क्यान्जिङ गुम्बा (३,८९० मिटर) को नमस्ते गेस्ट हाउसबाट नास्ता खाएर निस्किँदा बिहानको पाँच बजेको छ। यो गाउँ रसुवाको उत्तरपूर्वी सीमावर्ती लाङटाङ पदमार्गको अन्तिम गन्तव्य हो। ढुंगा बिछ्याइएको बाटो तर्पया उक्लिएको छ। चौंरीको विराट खर्क अझै अँध्यारोमा लुकेको छ। नजिकै गुम्बा छैन तर जीवन जागिसकेको छ, घन्टीहरूको धुनमा। ती घन्टी याक, चौंरी र घोडाका घाँटी घाँटी झुन्डिएका रहेछन्।
क्यान्जिङ री जाने बाटो देब्रेपट्टि छ। बिस मिनेटपछि माथिल्लो बाटोको फलामे प्लेटमा ‘चेर्छोरी’ लेखिएको देखिन्छ। कसैले यसलाई च्यार्खुरी, च्याखुरी, सेर्गोरी वा सेर्कोरी भनेर अशुद्ध उच्चारण गरेको पाइन्छ।
त्यस्तै कतै ‘लाङटाङ’ लेखिएको छ, कतै ‘लामटाङ’। नामका यस्ता भिन्नता लाङटाङमा सामान्य छन्। एउटै गाउँको उचाइ पनि फरक फरक। लामा होटल २,४२० मिटर पनि छ, २,४८० मिटर पनि। यस्तो असमानताले यात्रुलाई कहिलेकाहीं अन्योल पार्छ। नाम र उचाइका मापनमा विभाग र स्थानीय जानकारको समन्वयमा एकरूपता ल्याउनु आवश्यक छ।
सूर्योदयको उज्यालो फैलिसकेको छ। हेडलाइटको आवश्यकता नपर्ने गरीकन। साढे पाँच बजेतिर बाटो ओरालो लाग्छ। याला चुलीतिरबाट आएको खोला (स्थानीय नाम छुबिछु) भेटिन्छ। परबाट झोलुंगे पुलजस्तो देखिए पनि त्यो खानेपानीको पाइप रहेछ। तलतिर खोलाका ढुंगाहरू नै खाँदिएर गोरेटो बनेको छ। दायाँतिर लाङटाङ खोला बगिरहेको छ। तल पुगेर यी दुई खोला मिल्छन्, जहाँको समथर सतहमा पानी तालझैं फैलिएको छ।
छुबिछु खोला तरेपछि बाटो पूर्वतिर मोडिन्छ। सभा ६ बजेतिर गाङछेम्पो चुलीको काँधमाथिबाट सूर्य उदाउँछ। त्यो सुनौलो किरणले हामीपछाडिको चाँदीजस्तो किमजुङ हिमाललाई सुनको स्तम्भमा परिणत गरिदियो। लाङटाङ लिरुङको सौन्दर्य अझै खुल्यो। क्यान्जिङ री चुलीले आफ्नो असली रूप देखायो। दायाँतिर गन्जला चुली, नयाँखाङ र उर्केमा चुली सब एकसाथ चम्किए। गाङछेम्पोको बायाँतिर दोर्जे लाक्पा गगन छेडुँलाझैं गरी उचालिएको छ।

भिरालो खर्कको गोरेटोमा तेर्सो यालाखर्क र उकालो चेर्को री जाने बाटो छुटिन्छ। डाँडाको बायाँतिर छुबिछु खोलासम्मको भिर डरलाग्दो छ। चार पाँच सय मिटरको बाँदर लड्ने भिर। दायाँतिर भिरालो खर्क। यसैको ढाड भएर उकालो तानिएको साँघुरो बाटोमा डोरिएका छाैं हामी। उचाइ बढेसँगै झाडीहरू झाङ बुट्यानमा रूपान्तरण भएका छन्। हावा शीतल र पारदर्शी छ। घाँसमा शीतका थोपा चम्किरहेका छन्। एक हुल चौंरीका बच्चा घाममा चर्न रमाइरहेका छन्। हामी पनि उनीहरूलाई बाधा नपुग्ने गरी सावधानीपूर्वक अघि बढ्छौं।
