नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै हुने लागुऔषध तस्करी नियन्त्रण गर्न मधेस प्रदेश प्रहरीका लागि गम्भीर सुरक्षा चुनौती बनेको छ। सीमावर्ती भारतबाट ब्राउन सुगर, ट्रामाडोल, कोरेक्स लगायत विभिन्न किसिमका प्रतिबन्धित औषधी र नेपालबाट गाँजा, चरेसको अवैध कारोबार गर्न सीमापार सक्रिय गिरोहको संलग्नता बढ्दै गएपछि मधेस प्रदेश प्रहरीले असारको पहिलो सातादेखि नै ‘जिरो टोलरेन्स’ रणनीति अपनाउँदै आक्रामक नियन्त्रण अभियान सञ्चालन गरेको पाइएको छ।
प्रहरीले पछिल्ला दुई सातामा सिरहा, महोत्तरी र पर्सा जिल्लामा भएका चार ठुला कारबाहीले लागुऔषध तस्करीको सञ्जाल कति संगठित र हिंसात्मक बन्दै गएको छ भन्ने स्पष्ट भएको छ। लागुऔषध कारोबारी पक्राउबाट बच्न प्रहरीमाथि नै गोली प्रहार गर्नेसम्मको दुस्साहस देखाउन थालेपछि प्रहरीले पनि कानुनअनुसार बल प्रयोग गर्दै नियन्त्रण अभियानलाई थप कडा पारेको छ। दुई सातामै ६२ जना कारोबारी पक्राउ गरी उनीहरूका साथबाट सयौं किलो गाँजा, ब्राउन सुगर र १ लाख २० हजारभन्दा बढी ट्रामाडोल बरामद गरेका छन्।
महोत्तरी प्रहरीले असार २१ गते ४८७ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित दुईजनालाई नियन्त्रणमा लियो। महोत्तरीको एकडारा गाउँपालिका– १ भटोलियास्थित ना ३ ख ६५९२ नम्बरको ट्रक जाँच गर्ने क्रममा प्लास्टिकमा प्याक गरिएको ४०.३६० किलोग्राम गाँजा फेला परेको थियो।
गाँजासहित फेला परेको ट्रक र त्यसमा सवार दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउँदै जाँदा ट्रकचालकले दिएको बयानका आधारमा धनकुटाबाट ल्याइएको गाँजा महोत्तरीमा एकजनालाई दिएर आएको बताएका थिए। त्यसपछि प्रहरीले अनुसन्धान तीव्र बनायो।
ट्रक चालकले दिएको बयानका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेको नेतृत्वमा खटिएको टोलीले महोत्तरी गाउँपालिका– ४ रानी रतवाडास्थित एक घरमा छापा मार्ने क्रममा घरभित्र लुकाइराखिएको ३५ वटा प्लास्टिक बोरामा करिब ४४६.७४५ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ।
ट्रकबाट बरामद भएको ४०.३६० किलोग्राम र घरबाट बरामद भएको ४४६.७४५ किलोग्राम गरी प्रहरीले कुल ४८७ किलो १०५ ग्राम गाँजासहित ट्रकचालक मकवानपुरको कैलाश गाउँपालिका– ६ का २२ वर्षीय विपस नेगी र काठमाडौं महानगरपालिका– १ का २४ वर्षीय साधुराम खड्कालाई नियन्त्रणमा लिइएको छ।
यस्तै असार १९ गते सिरहाको नवराजपुर गाउँपालिका– ५ झाझपट्टीस्थित नेपाल–भारत सीमामा भारतबाट दुईवटा मोटरसाइकलमा ब्राउन सुगर लिएर नेपाल प्रवेश गरिरहेका गोप्य सूचनाका आधारमा प्रहरीले उक्त मोटरसाइकललाई रोक्न खोज्दा एउटा मोटरसाइकलका चालक–सवार फरार भए भने बिआर ३२ एआर ६०२४ नम्बरको मोटरसाइकलमा रहेका व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा तस्करले कटुवा पेस्तोलबाट प्रहरीमाथि एक राउन्ड गोली प्रहार गर्यो।
आत्मरक्षाका लागि प्रहरीले दुई राउन्ड जवाफी फायर गर्दा भारतको बिहार राज्य मधुबनी जिल्ला बिरपुर ग्राम पञ्चायत– ३ निवासी ३५ वर्षीय अब्दुल कलामको बायाँ खुट्टामा गोली लागेको थियो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर उनको साथबाट एक थान कटुवा पेस्तोल र प्लास्टिकसहित १२२ ग्राम आठ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेका छन्।
त्यस्तै गत असार ७ मा सिरहा नगरपालिका– २१ लकडीगोठनजिक लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोली र लागुऔषध कारोबारी समूहबिच झडप भएको थियो। झडपपछि प्रहरीले गोली चलाउँदा भारतको मधुबनी जिल्ला पदमाहा ग्राम पञ्चायत– २ निवासी २८ वर्षीय रञ्जितकुमार पासवान (छोटु) र १७ वर्षीय रमनकुमार पासवान पक्राउ परेका थिए।
घटनामा इलाका प्रहरी कार्यालय महेशपुर पतारमा कार्यरत प्रहरी जवान हृदयनारायण ठाकुर पनि लागुऔषध कारोबारीको आक्रमणबाट घाइते भएका थिए। पक्राउ परेका दुवैजनाको साथबाट ९२ ग्राम तीन सय मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।
यसैगरी गत असार ९ मा पर्सामा भएको अर्को कारबाहीले लागुऔषध तस्करीको नयाँ स्वरूप उजागर गरेको छ। वीरगन्जस्थित पिआर ढुवानी सेवाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३३४६ नम्बरको मालवाहक ट्रकलाई पर्सा प्रहरीले राजस्व छलीको आशंकामा नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो। त्यहाँ गरिएको विस्तृत चेकजाँचका क्रममा ट्रकबाट ट्रामाडोलका १२ हजार पत्ता अर्थात् करिब एक लाख २० हजार ट्याब्लेट बरामद भएपछि घटना लागुऔषध तस्करीसँग जोडिएको खुलेको थियो।
यी चार घटना पछिल्ला दिनमा भएका प्रहरी कारबाहीका उदाहरण मात्र हुन्। असारको पहिलो सातादेखि नै मधेस प्रदेश प्रहरी पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा विशेष अपरेसन सञ्चालन गर्दै लागुऔषध कारोबारमा संलग्न ६१ जनालाई नियन्त्रणा लिएको मधेस प्रदेशका प्रहरी प्रवक्ता एसएसपी प्रभु ढकालले बताए।
खुला सीमानाकाको फाइदा उठाउँदै भारतीय सीमावर्ती क्षेत्रबाट नेपालमा लागुऔषध भित्र्याउने र त्यसलाई काठमाडौंसहित विभिन्न जिल्लामा पुर्याउने संगठित सञ्जाल सक्रिय छ। त्यसैले सीमा निगरानी, गोप्य सूचना परिचालन, संयुक्त अपरेसन र आकस्मिक चेकजाँचलाई थप प्रभावकारी बनाइएको एसएसपी ढकालले बताए। लागुऔषधविरुद्ध ‘जिरो टोलरेन्स’ नीति अपनाइएको बताउँदै एसएसपी ढकालले तस्करीमा संलग्न व्यक्तिको गिरोह र तिनको सञ्जाल पहिचान गरी कानुनी दायरामा ल्याउने अभियानलाई अझ प्रभावकारी बनाइएको बताए।
प्रकाशित: २६ असार २०८३ ०९:२७ शुक्रबार





