‘नमस्कार!’ आवाज सुनेँ। आवाजले मलाई नै संकेत गरेको थियो।
प्रज्ञाप्रतिष्ठानको हाताबाट बाहिरिन म गेटतिर हान्निदै थिएँ। सादा पोसाकमा एक अधबैँसे पुरूष मेरो अघिल्तिर दुई हात जोडेर ठिङ्ग उभिनुभएको थियो।
अकमकाउँदै मैले भनेँ, ‘न..म..स्कार ! मलाई चिन्नै गाह्रो भयो।’
परिस्थिति सहज बनाउँदै उहाँले भन्नुभयो, ‘तपाईं हाम्रो लघुकथा केन्द्रसँग आबद्ध साहित्यकार हो नि! म राम्रोसँग चिन्छु। तपाईका लघुकथा मैले सामाजिक सञ्जालमा प्रशस्तै पढने गरेको छु।’
अनुहार खुट्याउन नसके पनि नामबाट चिन्छु कि भन्ने लागेर मैले उहाँको नाम सोधेँ।
उहाँले हाँस्दै भन्नुभयो, ‘म कलाबहादुर महर्जन हुँ।’
मैले ठट्टा गर्दै सोधेँ, ‘नामले मात्र कला हो कि, कामले पनि?
उहाँले गर्व गर्दै भन्नुभयो, ‘मेरो नाम र काममा तालमेल छ। म कलाकार हुँ। मिथिला कलाको उत्थानमा नयाँ नयाँ अनुसन्धान गर्दै छु तर ... !’ उहाँको बोली रोकियो।
मैले जिज्ञासा पोखेँ, ‘ के तर?’
अफसोस मान्दै उहाँले व्यथा पोख्नुभयो, ‘मिथिला कला र यसको उदगमस्थलबारे अनुसन्धान गरेर नयाँनयाँ कुरा पत्ता लगाएको छु। मेरा कर्मका गौरवगाथा बाहिर ल्याएर राष्ट्रको शिर उँचो पार्न चाहान्छु तर मेरा कुरा राष्ट्रका प्राज्ञिक व्यक्तित्वले समेत सुनेनन्।’
मैले ढाढस दिएँ, ‘परिश्रमको फल मीठो हुन्छ, नथाक्नुहोस्।’
‘प्रज्ञाको यसै डबलीमा आशावादी भएर तपाईँजस्ता धेरै साहित्यकार र कलाकर्मीहरूसंग आफ्नो इच्छाको भिख मागिरहेको छु।’ भन्दै उहाँ छुट्टिनुभयो।
मेरो मनमा प्रश्न खेल्यो, ‘विकासको नाउँमा सानो पुल बनाउँदा पनि ठूलो हल्ला हुने मेरो देशमा कलाकारको गौरवगाथा किन नसुनिएको होला?’
प्रकाशित: २० मंसिर २०८२ ०९:३४ शनिबार





