सोम सर कलेजका धेरै विद्यार्थीले मन पराउने शिक्षकमध्ये पर्नुहुन्छ। सकभर विद्यार्थीले गल्ती गर्दा पनि गाली गरेर वा थर्काएर भन्दा पनि शिष्ट भाषामा विभिन्न उदाहरण प्रस्तुत गरेर सम्झाउने गर्नुहुन्छ।
हुन त पछिल्लो समय अधिकांश शिक्षकहरूलाई विद्यार्थीसँग कडा रूपमा प्रस्तुत हुनभन्दा पनि विद्यार्थी केन्द्रित भएर उनीहरूको मनोविज्ञानलाई बुझेर नम्र तरिकाले कक्षामा उपस्थित हुने भनिन्छ तर कतिपय व्यक्तिका स्वभाव जन्य कुराहरू परिवर्तन गर्नुपर्ने बाध्यता भए पनि बदलिन नसकेका धेरै उदाहरण छन्। विषयवस्तुलाई शालीन र तर्क संगत तरिकाले विद्यार्थीलाई बुझाउने प्रयास गर्ने उहाँको विशेषता नै हो।
काठमाडौंका विभिन्न विद्यालयमा अध्यापन गर्न थालेको पनि १४ वर्ष भइसकेको थियो। यो लामो अनुभवले गर्दा पनि विद्यार्थीलाई कसरी बुझाउँदा बुझ्छन् एवं कस्तो व्यवहार गर्नुपर्छ भन्ने जानकारी सोम सरलाई थियो। निजी कलेज भएकाले सरकारी शैक्षिक संस्थाको तुलनामा शिक्षक विद्यार्थीप्रति र विद्यार्थी शिक्षकप्रति केही बढी नै उत्तरदायी हुने गर्थे।
खाजा खाने ४० मिनेटको छुट्टी भए पनि सोम सर आज विद्यार्थीका कापी परीक्षण गरेर शिक्षक कक्षमा नै बसिरहनुभएको थियो। सबै शिक्षक र विद्यार्थीहरू क्यान्टिन एवम् खेलमैदानतिर पुगिसकेका थिए। कक्षा ११ मा अध्ययन गर्ने केही विद्यार्थीले समेत क्यान्टिनको खाजा खाँदाखाँदै दिक्क भएर कहिलेकाहीं घरबाट नै खाजा ल्याउने गर्थे। आज शिक्षक कक्षमा सोम सरलाई एक्लै देखेर सेक्सन जीको इमान्दार विद्यार्थी सङ्कल्प आफूले ल्याएको खाजा लिएर सरको नजिक पुग्यो। उसले खाजाको आधा जति अंश शिक्षकलाई दिँदै खाजा खानको लागि आग्रह गर्दै थियो। शिक्षकले सङ्कल्पलाई ‘म केही बेरमा क्यान्टिनमा गएर खाइहाल्छु। तिमी आफ्नो खाजा खाऊ, मैले तिम्रो खाजा खाए भने त तिमी भोकै हुन्छौ नि?’ भन्नुभयो।
सङ्कल्पले धेरै नै आग्रह गरेपछि खाजाको केही अंश लिनुभयो। सङ्कल्पले सरलाई खाजा दिएर बाहिर जाँदै गर्दा सुलभ सर पनि टुप्लुक्क आइपुग्नुभयो। उसले बाँकी रहेको खाजा सुलभ सरलाई दिन खोज्दै थियो तर उहाँले भर्खरै खाएर आएको भनेपछि ऊ त्यहाँबाट गएको थियो। सुलभ सर यस शैक्षिक सत्रदेखि मात्र यस कलेजमा आउनुभएको थियो। शैक्षिक सत्र सुरु भएको पनि धेरै भएको थिएन त्यसैले उहाँले सबै शिक्षक र विद्यार्थीलाई राम्रोसँग चिन्नुभएको पनि थिएन। सुलभ केही बहिर्मुखी स्वभावको हुनुहुन्छ। आफूलाई लागेको कुरा फ्याट्ट भन्ने गर्नुहुन्छ शिक्षक कक्षमा आएर खाजा दिएको देखेर हो कि अरू केही कुराले गर्दा हो सोम सरतिर फर्केर उहाँले भन्नुभयो, ‘हजुरलाई खाजा दिएर गएका ती बाबु हजुरका छोरा हुन् र?’