केही पर भिरालो खर्कमा झारलका बथान उफ्रिँदै उँधो झर्दै छन्। लाङटाङ लिरुङ, किमजुङ हिमाल, क्यान्जिङ री, पाल्दो री सबै नजिकिँदै आएका छन्।
सामुन्ने दोर्जे लाक्पा हिमाल हाँसेको छ। गाङछेम्पो र गन्जला चुली, नयाँखाङ चुली दायाँ सरेका छन् भने उर्केमा चुली/स्काउट चुली हाम्रो पछाडिपट्टि।
साढे सात बजे हामी चेर्को रीको हिउँको समानान्तरमा आइपुग्छौं। जुन हिजो मुन्दुबाट देख्दा मनास्लु पदमार्गको भेटिने अकटोपस झरना झरेजस्तो देखिएको थियो। त्यो हिम खण्ड अब हातैले छुन सकिएको छ। सवा आठतिर बाटो फेरि तेर्सो हुन्छ। २५/३० डिग्रीको उकालोमा हिउँ कुल्चँदै हिँड्दा गाङछेम्पो चुली माथिबाट आएको घामले शरीरको दायाँ पाखो तताउँदै छ।
बोटबिरुवाको नाममा बाँकी रहेका काँडे थेग्लाहरू पनि अब क्रमशः हराउँदै छन्। हावा पातलो, चिसो गहिरिँदै छ तर दृश्य झन् स्वप्निल, झन् नजिक हुँदै आएका हिम दृश्यहरूले उत्तिकै उत्साह भर्दै छन्। ठुलाठुला ढुंगा छिचोल्दै जब उकालो चढिन्छ, लाग्छ, यो त सगरमाथा आधारशिविरको खुम्बु हिउँ पहिरोको प्रतिरूप हो।

करिब १५ मिनेटको आरोहणपछि चेर्को रीको छेउ पुगिन्छ। अचानक भेटिएका हिउँका सेता थुप्राको उज्यालोले मन पगाल्छ। जहाँबाट दायाँतिर धकिलिएको हल्का उकालो बाटो सुरु भएसँगै बायाँतिरका हिमशृंखला हाराहारीमा देखिएका छन्।
नदीकिनारमा तारिने तोरणको झझल्को बोकेको छ, घोचोमा बेरिएका पञ्चरंगी ध्वजापतकाहरूले। जुन सेर्को रीको शिरसम्म नै तानिएका छन्। बिहान ९ बजे घमाइलो घाम लाग्दा सेर्को री शिखर (४,९८५ मिटर) मा लुंगदर (झन्डा) पनि फर्फराइरहेको थियो। जसलाई छुँदै बहेको पवित्र बतासको झोक्काले मभित्रका दूषित विचारलाई झार्दै थियो।
चारैतिर श्वेत रजतमय घेराबन्दीमा छु म अहिले। एउटै धुरीबाट पचासौं चुलीहरू तामाका मुना भएर टुसाएका छन्। आकाशले तिनलाई एकैसाथ अंकमाल गरिरहेको छ। हृदयमा एकाएक उमंग र उत्तेजनाको ज्वारभाटा उठ्दै छन्।
