२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको दाबी : भारत र पाकिस्तानबिचको आणविक युद्ध रोकेर तीन करोड ५० लाखको ज्यान जोगाएँ

यी हुन् सम्बोधनका पाँच मुख्य बुँदा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संसद्‌मा ‘स्टेट अफ द युनियन’ सम्बोधन गरेका छन्। 

करिब दुई घण्टा लामो भाषणमा उनले इरान, गाजा युद्ध र भारत-पाकिस्तान सम्बन्धबारे धेरै विवादास्पद र ठूला दाबीहरू गरे। उनले आफू नभएको भए दक्षिण एसियामा ठूलो नरसंहार हुने खतरा भएको आशय समेत व्यक्त गरेका थिए।

यी हुन् ट्रम्पको सम्बोधनका पाँच मुख्य बुँदा

भारत-पाकिस्तान युद्धको दाबी 
ट्रम्पले भारत र पाकिस्तानबिचको सम्भावित आणविक युद्ध रोकेको दाबी फेरि दोहोर्‍याएका छन्। उनले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफलाई उद्धृत गर्दै भने, ‘दुई देशबिच आणविक युद्ध भएको भए तीन करोड ५० लाख मानिस मारिन सक्थे।’ भारतले यो दाबीलाई सधैं अस्वीकार गर्दै आएको छ। आफ्नो सम्बोधनको क्रममा ट्रम्पले अन्य देशहरूमा भएका द्वन्द्वहरूको पनि उल्लेख गरेका थिए। उनले आफ्नो कार्यकालको पहिलो १० महिनामा ‘आठ युद्ध समाप्त’ गरेको बताए।

इरानलाई कडा चेतावनी 
ट्रम्पले अमेरिकाले इरानको आणविक कार्यक्रम ध्वस्त पारेको कुरा पनि उल्लेख गरेका छन्। उनले इरानले युरोप र अमेरिकी सैन्य अड्डामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र बनाइरहेको भन्दै सतर्क रहन चेतावनी दिए। उनले भने, ‘मेरो प्राथमिकता कूटनीति मार्फत यो समस्या समाधान गर्नु हो। तर एउटा कुरा निश्चित छ। म विश्वको नम्बर एक आतंकवाद प्रायोजक देशलाई कहिल्यै पनि आणविक हतियार राख्न दिने छैन।’ उनले इरानमा धेरै प्रदर्शनकारी मारिएको आरोप पनि लगाए। 

गाजा युद्धविराम र बन्धक 
उनले इजरायल र हमासबिचको युद्धविरामलाई आफ्नो कार्यकालको सफलताको रूपमा प्रस्तुत गरेका छन्। साथै, सबै इजरायली बन्धकहरूलाई रिहा गरिएको कुरामा पनि श्रेय लिएका छन्।

भेनेजुएला प्रकरण 
सम्बोधनमा ट्रम्पले भेनेजुएलालाई अमेरिकाको नयाँ मित्र भन्दै प्रशंसा गरेका छन्। त्यहाँको तेल उत्पादन बढेको र त्यसले अमेरिकालाई फाइदा पुग्ने उनको दाबी छ। ट्रम्पले भने, ‘अमेरिकी तेल उत्पादन प्रति दिन ६० लाख ब्यारेलभन्दा बढीले बढेको छ। हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी तेल प्राप्त गरेका छौं।’ उनले महँगीका लागि विपक्षीलाई दोष दिए। आफ्नो नीतिका कारण तेल उत्पादन बढेको र मूल्य घटिरहेको तर्क उनको थियो।

व्यापार नीति 
ट्रम्पले नयाँ १५ प्रतिशत विश्वव्यापी शुल्क लगाएको कुरालाई पनि स्मरण गराएका छन्। उनले अदालतले केही शुल्क सम्बन्धी निर्णय उल्ट्याएको कुरालाई दुर्भाग्यपूर्ण बताए। हालै, सर्वोच्च अदालतले ट्रम्पको करहरू खारेज गर्दै ‘अवैध’ घोषित गरेको थियो। सरकारलाई नभएर अमेरिकी कांग्रेसलाई ती करहरू लगाउने अधिकार रहेको अदालतको ठहर थियो।  

ट्रम्पका अनुसार अदालतको निर्णयको बावजुद शुल्कहरू ‘पूर्ण रूपमा स्वीकृत र परीक्षण गरिएका वैकल्पिक कानुनी प्रावधानहरू अन्तर्गत’ रहनेछन्। तर त्यसो गर्न उनलाई कांग्रेसको समर्थन चाहिन्छ। सर्वोच्चको निर्णय पछि यदि कांग्रेसले अनुमोदन गरेन भने ट्रम्पले लगाएको १५ प्रतिशत कर १५० दिनमा समाप्त हुनेछ।

ट्रम्पको भाषणको जवाफ दिँदै डेमोक्र्याटिक पार्टीकी अबिगेल स्प्यानबर्गरले उनलाई रुस र चीनका अगाडि झुकेको आरोप लगाइन्। उनले भनिन्, ‘राष्ट्रपतिले आज आफ्नो सफलताको प्रचार गरे, तर उनले आर्थिक र प्राविधिक शक्ति रुसलाई सुम्पिने र पुटिनका अगाडि झुक्ने काम गरे। उनले सधैं झैँ झूट बोले र जनताको ध्यान भड्काउने कोसिस गरे।’

संसद्‌मा केही सांसदहरूले ट्रम्पको विरोधमा ‘रिलिज द फाइल्स’ लेखिएको ब्याच लगाएका थिए, जुन चर्चित यौन अपराधी जेफ्री एपस्टाइनसँग जोडिएको छ। ट्रम्पले आफ्नो पूरै भाषणमा एपस्टाइनको नाम कतै पनि उच्चारण गरेनन्।

राष्ट्रपति ट्रम्पले आफ्नो देश ‘पुनरागमन’गरिरहेको बताए। उनले आफ्नो सम्बोधनमा आफ्नो प्रशासनले अवैध आप्रवासन र सीमा पार गर्ने फेन्टानिललाई रोक्न प्रगति गरेको बताएका छन्। एजेन्सी 

प्रकाशित: १३ फाल्गुन २०८२ १७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App