खाँदा खाँदैको गाँस रोक्दै सोम सर भन्नुहुन्छ, ‘होइन, किन र? हाम्रो कलेजमा शिक्षक र विद्यार्थीबिच एकअर्कामा सम्मान एवं आत्मीय व्यवहार हुने गर्छ। सर नयाँ हुनुभएकोले विद्यार्थीले खाजा दिँदा नौलो मान्नु भएको होला है।’
‘झट्ट हेर्दा सरको अनुहारसँग उसको अनुहार मिलेजस्तो मानेँ त्यसैले घरबाट बाबु छोरालाई आमाले सँगै खाजा पठाइदिनु भएको हो कि भन्ठानेको मैले त,’ सुलभ आफूलाई लागेको कुरा फटाफट भन्दै थिए। उनी अगाडि हाँस्दै थप्छन्, ‘नरिसाउनुस् है सर म झुक्किएछु।’
अन्तर्मुखी स्वभावका सोम सर केही समय रोकिएर मुसुक्कै हाँस्दै भन्नुहुन्छ, ‘हुन त कलेजका सबै विद्यार्थीहरू हाम्रा छोराछोरी सरह नै हुन् नि होइन र सर?’ सुलभले पनि टाउको हल्लाएर समर्थन जनाए जस्तो गरे। सोम सरको विवाह नै भएको छैन भन्ने कुरा सुलभ सरलाई थाहा छैन र उहाँले आफ्नो विवाह नभएको कुरा बताउनु पनि भएन।
अझै धेरै कुराहरू हुन्थ्यो होला। यति कुरा हुँदै गर्दा अन्य शिक्षकहरू पनि बिस्तारै बिस्तारै शिक्षक कक्षमा आइसकेका हुनाले त्यो सन्दर्भ रोकिएको थियो। सुलभले त खासै वास्ता गरेनन् तर उनले त्यस विद्यार्थीको अनुहारसँग सोम सरको अनुहार मिल्छ भन्दा उनको अनुहारको रूपाकृतिमा केही फरकपन देखिएको अनुमान सहजै गर्न सकिन्थ्यो।
प्रत्येक दिन धेरै धेरै नयाँ कुराहरू हुन्छन्। बेलुका गएर ती कुराहरूको खासै चासो अथवा मतलब हुन्थेन तर आज बेलुका सोम सरलाई दिउँसो सुलभले भनेका कुराहरू मानसपटलमा तछाडमछाड गर्दै आइरहेको जस्तो देखिन्छ।
यो सन्दर्भसँग जोडिएर पक्कै पनि उसको जीवनमा केही कुरा घटेको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ। ऊ एकान्तमा एक्लै टोलाए जस्तो देखिन्छ। प्रायः ऊ त्यस्तो धेरै टोलाएको देखिन्थेन। भित्र भित्र धेरै कुराहरू मनन गथ्र्यो। पत्रिकाहरू पढ्थ्यो। इन्टरनेट खोल्थ्यो र केही समय टिभी खोलेर विश्वका समाचारहरू हेरिरहेको जस्तो देखिन्थ्यो तर उसले आज कुनै कुरामा पनि चासो दिएको जस्तो देखिँदैन।
आजको साँझको एक्लोपनमा एकाएक विद्यालयदेखि स्नातक तहसम्म सँगसँगै पढेको अत्यन्त मिल्ने साथी समीरको याद घरी घरी आइरहेको थियो। जीवनको यो घडीमा आइपुग्दा समेत ऊ जस्तो सबै कुरा भन्न सक्ने र मनका सबै कुरा साट्न सक्ने अर्को कुनै साथी बनाउन सकेको थिएन। त्यस्तो खालको कुनै साथी बनाउन सकेको भए आज हो सरासर गएर भेटेर आफ्ना मनमा लागेका कुराहरू भन्थ्यो होला।
