कवि दीपक चौलागाईंको कवितासङ्ग्रह ‘हतारमा छन् यात्रीहरू’ को लोकार्पण भएको छ।
राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा प्राज्ञ श्रवण मुकारुङ, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, कवि छविरमण सिलवाल, कवि मणि लोहनी, कवि शकुन्तला जोशी र लेखक दीपक चौलागाईंले गरे।
स्रष्टा पूर्णबहादुर श्रेष्ठले उपस्थित जनलाई शब्द मार्फत स्वागत गरेका थिए।
कार्यक्रममा प्राज्ञ मुकारुङले प्रमुख अतिथिको मन्तव्य राख्दै कविताबारे चर्चा गर्दै भने, ‘हाम्रा सिर्जना भनेको कहिल्यै पूर्ण नहुने चिज हो। यो सगरमाथा आरोहण गरेपछि पूर्ण भइजाने एउटा यात्रा हैन। यो यस्तो यात्रा हो कि आफैंले निर्माण गरेको यात्रालाई जीवन रहेसम्म स्रष्टा आफैँले नाघ्दैनाघ्दै नयाँनयाँ पर्वत चढिरहने हो।’
उनले अगाडि भने, ‘कविता मलाई अध्यात्म जस्तो लाग्छ, अध्यात्म अर्थात् आत्माको विज्ञान। यी दुई दर्शन अन्तरसम्बन्धित छन्। अध्यात्म छ र भौतिक विज्ञानबारे बहस गर्न सक्छौं, भौतिक विज्ञानको विकास भयो र हामी अध्यात्मको पनि छलफल गर्न सक्छौं। दीपकका कवितामा यी दुवै दर्शनका अन्तरघुलित प्रतिबिम्ब प्रयोग छन् र कविता शक्तिशाली तथा मिठोबाेध हुन्छ । भौतिक विज्ञानको अनेक खोज र ज्ञानलाई कविताको इलिमेन्ट्सका रूपमा उहाँको प्रयोगले नेपाली कविताको क्षेत्रमा पाठकले फरक शैलीको कविता पाएका छन्।’
कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै कवि मणि लोहनीले चौलागाईका अनुभवले खारिएका कविता नेपाली पाठकले पाएको बताए। वर्तमानको साक्षी बोल्ने कवितामा मृत्युचेतबारे निकै मिठो बिम्ब सँगालिएको पनि उनले उल्लेख गरे।
उनले भने, ‘एउटा अनुभवी कविको नयाँ तर शक्तिशाली कवितासंग्रह हो - हतारमा छन् यात्रीहरू। विज्ञान र जीवन जोडेर लेखिएका यसभित्रका कविताहरूले आम नेपालीको संवेदना प्रष्ट्याएको छ।’
कवितामाथि टिप्पणी गर्दै कवि शकुन्तला जोशीले पूर्वीय वैदिक दर्शन, द्वन्द्वात्मक भौतिकवादी दर्शनचेत हुँदै भौतिक विज्ञानको खासगरी क्वान्टम सिद्धान्त जस्तो सूक्ष्म विज्ञानको गहिरो र दुर्लभ बुझाइको सरल प्रयोग भएको बताइन्। ‘ब्रम्हाण्ड र जीवन जगत हेर्ने भिन्न तर समरूपका वैश्विक दार्शनिक क्यान्भासमा कविता लेख्नु कवि चौलागाईको विशिष्ट काव्विक क्षमता भएको हो। नेपाली कविताका पाठकमाझ ‘हतारमा छन् यात्रीहरू’ कृतिले इन्द्रेनी जस्तो सौन्दर्यसहितको नविन शैली पस्केको छ।’
कार्यक्रममा निबन्धकार श्रीओम श्रेष्ठ रोदनले जीवनका विभिन्न आयाम र भौतिक विज्ञानलाई समेत यस्तो सरल शैलीमा कविता लेख्नु कविको उत्कृष्ट काव्यशैली भएको बताए।
कविताप्रतिको प्रेमकै कारण प्रतिष्ठानले स्थापनाको एक वर्ष नपुग्दै चार कविता कृति प्रकाशित गरेको संस्थाका अध्यक्ष छविरमण सिलवालले बताए।
कवि तथा आफ्ना गुरुसमेत रहेका चौलागाईका कवितामा सुनकोशी र रोशीको सांस्कृतिक बिम्ब रहेको निबन्धकार प्रदीप सापकोटाले बताए।
कार्यक्रममा कवि डाअनन्त अधिकारी र रुपा रिसालले लोकार्पित संग्रहबाट कविता वाचन गरेका थिए।
समालाेचक प्रदीप सापकोटाले सहजीकरण गरेकाे कार्यक्रममा कविका गुरु पूर्व क्याम्पस प्रमुख चूडाप्रसाद चौलागाई, राधेश्याम लेकाली, प्रमोद प्रधान, शंकर भारती, पवन आलोक, वसन्तराज अज्ञात, लक्ष्मी रुम्बा, तुलसीहरि कोइराला लगायतको सहभागिता रहेकाे थियाे।
६ खण्डमा विभक्त ३८ कविता सङ्गृहीत कृतिलाई सुनकोशी वाङमय प्रतिष्ठानले प्रकाशन गरेको हो।
प्रकाशित: २८ माघ २०८२ ०८:०८ बुधबार





