पछिल्लो समय सामाजिक सञ्जालमा आफ्ना निजी मेसेजहरूको स्क्रिनसट भाइरल भएपछि चर्चित गायक सुजन चापागाईले औपचारिक स्पष्टीकरण दिएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै उनले भाइरल सामग्रीहरूप्रति दुःख व्यक्त गरेका हुन्।
साङ्गीतिक भ्रमणका सिलसिलामा हाल अस्ट्रेलियामा रहेका गायक चापागाईले विगतमा आफूले नजिक ठानेका साथीहरूसँग मेसेज आदानप्रदान गरेको कुरा सत्य भएको स्वीकार गरेका छन्।
उनले ती मेसेजहरूका कारण सिर्जित दुःखद परिस्थितिका लागि अन्तरहृदयदेखि नै माफी मागेका छन्। यद्यपि, अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएका सबै सामग्रीहरूबारे भने आफू अनभिज्ञ रहेको उनको जिकिर छ।
आफ्नो सामाजिक सञ्जाल व्यवस्थापनमा देखिएको कमजोरीलाई मुख्य कारण मान्दै उनले विज्ञप्तिमा लेखेका छन्, ‘मेरो सामाजिक मिडिया मैले मात्र ह्यान्डल गर्न सम्भव नभएकाले विभिन्न कालखण्डमा सामाजिक मिडिया म्यानेजरहरूले म्यानेज गर्ने गरेको र सोही समयमा कतै दुरुपयोग भयो कि भन्ने मेरो प्रारम्भिक अनुमान छ।’
उनले आफ्नो नाममा धेरै नक्कली अकाउन्टहरू समेत सक्रिय रहेको दाबी गरेका छन्।
उनले यस्ता कार्यविरुद्ध आवश्यक छानबिन प्रक्रिया सुरु गरिसकेको र नेपाल फर्किएलगत्तै कानुनी उपचार खोज्ने बताएका छन्।
आफ्ना दर्शक, परिवार र शुभेच्छुकहरूप्रति प्रतिवद्धता जनाउँदै गायक चापागाईले आगामी दिनमा यस्ता विषयहरूमा आत्मसमीक्षा गर्ने बताए। उनले भनेका छन्, ‘आगामी दिनमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साक्षरतालाई थप बलियो बनाउनेछु। हजुरहरूले गर्नुभएको विश्वासलाई गुम्न दिने छैन।’
हेर्नुहोस् विज्ञप्ति-

प्रकाशित: १३ असार २०८३ १९:४० शनिबार