त्यो बेलाका ती दुईजना अत्यन्त घनिष्ठ मित्र थिए। यतिसम्म कि पोखराको क्याम्पसमा प्रमाणपत्रतह र स्नातकतह एउटै कोठामा बसेर अध्ययनलाई अगाडि बढाएका थिए। उनीहरू एकअर्कालाई कुनै कुरा पनि लुकाउँदैन्थे। कहिलेकाहीं त क्याम्पसमा कुनै युवतीसँग आँखा जुध्यो भने त्यो केटीलाई तैंले प्रस्ताव राख्ने कि मैले प्रस्ताव राख्ने गोलाप्रथा गरौं सम्म पनि भन्थे।
हुन त दुवै जना अन्तर्मुखी स्वभावका भएका हुनाले कहिले पनि कसैलाई औपचारिक रूपमा प्रेम प्रस्ताव भने राख्न सकेनन्। स्नातक तह पढ्दै गर्दा समीरको विवाह भयो र उसले त्यसपछिको अध्ययन अगाडि नबढाई पोखरातिर नै व्यापार व्यवसाय गरेर आफ्नो जीवन चलाउँदै गयो।
सोम भने स्नातक तहको अध्ययन पूरा गरिसकेपछि अध्ययनको लागि भन्दै काठमाडौंतिर आएको थियो। पढ्न आएको उसले एक दुई वर्ष जागिर खाएपछि मात्र आफ्नो स्नातकोत्तर तहको अध्ययनलाई अगाडि बढाएको थियो। ऊसँग पढ्दाका अधिकांश साथीहरूले विवाह गरिसकेका थिए। तर ऊ एउटा विषयमा स्नातकोत्तर सके पनि अरू दुई/तीन विषयमा स्नातकोत्तर गर्ने ध्याउन्नमा लागिरहेको थियो। उसले अहिलेसम्म विवाह गरेको थिएन। जन्म, विवाह र मृत्यु उपरवालाले निर्धारण गर्ने कुरा हो।
कुनै न कुनै बेला आफ्नो पनि कसै न कसैसँग विवाह होला नि भनेर मनलाई सान्त्वना दिन्थ्यो। कतिपय साथीका त छोराछोरीसमेत भइसकेर पूर्ण घरबारे जीवन बिताइसकेका थिए। उसको मिल्ने साथी समीरको विवाह भएको पाँच वर्ष पुग्दासमेत कुनै सन्तान भएका थिएनन्। समीर परीक्षणको लागि काठमाडौं आएको बेलामा सोम कै कोठामा बसेको हुनाले उसले आफ्ना सबै कुराहरू एकरति पनि नढाटिकन बताएको थियो। विवाहसमेत नभएको उसको लागि त यी कुराहरूलाई खासै ठुलो कुरा मानेको थिएन तर साथीले यसलाई पनि ठुलो समस्याको रूपमा लिएको देखेर मात्र उसलाई थाहा भयो। मानिसको लागि सन्तान पनि कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा साथीको निराशपन देखेर महसुस गरेको थियो।
समीरको जोडी महिनाको एक दुईचोटि परीक्षणका लागि भन्दै पोखराबाट काठमाडौं आइरहन्थ्यो। डाक्टरसँगको भेटपछि प्रत्येक पटक सबै कुरा उसलाई बताउँथ्यो। उसले एकपटकको भेटमा सधैंभन्दा अलि बढी निराश र मलिन हुँदै उसलाई बताएको थियो कि– ‘हेर सोम मेरो त अब यो जुनीमा कुनै पनि सन्तान नहुने भए। अब यो समाजले मलाई अपुतो भनेर भन्ने भए।’
