२६ असार २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

अनुपम सौन्दर्य

कविता

तिमी आउँदा

वसन्तले ऋतुको परिभाषा फेरिदिन्छ

हावाले सुगन्धको नयाँ व्याकरण सिक्छ

र आकाशले नीलो हुनुको कारण सम्झिन्छ।

तिम्रो मुस्कान

शब्दकोशमा नभएको उपमा हो,

जहाँ मौनता नै

सबैभन्दा मीठो वाक्य बन्छ।

तिम्रा नयन हेर्दा

नदीहरू बग्न लाज मान्छन्,

चन्द्रमा आफ्नो उज्यालो

तिम्रो अनुहारसँग तुलना गर्न डराउँछ।

अोठको कुनामा अडिएको त्यो हल्का हाँसो,

मानौं कविता हो

जुन पढेपछि

दोहोर्याएर पढ्न मन लाग्छ।

तिमी बोल्दा

शब्दहरू शुध्द हुन्छन् 

भावहरू अनुशासित

र मन- पूर्णत पराजित।

तिम्रो स्पर्श  

केवल छालासम्म सीमित हुँदैन

त्यो आत्मासम्म पुगेर

संवेदनाको दीप जलाउँछ।

म तिमीलाई प्रेम गर्दिन

म तिमीलाई अनुभव गर्छु

जहाँ प्रेम

कुनै एक भावना होइन

पूरै साहित्य बन्छ।

यदि सौन्दर्य प्रतियोगिता हुन्थ्यो भने,

तिमी केवल सहभागी होइन

मापदण्ड हुन्थ्यौ।

यदि म हारे भने पनि

गुनासो छैन,

किनकि

तिमीप्रति हार्नु

सबैभन्दा सुन्दर विजय हो।

प्रकाशित: २६ असार २०८३ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App