मुम्बईमा हालै भएको विद्यार्थी विरोध प्रदर्शनका क्रममा प्रहरी भ्यानको अगाडि उभिएर चर्चामा आएकी मोडेल तथा अभिनेत्री रिया अहिर (रिया अकोसिया) अहिले भारतसहित विश्वभर चर्चाको विषय बनेकी छिन्।
उनको यो साहसी कदमको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको बारेमा जान्न धेरैको चासो बढेको छ। २७ वर्षीया रिया मुम्बईको शिवाजी पार्क नजिकै पक्राउ परेका प्रदर्शनकारीहरू बोकेको प्रहरी भ्यानको अगाडि उभिएर तत्काल रिहाइको माग गरिरहेकी थिइन्।
घटनाको विवरण अनुसार दिउँसोको समयमा रिया शिवाजी पार्कतिर जाँदै थिइन्। प्रहरीले विद्यार्थी तथा प्रदर्शनकारीहरूलाई भ्यानमा राखेर लगिरहेको देखेपछि उनी दौडिएर भ्यानको अगाडि उभिइन्। उनले प्रहरीसँग बहस गरिन् र प्रदर्शनकारीहरूलाई छोड्न माग गरिन्।
एनडीटीभीलाई दिएको अन्तर्वार्तामा उनले भनिन्, ‘म कसैलाई चिन्थिनँ। तर प्रहरीको तरिका देखेर नागरिकको रूपमा आफ्नो कर्तव्य ठानेर अगाडि बढेकी हुँ। मेरो बुबाले राष्ट्रिय प्रतिज्ञा सिकाउनुभएको थियो, त्यसलाई बेवास्ता गर्न सकिनँ।’
उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘बच्चाहरूलाई भ्यानमा भर्यौ, अब कहाँ लैजान्छौ ?’
रिया अहिर इन्स्टाग्राममा रिया अकोसियाको नामले पनि चिनिन्छिन्। उनी एक अभिनेत्री, मोडेल, उद्यमी र होस्ट हुन्। उनी सामाजिक र राजनीतिक मुद्दाहरूमा खुलेर बोल्ने व्यक्तित्वको रूपमा पनि चिनिन्छिन्। उनले ‘रियासत’ नामको आफ्नै लक्जरी हस्तकला कपडा ब्रान्ड चलाउँछिन्। नृत्यप्रेमी रिया फेब्रुअरी २०२५ मा रिलिज भएको ‘दिलबरा’ लगायत धेरै संगीत भिडियोमा देखिएकी थिइन्।
यसबाहेक उनले ‘दिदी (अपराध र न्याय)’ नामक छोटो चलचित्रमा अभिनय गरेकी छिन्, जुन दुर्गम भारतीय गाउँमा आधारित सामाजिक नाटक हो। भाइरल घटनापछि उनको इन्स्टाग्राम फलोअर्स भारी मात्रामा बढेको छ। धेरैले उनलाई निडर महिला, साहसी नागरिक र प्रतिरोधको प्रतिक भनेर प्रशंसा गरेका छन्।
जारी विरोध प्रदर्शन परीक्षा प्रणालीको अनियमितता र विद्यार्थीहरूप्रतिको अन्यायविरुद्धको राष्ट्रिय आन्दोलनको एक भाग हो। भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै सोमबारदेखि दिल्लीको जन्तरमन्तरमा प्रदर्शन जारी छ। अब यसको दायर बढेर मुम्बई, पटनासहितका विभिन्न सहरसम्म पुगेको छ। भारतीय सञ्चारमाध्यमको सहयोगमा
प्रकाशित: ७ श्रावण २०८३ २०:५६ बिहीबार