सोमले उसलाई सम्झाउँदै भनेको थियो– ‘सन्तान नभएर के भयो र? यस समाजमा कतिपय मानिसले जिन्दगीभरि विवाह नै नगरे पनि हाँसीखुसी बसिरहेका छन्। आफ्नो भविष्यको सहारा सन्तान अकालमा गुमाएर पनि बाँचिरहेका छन्। तिमीहरूको त यति सुन्दर र एकअर्कालाई माया गर्ने जोडी पाएका छौ। एकअर्कालाई सहयोग गर्दै जिन्दगीमा प्रगति गरेर अगाडि बढ्ने आधार छँदै छ। तिमी र म सँगैका दौतरी हौं। तिम्रो विवाह भएको पाँच छ वर्ष भइसक्यो। मेरो त अहिलेसम्म विवाह नभए पनि आफ्नै तरिकाले रमिरहेको छु नि। हेर समीर आफ्नै समस्यालाई मात्रै ठुलो मान्नु हुँदैन। समस्यासँग जुधेर अगाडि बढ्नुपर्छ र त्यही बिन्दुबाट अगाडि बढेर जीवनमा प्रगति गर्न सकियो भने मात्र जीवनको सही अर्थ बुझेको मानिन्छ। अब सन्तान हुँदै हुँदैन भन्ने कहाँ छ र हुन सकिहाल्छ नि।’ उसले आफ्नो साथीलाई हर सम्भव सम्झाउने प्रयास गरेको थियो। ऊ अगाडि थप्दै थियो, ‘डाक्टरले के समस्या छ र किन हुँदैन भन्यो त?’
‘डाक्टरको भनाइ अनुसार मेरो प्रजनन क्षमता छैन अर्थात् नपुसकता प्रमाणित गरिदिएका छन्। श्रीमतीकोमा भने कुनै खालको पनि समस्या नरहेको कुरा बताएका थिए,’ आफूलाई मानसिक रूपमा अत्यन्त कमजोर रहेको महसुस गर्दै सोमले यी कुरा बताउँदै थियो। काठमाडौंमा बसेर लामो समय पढेको र कतै सुनेको आधारमा सोमले भन्दै थियो– ‘हेर समीर पछिल्लो समय यस्तो समस्या समाधानको निम्ति नेपालमा समेत विभिन्न कुराहरू आइसकेका छन्। तिम्रो समस्या त मेरो विचारमा खासै ठुलो समस्या हो जस्तो लाग्दैन। काठमाडौंका केही स्वास्थ्य संस्थामा तिम्रो जस्तो समस्या समाधान गर्नको लागि आई भी एफ (अरू कुनै पुरुषले दिएको शुक्रकीट र महिलाको अण्डालाई प्रयोगशालामा मिलाएर भ्रूण बनाइन्छ र त्यसलाई महिलाको गर्भाशयमा राख्ने) पद्धति आइसकेको छ क्यारे।’
‘डाक्टरले पनि यसको बारेमा भनेका थिए तर म यो पद्धतिका बारेमा खासै विश्वस्त हुन सकिनँ किनकि बाहिर देखिँदा त कसैको शुक्राणु लिएर जन्माएको सन्तान अरूले त मेरै हो भनेर ठान्लान्। वंशाणुगत रूपमा त त्यो सन्तान मेरो नहुने भयो नि।’
‘हेर सोम, तिम्रो सोचाइको दायरा अलि साँघुरो पाएँ है। तिमीलाई सन्तान पनि चाहिने अनि अरू नचाहिँदा कुरा पनि खेलाउने? यो त केवल मानसिक रोग निम्त्याउने बाटोबाहेक अरू केहीजस्तो लागेन मलाई त।’
केही समय मौन बसेर केही सोचेझैं गरेर आफ्नो अनुहार रातो निलो र केही कमजोर जस्तो बनाउँदै आफ्ना सबै कुरा आफ्नो साथीलाई सुम्पे झैं गरेर एकाएक समीरले सोमलाई मलाई नराम्रो नठान्नु है भन्दै लामो भूमिका बाँधेर भन्यो– ‘सोम, कृपया तिमी यो आइभिएफ प्रविधिको शुक्राणु दाताका रूपमा उपस्थित भइदेऊ है।’ एक सासमा केही डराएको जस्तो गरेर उसले आफ्नो अन्तर्मनको कुरा बतायो।
