१३ श्रावण २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

‘पहिला म’ होइन, ‘पहिला तिमी’ भन्ने भावना विकास गर्नुपर्छ : महानायक हमाल

महानायक राजेश हमालले सडक व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन आम नागरिकको मानसिकता बदल्नु अपरिहार्य रहेको बताएका छन्।

मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ट्राफिक व्यवस्थापनलाई केवल प्रहरीको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्वको रूपमा लिनुपर्नेमा जोड दिएका हुन्। सडकमा देखिने मुख्य समस्याको चर्चा गर्दै हमालले ‘पहिला म, पहिला म’ भन्नुभन्दा ‘पहिला तिमी, पहिला तिमी’ भन्ने भावनाको विकास गर्नुपर्नेमा जोड दिए। 

सवारीसाधन चलाउँदा वा सडकमा हिँड्दा धेरै मानिसमा हतारो र हडबडी देखिने गरेको उल्लेख गर्दै हमालले भने, ‘यदि हामीले आफ्नो मनोविज्ञानमा पहिला म भन्न छोडेर पहिला तिमी भन्न थाल्यौँ भने सडक व्यवस्थापनमा धेरै सहजता आउँछ।’ उनका अनुसार ‘पहिला तिमी’ भन्दा यो पालो केवल अर्को व्यक्तिको मात्र नभएर सबैको पालो आउने र मानिसहरू एकै ठाउँमा गएर जाम गर्ने अवस्थाबाट बच्न सकिन्छ।

सडकको भौतिक विस्तार वा चौडा गर्नु मात्र सडक व्यवस्थापनको दिगो उपाय नभएको हमालको भनाइ छ। उनले नेपालका भन्दा साँघुरा बाटोहरू भएका धेरै राष्ट्रहरूमा पनि सवारीसाधनहरू सुचारु र व्यवस्थित रूपमा चलेको उदाहरण दिँदै, यसको मुख्य कारण त्यहाँको बलियो र सही व्यवस्थापन रहेको बताए। हमालका अनुसार यातायातको मुख्य जिम्मेवारी र चासोको विषय यसको व्यवस्थापनलाई नै चुस्त र दुरुस्त राख्नु हो।

सो अवसरमा हमालले ट्राफिक प्रहरीले आफ्नो कार्यकुशलता देखाउनुका साथै नागरिकहरूलाई नियमकानुन बुझाउनुपर्ने कर्तव्य रहेको बताए। त्यसैगरी, प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी बहन नगरेसम्म ट्राफिक व्यवस्थापन सुचारु हुन नसक्ने उनको जिकिर थियो। यदि सबैले सही ढंगले नियम मानेर हिँडेमा यो कुनै एक पक्षको मात्र नभई बाटो प्रयोग गर्ने आम नागरिक र ट्राफिक प्रहरी दुवैको साझा जित हुने हमालले बताए।

प्रकाशित: ८ श्रावण २०८३ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App