिय निर्वाचनमा ‘घण्टी’ बजाउने रास्वपाको सपना अधूरै रहनेछ। बैंकमा ‘ट्रान्जेक्शन क्लियर’ नहुँदा मोबाइलमा ‘घण्टी’ बज्दैन भने सभापति लामिछानेमाथि लागेका आरोप र मुद्दाहरूको ‘ट्रान्जेक्शन क्लियर’ नहुँदा ०८४ मा घण्टी बज्दैन। यो पक्का छ।
प्रकाशित: ९ माघ २०८० ०५:१६ मंगलबार