आफूले कल्पनासम्म नगरेको प्रस्ताव एकाएक आएपछि सोम पनि अत्यन्त आत्तिएको जस्तो गरी हडबडाउँदै भन्यो, ‘समीर तिमी यो कस्तो प्रस्ताव राख्दैछौ? अहिले त तिमी विवाहित पुरुष हौ। अब कलेज पढ्दाखेरि गरे जस्ता युवाकालका उरन्ठ्यौला कुरा गर्न मिल्दैन। साथीलाई साथीको सम्बन्धमा नै राख्दा उपयुक्त हुन्छ।’
‘सोम, म तिमीलाई साथीको सम्बन्धभन्दा अझ माथि राख्न चाहन्छु,’ दुई बिचमा कुनै भिन्नता नरहेको आभास दिँदै ऊ बोलिरहेको थियो। यही विषयलाई लिएर करिब दुई घण्टा दुईजना साथीबिच घरी चर्काचर्की, घरी मौनता, घरी भावनात्मकता, कुनै बेला एकअर्काप्रति जिद्दी भाव, एकछिनमा विश्वास, घरी घरी बाल्यकालको मित्रता, एकअर्कामा समर्पण अनि जिन्दगीका उतार चढाव आदि आदि कुराहरू भए। दुई जनामा मात्र सीमित राख्ने सङ्कल्प सहित सोमले यो प्रस्ताव स्वीकार गर्न बाध्य भएको थियो।
कलेजबाट फर्केपछि घरको छतमा गएर एक तमासले एकोरिएको सोमले १६–१७ वर्ष अगाडिका ती परिदृश्यलाई चलचित्रको पर्दामा उतारे झैं आफ्नो मानसपटलमा कैद गरिरहेको थियो। जीवनको यो घडीमा आइपुग्दा समेत समीर जस्तो सबै कुरा भन्न सक्ने र मनका सबै कुरा साट्न सक्ने अर्को कुनै साथी बनाउन सकेको थिएन।
अब चाहेर पनि समीर यो जुनीमा दुई जनाको मित्रतालाई निरन्तरता दिनका लागि आउन सक्ने सम्भावना छैन, किनकि एक वर्ष अगाडि काठमाडौंबाट पोखरा फर्कने क्रममा यति एयरलाइन्सको जहाज दुर्घटना परी सेती खोँचमा आफ्नो जीवन गुमाइसकेको थियो।
समीरको अकल्पनीय हवाई दुर्घटनामा मृत्यु भएपछि सोमले लामो समयसम्म शून्यताको महसुस गरेको थियो। समीरको छोरो सङ्कल्पको भविष्यप्रतिको उत्तरदायित्व पनि थपिएको महसुस गरेको थियो। एसइई तयारीमा रहेको छोरो सङ्कल्पले बाबुको काजक्रिया लगायतका कार्य दत्तचित्त भएर गरेको थियो। यस्तो शोकको घडीमा पनि उसले परीक्षा राम्रै गरेको रहेछ।
सोमकै सल्लाहमा एसइईपछि कक्षा ११ अध्ययनको निम्ति सङ्कल्प पनि काठमाडौंको त्यही क्याम्पसमा आएर भर्ना भएको थियो। सङ्कल्पकी आमा पनि छोराको पढाइमा केही सहयोग होस् भनेर आफ्नो जागिर पनि काठमाडौंमा नै सरुवा गरेर केही समयदेखि यतै बस्न थालेकी थिइन्। सङ्कल्प र उसकी आमालाई काठमाडौंमा बस्ने कोठा खोज्ने लगायतका सबै कार्यको व्यवस्थापनमा सहयोग पुर्याएका सोम सर पनि उनीहरूलाई भेट्न प्रायजसो गइरहन्थे भने उनीहरू पनि आइरहन्थे।
