१३ असार २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

ह्विल चियरकी प्रिताको तेस्रो कृति विमोचन

ह्विल चियरमै सिमित भक्तपुरकी प्रिता बल्लका कृतित्वमाथि केन्द्रित समीक्षासङ्ग्रह ‘कृतित्वका प्रतिविम्बमा प्रिता’ सार्वजनिक गरिएको छ । अनुशीलन नेपालद्वारा आयोजित एक भव्य साहित्यिक समारोहका बिच शनिबार नवोदित लेखिकाको तश्रो पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका साहित्यकार, शिक्षाविद्, समीक्षक तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

जीवनाथ अधिकारीको सम्पादनमा प्रकाशित समीक्षासङ्ग्रहमा लेखिका प्रिता बल्लका ‘अविचलित पाइला’ (दैनन्दिनीसङ्ग्रह) र ‘एकालाप ऋतुहरू’ (कवितासङ्ग्रह) माथि आठ जना समीक्षकले तयार पारेका विस्तृत समालोचनात्मक लेखहरू समावेश गरिएका छन्। कृतिले प्रिता बल्लको व्यक्तित्व, सिर्जना, भाषिक शैली, वैचारिक धरातल तथा साहित्यिक योगदानलाई बहुआयामिक रूपमा उजागर गरेको सम्पादकको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति भूपाल राईले कृतिको लोकार्पण गर्दै प्रिता बल्लको अदम्य सिर्जनशीलताको मुक्तकण्ठले प्रशंसा गरे । उनले मस्तिष्क पक्षघातजस्तो कठिन शारीरिक अवस्थासँग सङ्घर्ष गरिरहेकी प्रिताले आफ्नो अद्वितीय लेखनशक्तिद्वारा नेपाली साहित्यमा छुट्टै पहिचान बनाएको उल्लेख गरे ।

प्रमुख अतिथि राईले प्रिता बल्ल एउटा परिवार, एउटा टोल वा भक्तपुरकी मात्र स्रष्टा होइनन्, उनी सम्पूर्ण नेपाली वाङ्मयकी प्रेरणादायी प्रतिभा भएका बताए । शारीरिक सीमितता हुँदाहुँदै पनि मानसिक दृढता, सिर्जनात्मक क्षमता र साहित्यप्रतिको समर्पणले उनी सबैका लागि उदाहरण बनेकी उनको भनार्य छ ।

उनले शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरू मात्र होइन, उनीहरूका अभिभावकले समेत प्रिताबाट प्रेरणा लिनुपर्ने धारणा व्यक्त गरे । प्रिताका कृतिहरूमा असाधारण मानसिक शक्ति, जीवनप्रतिको सकारात्मक दृष्टिकोण तथा सिर्जनशील चेतना झल्किएको उल्लेख गर्दै उनले परिवार, अनुशीलन नेपाल तथा सम्पादक जीवनाथ अधिकारीको सत्प्रयासका कारण प्रिताको प्रतिभाले अझ सशक्त अभिव्यक्ति पाएको बताए । आगामी दिनमा पनि प्रिताका नयाँ–नयाँ कृतिहरू पढ्न पाइने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रम ध्रुवप्रसाद बल्लको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा अनुशीलन नेपालका सचिव नेत्र घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्दै अनुशीलन नेपालले साहित्यिक प्रतिभाको खोज, संरक्षण र प्रवद्र्धनलाई आफ्नो मूल उद्देश्य बनाएको उल्लेख गरे । उनले यस्ता प्रकाशनले नयाँ पुस्ताका स्रष्टालाई थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अनुशीलन नेपालकी उपाध्यक्ष टीका श्रेष्ठ र रजनी कर्माचार्यले प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथिहरूलाई खादा अर्पण गरी सम्मान गरिएको थियो ।

अनुशीलन नेपालका अध्यक्ष तथा समीक्षासङ्ग्रहका सम्पादक जीवनाथ अधिकारीले कृतिको परिचय दिँदै यस सङ्ग्रहमा समावेश भएका समीक्षात्मक लेखहरूले प्रिता बल्लको व्यक्तित्व र कृतित्वका विविध आयामलाई गहिरो रूपमा उद्घाटन गरेको बताए । उनले प्रिताको लेखनमा मौलिकता, भावगाम्भीर्य, कल्पनाशीलता, जीवनबोध तथा भाषिक सौन्दर्यको सशक्त उपस्थिति रहेको चर्चा गरे । प्रिताको सिर्जनशील यात्रालाई अभिलेखीकरण गर्दै भविष्यका अध्येताका लागि उपयोगी सामग्री तयार गर्ने उद्देश्यले यो समीक्षासङ्ग्रह प्रकाशित गरिएको उनको भनाइ थियो।

शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा समीक्षक डा. सीता सुवेदी, महेन्द्रगोपाल कर्माचार्य तथा दीपक नेपालले प्रिता बल्लका कृतिहरूका विविध साहित्यिक पक्षहरूको विश्लेषण गरे। उनीहरूले प्रिताको लेखनमा जीवनप्रतिको आशावाद, संवेदनशीलता, आत्मबल, प्रकृतिप्रेम तथा मानवीय भावनाको सुन्दर अभिव्यक्ति रहेको उल्लेख गर्दै उनका सिर्जनाले नेपाली साहित्यमा नयाँ ऊर्जा थपेको धारणा व्यक्त गरे ।

त्यसैगरी विशिष्ट गजलकार रवि प्राञ्जल, एभरेस्ट इङ्लिस स्कुलका प्रिन्सिपल भक्त राजभण्डारी, कवि चन्द्रलाल भोमीलगायतका वक्ताहरूले पनि शुभकामना व्यक्त गर्दै प्रिता बल्लको सिर्जनशीलताको प्रशंसा गरे । कार्यक्रममा चन्द्रलाल भोमीले प्रिताको कविता, रवि प्राञ्जलले गजल तथा दीपक नेपालले जीवनाथ अधिकारीलिखित ‘प्रिता’ शीर्षकको कवितासमेत वाचन गरी साहित्यिक वातावरणलाई अझ जीवन्त बनाएका थिए ।

समारोहको सञ्चालन निष्ठा बल्लले गरेकी थिइन् । कार्यक्रमको अन्त्यमा कृतज्ञताज्ञापन गर्दै लेखिका प्रिता बल्लकातर्फबाट उनका पिता पवन बल्लले पुस्तक प्रकाशन तथा समारोह सम्पन्न गर्न प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्व तथा संस्थाप्रति हार्दिक धन्यवाद ज्ञापन गरे । उनले प्रिताको साहित्यिक यात्रामा साथ दिने सबैप्रति परिवार सधैँ ऋणी रहने बताए ।

‘कृतित्वका प्रतिविम्बमा प्रिता’ शीर्षकको उक्त समीक्षासङ्ग्रहमा प्रा.डा. हिरण्यलाल ज्ञवाली, डा. सीता सुवेदी, जीवनाथ अधिकारी, कविराज घिमिरे, ध्रुव मधिकर्मी, महेन्द्रगोपाल कर्माचार्य, दीपक नेपाल तथा निष्ठा बल्लका समीक्षात्मक लेखहरू समावेश गरिएका छन्। यी लेखहरूले प्रिता बल्लका दुवै कृतिको साहित्यिक, भाषिक, वैचारिक तथा कलात्मक पक्षको विस्तृत विश्लेषण प्रस्तुत गरेका छन्।

कार्यक्रममा करिब एक सय जना साहित्यकार, शिक्षक, विद्यार्थी, साहित्यप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता साहित्यिक कार्यक्रमले नवोदित स्रष्टाहरूलाई प्रोत्साहन मिल्ने, समालोचनात्मक परम्पराको विकास हुने तथा नेपाली साहित्यलाई नयाँ दिशा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।

अनुशीलन नेपालले पछिल्ला वर्षहरूमा साहित्यिक सिर्जना, अनुसन्धान, समालोचना तथा पुस्तक प्रकाशनका क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यसै क्रमको महत्त्वपूर्ण उपलब्धिका रूपमा सार्वजनिक गरिएको ‘कृतित्वका प्रतिविम्बमा प्रिता’ समीक्षासङ्ग्रहले नेपाली समालोचना साहित्यमा थप एक महत्त्वपूर्ण कडी जोड्ने अपेक्षा गरिएको आयोजकले जनाएका छन्।

प्रकाशित: १३ असार २०८३ २०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App