‘बाङ्गा अक्षर’ ले ‘खाइराइड हास्यव्यङ्ग्य प्रतियाेगिता’ का विजेताहरूलाई पुरस्कार अर्पिएकाे छ।
काभ्रे इङ्गलिश माध्यमिक विद्यालय पनौती, काभ्रेका १२ कक्षाकी छात्रा कुसुम घिमिरेलाई प्रथम पुरस्कार नगद रूपैयाँ २०,००० र सम्मानपत्र प्रदान गरिएकाे छ।
त्यस्तै डियरवाक सिफल स्कुल, सिफल काठमाडौं, १२ कक्षाका साइमन घिमिरे द्वितीय पुरस्कार नगद रू. १०, ००० र सम्मानपत्र, डियरवाक सिफल स्कुल सिफल १० कक्षाकी अनुश्री आचार्यलाई ५ हजार रुपैयाँ र प्रमाणपत्र अर्पिएकाे छ।
बाङ्गा अक्षरले ‘हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता-२०८२’ का लागि २०८२ मंसिर १ काे समयावधि तोकी विद्यालय तहको निबन्ध आह्वान गरेको थियो।
उक्त ‘खाइराइड हास्यव्यङ्ग्य प्रतियाेगिता’ का लागि देशका १२ कक्षा सम्मका विद्यार्थीबाट प्राप्त निबन्धको मूल्याङ्कनको आधारमा विजेता घोषणा गरिएको हाे।
सिस्नोपानी नेपालका अध्यक्ष तथा हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागे, साहित्यकार डा. ऋषि बस्ताकोटी र हास्यव्यङ्ग्यकार गायत्री लम्सालको मूल्याङ्कन समितिले प्रतियाेगिताकाे विजेता घोषणा गरेको हो।
हास्यव्यङ्ग्यको प्रभावकारिता, विषयवस्तु र सान्दर्भिकता, मौलिकता र सिर्जनशील प्रस्तुति, भाषाशैली, संरचना र तादम्यलाई मूल्याङ्कनका आधार बनाइएको थियो।
उक्त पुरस्कार लाेकप्रिय हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीले नेपाली हास्यव्यङ्ग्यको विधागत विकासका लागि स्थापना गरेका हुन्।
उक्त कार्यक्रममा पुरस्कृत छात्रछात्रालाई फित्काैलीले प्रकाशन गरेकाे हास्यव्यङ्गय कृति उपहारस्वरूप प्रदान गरिएकाे थियाे।

हास्यव्यङ्ग्य संस्था बाङ्गा अक्षर नेपाल शाखाका सहसंयाेजक डिल्लीप्रसाद मूलतिहुनकाे अध्यक्षता र फित्काैली डटकमका प्रधानसम्पादक एवम् हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
उक्त कार्यक्रममा प्राज्ञ श्याम तमाेट, हास्यकलाकार मनाेज गजुरेल, सुबाेध गाैतम, डा. टिका लम्साल, चण्डी कार्की लगायतकाे उपस्थिति थियाे।
डा. टिका लम्सालले बाङ्गा अक्षरकाे उपस्थिति र खाइराइड पुरस्कार स्थापनाकाे उद्देश्यबारे प्रकाश पारेका थिए।
अनिल पाैडेलले हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष एवम् रचना मूल्याङ्कन समितिका संयाेजक लक्ष्मण गाम्नाङ्गेले तयार गरेकाे समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्राज्ञ श्याम तमाेट र चण्डी कार्कीले पुरस्कृत छात्रछात्रा एवम् सहभागी विद्यालय परिवारप्रति बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलले खाइराइड हास्यव्यङ्ग्य पुरस्कार नेपाली हास्यव्यङ्ग्यकै पुनर्जागरणमा महत्त्वपूर्ण कडी हुने विश्वास व्यक्त गरेका थिए। यसले युवा पुस्तामा हास्यव्यङ्ग्य लेखनप्रति अभिरूचि जगाउन बताए। बाङ्गा अक्षर परिवारलाई शुभकामना व्यक्त पनि गरेका थिए।
कार्यक्रममा हास्यकलाकार मनाेज गजुरेल र सुबाेध गाैतमले हास्यव्यङ्ग्यमूलक प्रस्तुति प्रस्तुत गरेका थिए।
पुरस्कृत छात्रहरूले निबन्धहरू वाचेका थिए। चक्र दवाडी, अनिता काेइराला र अनिल पाैडेलले व्यङ्ग्यात्मक कविता प्रस्तुत गरेका थिए।
अनिल पाैडेलले सञ्चालन गरेकाे कार्यक्रममा डा. ऋषि बस्ताकाेटीकाे कवितासङ्ग्रह पानीको रङ्गको प्रोत्साहन पुरस्कार स्वरूप डियरवाक सिफलका १२ विद्यार्थीलाई प्रमुख अतिथि नरनाथ लुइँटेल मार्फत हस्तान्तरण गरिएकाे थियाे।
प्रकाशित: १३ पुस २०८२ ११:३५ आइतबार





-600x400.jpg)