उनीहरूको सम्बन्ध एउटै परिवारको सदस्य जस्तै भइसकेको थियो। एकअर्काले सुखदुःखमा साथ दिने अवस्थामा पुगी सकेका थिए। बिस्तार बिस्तार सोम, सङ्कल्प र सुमानाको सम्बन्ध पनि पहिला समीर र सोमको जस्तो थियो त्यस्तै हुन थालिसकेको थियो। ती दुईको जीवन्त सम्बन्धको प्रभाव यिनीहरूमा परेजस्तो देखिन्थ्यो।
सोम सर र सुलभ सरको कुरा भएको केही दिनमा नै सोम सरलाई अर्को कलेजबाट जागिरको राम्रो प्रस्ताव आएपछि पुरानो कलेज छोडेर अर्को कलेजमा पढाउन थालिसकेका थिए।
सङ्कल्पले पनि यस वर्ष कक्षा १२ को परीक्षा सकेर भावी जीवनको गोरेटो कोर्ने क्रममा थियो। हप्ता दिनभरिको व्यस्तता भागदौड तनावलाई शान्त गर्नको लागि सोम सर, सुमाना र सङ्कल्प धुलिखेलको एउटा रेस्टुरेन्टमा खाजा खाँदै रमाइला कुरा गरिरहेका थिए।
त्यसै क्रममा पुरानो कलेजमा केही समय पढाउँदाका साथी सुलभ र उनको परिवार पनि त्यहाँ आएको रहेछ संयोग बस उनीहरूको भेट भयो। बहिर्मुखी स्वभावका सुलभ रेस्टुरेन्टको केही परको बगैंचाबाट हात उठाउँदै सोम सर बसेको ठाउँतिर आए। उनी नजिक आइपुग्नेबित्तिकै सोम सरले पनि उनलाई अभिवादन गर्दै हात मिलाए।
यसपाली निसङ्कोच सङ्कल्पलाई देखाउँदै ऊ मेरो छोरो र सुमानालाई देखाउँदै उनी मेरी श्रीमती भनेर परिचय गराए। सुमनाले हर्ष मिश्रित मुस्कानका साथ अन्तर हृदयदेखि नै स्वीकार गरिन् र सङ्कल्पले शिष्टतापूर्ण तरिकाले सम्मान गर्यो। सुलभ सरले सोम सरलाई अङ्कमाल गर्दै ‘दुई वर्षअगाडि तपाईंले मलाई किन ढाँट्नुभएको नि? तर अझै बाबुछोराको अनुहार मिले पनि थर मिलेन नि?’ व्यङ्ग्यात्मक शैलीमा प्रश्न गरे।
‘मैले त्यतिखेर ढाँटेको होइन सर। तपाईंले कुरा गरेपछि यी सबै कहानीको सुरुवात भएर यो अवस्थामा पुगेका हौँ। चलचित्रको कथानक भन्दा ठुलो कहानी लुकेको छ पछि कुनै बेला भनौँला नि सर। यसमा तपाईँको पनि श्रेय छ,’ सोम सरले प्रतिउत्तर दिए।
‘दुई परिवार भेट भएको पहिलो दिन धुलिखेलको यही होटेलमा आजको रात बसेर मनाउनुपर्छ’ भन्ने प्रस्ताव सुलभले राखेसँगै दुवै परिवारका सबै सदस्य एकैपटक हाँस्छन्।
सुलभले अझै थपे, ‘बाबु छोराको थर पनि आजैदेखिबाट मिलाउनुपर्छ है।’ हाँसोको माहोल अझै बढ्दै थियो। यो संसारबाट अदृश्य भएको समीरको आत्माले पनि पक्कै यो दृश्य देखेर शान्ति पाएको हुनुपर्छ किनकि छोरो कसको भन्ने प्रश्नको उत्तर प्राप्त भएको थियो।
प्रकाशित: १७ श्रावण २०८२ ०८:३० शनिबार



-600x400.jpg)

