१८ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

सबैले अस्वीकार गरेको ‘देवदास’को चुन्नीलालमा ज्याकी कसरी जोडिए ? यस्तो छ कारण

बलिउड अभिनेता ज्याकी श्रफले सञ्जय लीला भन्सालीको चर्चित फिल्म ‘देवदास’मा चुन्नीलालको भूमिका आफूले कसरी पाएको भन्नेबारे खुलासा गरेका छन्। उनका अनुसार उक्त भूमिका आफूलाई प्रस्ताव गरिनुअघि धेरै अन्य कलाकारहरूले अस्वीकार गरेका थिए।

रिपब्लिक भारतसँगको हालैको अन्तर्वार्तामा ज्याकीले ‘देवदास’मा काम गर्दाको अनुभव सुनाएका छन्। दर्शकबाट आएकी एक महिलाले आफूले उक्त फिल्म पाँच पटक हेरेको बताएपछि ज्याकीले आफ्नो भूमिकाबारे कुरा गरेका छन्।

उनले भने, “त्यो भूमिका कसैले स्वीकार गरिरहेका थिएनन्, किनभने शाहरुख खानले देवदासको भूमिका निभाइरहनुभएको थियो। जसजसलाई फिल्म प्रस्ताव गरिएको थियो, उनीहरूले ‘मेरो पात्रको नामसमेत छैन, देवदास नै उनको नाम हो’ भने। त्यसपछि जब कसैले पनि भूमिका स्वीकार गरेन, त्यो मकहाँ आयो। मैले ‘हुन्छ, म गर्छु’ भनेँ।”

ज्याकीले आफूलाई माधुरी दीक्षित पनि फिल्ममा रहेको र आफूले उनको पात्र चन्द्रमुखीको कोठीको मालिकको भूमिका निभाउने बताइएको सम्झिए। उनले भने, “मैले सोचेँ, माधुरीजी त्यहाँ हुनुहुन्छ र म उहाँको पात्र चन्द्रमुखीको कोठीको मालिक हुँ। म त्यहाँ किन नबस्ने? मैले ‘धेरै राम्रो’ भनेँ। त्यसपछि मेरो अर्को के छ भनेर सोधेँ। उनीहरूले ‘तपाईंको एउटा गीत छ र यी संवादहरू छन्’ भने।”

संवाद पढेपछि आफूले भूमिकाको आकारबारे खासै चिन्ता नगरेको पनि ज्याकीले बताए। उनले भने, “मैले संवाद पढेँ र भनेँ, मेरो भूमिका इन्टरभलमा आए पनि मलाई फरक पर्दैन, किनभने म केवल उभिँदा पनि देखिन्छु। र, म ‘देवदास’मा देखिएँ।” ज्याकीले थपे, “जब कसैले भूमिका स्वीकार गर्दैन, त्यो मकहाँ आउँछ। र मलाई त्यसमा कुनै आपत्ति हुँदैन।”

ज्याकी अभिनीत हरर फिल्म ‘काली खेती’ अगामी अक्टोबर २३, २०२६ मा रिलिज हुने तयारीमा छ।

प्रकाशित: १८ आश्विन २०८३ १८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App