दृष्टि फैलाउँछु क्रमशः घडीको सुइअनुसार। सबैभन्दा बायाँ याला चुली (५,७३२ मिटर) पर्वतारोहण अभ्यासको प्रतीक बनेर पर्खिरहेको छ। त्यसपछिका गाङछेम्पो चुली (६,३८७ मिटर), दोर्जे लाक्पा (६,९६६ मिटर), गुर्कार्पोरी चुली (६,८९१ मिटर) र भैरव टाकुरो (६,७९९ मिटर) सबै आफ्नो आफ्नो प्रकाशमा स्थिर छन्। पर तिब्बततिर सिसापाङ्मा हिमाल (८,०२७ मिटर) ध्यानमग्न छ। दायाँतिर चम्किरहेछ, गन्जला चुली (५,९३० मिटर) र हिउँको बर्को ओढेर बसिरहेछ गन्जला पास।
अब म शब्दभन्दा पर छु। दृष्टि र आत्मा दुवै बिस्तारिएका छन्। सामु छ - कल्पनाभन्दा परको सौन्दर्य र चेतनाभन्दा परको स्पन्दन। जहाँ न श्रम बाँकी रह्यो, न मोक्षको प्रश्न। केवल एक मौन आरोहण थियो - बिनाशब्दको प्रार्थना।

दक्षिणको आकाशतिर आँखाले फेरि खोज्छ -शिल्पझैं निखारिएको नेकाङ/नयाँखाङ चुली (५,८४८ मिटर) र स्वप्नको सुनौलोपनमा टल्किरहेको उर्केमा चुली (५,८९० मिटर)। पश्चिमतिर क्यान्जिङ री (४,७७३ मिटर) पाल्दो री (५,८९६ मिटर) सँग प्रतिस्पर्धा गर्दै छ तर सबैभन्दा माथि लाङटाङ लेरुङ हिमाल (७,२३४ मिटर) शाश्वत नायकका रूपमा देखिएको छ। दायाँतिर किम्जुङ हिमाल (६,७४५ मिटर) पनि के कम? राजसी सौन्दर्यमा ठाटिएर प्रभुत्व जमाउन खोज्दै छ। जीवन्त लाग्छ किम्जुङ ग्ल्यासियर। उत्तरतिर भने मुकुट पहिरिएर उचालिएको युब्रा चुली (६०३५ मिटर) निलो आकाशमुनि मन्द मन्द मुस्कुराउँदै छ।
मैले आफूलाई बिर्सें। लगत्तै मेरो होस खुसीको उत्तेजनाका रूपमा फर्कियो। लाग्यो, म कुनै उच्चतर जीवनस्तरमा पुगेँ। सूर्यको दर्पणजस्ता टल्किएका अग्ला हिमशिखरहरू। निलो आकाशले कविता कोरेका तीन दृश्य थिए -प्रकाश, प्रेम र सत्यको स्वर्ग।
हिमालको निर्मलता चमत्कारजस्तै थियो। सूर्यको किरणले जब त्यसलाई छोएपछि पवित्रताले पनि स्थायित्व हासिल गरेजस्तो लाग्यो।
हाम्रो दृष्टि, सोच र आत्मा एकैपटक हिमालसरी अग्लिएझैं लाग्यो। अनि हामीभित्रका दरिद्रता, संकीर्णता, असमर्थता सब पग्लिएर हराएझैं भयो।
त्यो क्षण, नारायण गोपाल र अरुणा लामा स्वरबद्ध कालजयी गीत हृदयभरि गुन्जिन्छ। संगीत, हिमाल र उचाइको एउटै लयमा -‘हिमाल सरी म अग्लिरहेछु, समात समात मलाई’, ‘बादलसरि म पग्लिरहेछु, सम्हाल सम्हाल मलाई’।

हावा जोडसँग बहिरहेको छ तर हामी स्थिर छौं। झन्डै एक घण्टा एकै ठाउँमा उभिएर पनि अघाउन सकेनौं। हिमालको स्निग्धता यस्तो चिज रहेछ, जसलाई जति नियाले पनि अघाइँदैन। यही कारणले त होला, हजारौं माइल परबाट पनि पर्यटकहरू यस्ता गन्तव्यमा ओइरिन उत्सुक हुन्छन्।
प्रकाशित: ६ मंसिर २०८२ ०८:५४ शनिबार





