बलिउड सिनेमा ‘बेबी डु डाइ डु’ नेपालमा प्रदर्शन हुने भएको छ। सिनेमा यही आगामी जुलाई ३ अर्थात् असार १९ गतेदेखि नेपालमा प्रदर्शन हुन लागेको हो।
सिनेमाका कलाकारले प्रचारप्रसारको क्रममा नेपालमा पनि एकसाथ प्रदर्शन हुन लागेको जानकारी दिएका हुन्। कलाकार हुमा कुरेशी र चंकी पाण्डेले एक भिडियोमार्फत सिनेमा नेपालमा प्रदर्शन हुन लागेको र टिकट बुकिङ खुलिसकेको जानकारी दिएका छन्।
साकिब सलीमले निर्माण गरेको सिनेमा सिंहदेवी प्रोडक्सनले नेपालमा वितरण गर्न लागेको हो। केही हलमा सिनेमाको टिकट बुकिङ खुलाइएको छ। देशकै ठूलो मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमाजले राइजिङ मल, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल र सिटी स्क्वायर मलमा सो खुलाएको छ।
एक्सन र थ्रिलर जनरामा बनेको सिनेमाका निर्देशक नचिकेत सामन्त हुन्। निर्माण टिमका अनुसार सिनेमा बेबी नामकी एक रहस्यमय महिलाको कथामा आधारित छ। उनी बाहिरबाट साधारण जीवन जिउँछिन् तर भित्रभित्रै उनी अन्डरवर्ल्डसँग जोडिएर हिंसात्मक र खतरानाक आपराधिक क्रियाकलापमा सहभागि हुन्छिन्।
ट्रेलरमा उनलाई एक हिटवुमनको रूपमा देखाइएको छ। विगतको एक दर्दनाक घटनाको कारण उनी अपराध, बदला र मानसिक द्वन्द्वको चक्रमा फसिरहेको देखिन्छ। समग्रमा सिनेमाको कथा रहस्य, सस्पेन्स, एक्सन र अप्रत्याशित ट्विस्टहरूले भरिएको निर्माण टिमको दाबी छ।
सिनेमामा हुमा कुरेशी, सिकन्दर खेर, चंकी पाण्डे, सीमा पाहवा, रचित सिंह, विद्या मालवडे, हिमांशु मलिक, मरुधर शेखावत र अरुण कुशवाह लगायत कलाकारको अभिनय छ।
प्रकाशित: १८ असार २०८३ १३:३५ बिहीबार





