स्पेनका राजारानीको सहयोगमा यात्रा गर्दै सन् १४९२ मा इटालीका साहसी नाविक क्रिस्टोफर कोलम्बसले अमेरिकाको भूमि पत्ता लगाएको मानिन्छ। उनले अमेरिका पत्ता लगाउनुभन्दा हजारौं वर्षअघिदेखि नै अमेरिकामा आदिवासी रेड इन्डियनहरू बसोबास गर्दै आएको इतिहास छ। विभिन्न कालखण्डमा अमेरिका बेलायतको उपनिवेश बनेको थियो। त्यसबाट उन्मुक्ति दिलाउन वैज्ञानिक बेन्जामिन फ्य्रांकलिनको महत्त्वपूर्ण भमिका रह्यो। जसलाई अमेरिकाको संस्थापक पिताहरूमध्ये एक मानिन्छ। तिनै बेन्जामिन फ्य्रांकलिन जन्मिनुभन्दा अगाडि नै नेपालको ऐतिहासिक राज्य भक्तपुरमा दोलाजी प्रथाबाट राजा भएका भूपतीन्द्र मल्लले अद्वितीय संरचना निर्माणको परिकल्पनालाई ६ महिनामै मूर्त रूप दिएको मानिन्छ– ङातापोल मन्दिर।
ङातापोल्हँको बुँसादा
ङातापोल्हँ / न्यातापोल मन्दिरको जन्मदिन आषाढ शुक्ल प्रतिपदाका दिन मनाइन्छ। यस दिनलाई स्थानीय भाषामा ‘ङातापोल्हँ द्यः या बुँसादा’ भनिन्छ। मन्दिरको निर्माण भूपतीन्द्र मल्लको पालामा नेपाल संवत् ८२२ को आषाढ शुक्ल प्रतिपदा दिन सम्पन्न भएको मानिन्छ र त्यसैको सम्झनामा हरेक वर्ष सोही तिथिमा वार्षिकोत्सवको रूपमा बुँसादा मनाइन्छ।
भक्तपुरको टौमढीमा अवस्थित पाँचतले मन्दिरलाई स्थानीय भाषामा ‘ङातापोल्हँ द्यः’ भनेर उच्चारण गरिएको मन्दिरको प्रत्येक वर्ष आषाढ शुक्ल प्रतिपदा दिन मनाइन्छ। यसवर्ष आषाढ ३१ गते बुधबारका दिन ३२४ औं वार्षिकोत्सव बुँसदा परेको छ। तान्त्रिक अनुष्ठानअनुसार सो दिन गुठी संस्थानबाट आवश्यक बजेटमा अवाल समुदायका सम्बन्धित गुठीयारद्वारा पूजा र भेटी चढाइन्छ। मन्दिरको मुख्य ढोका खोलिन्छ, तोकिएका जोशी र आचाजु पुजारीहरूले विश्व शान्ति र जनताको खुसीका लागि पूजा र अनुष्ठान गर्छन्। सोही दिन जोखिम मोलेर मन्दिरको छानामा उम्रिएका घाँस उखेल्ने तथा अन्य सरसफाइदेखि र सामान्य मर्मतसम्भार गरी गजुरमाथि झन्डा फहराइन्छ।
नेपालको सबैभन्दा अग्लो मन्दिर ङातापोल्हँ १८ औं शताब्दीमा राजा भूपतीन्द्र मल्लले निर्माण गरेका थिए र यसको निर्माण नेपाल संवत् ८२२ को आषाढ शुक्ल प्रतिपदाको दिनमा सम्पन्न भएको थियो। बिस्का जात्राका लागि रथ निर्माण तथा जात्राको अन्तिम चरणमा पहिलो वार्षिकोत्सव अनुष्ठानस्वरूप असार शुक्ल प्रतिपदाका दिन गर्दा यो विशेष कार्यक्रम वार्षिक रूपमा गर्ने परम्परा बन्यो।
राजा भूपतीन्द्र मल्लले मन्दिरको नियमित सरसफाइ र मर्मतसम्भार सुनिश्चित गर्न सुरु गरिएको वार्षिक अनुष्ठान मन्दिर सिद्धिलक्ष्मी, भैरव र बेतालसँग पनि समर्पित छ। न्यातापोलको बुँसदाको दिन तान्त्रिक अभ्यासमा निपुण व्यक्तिहरूलाई मात्र मन्दिरमा प्रवेश गर्न अनुमति दिइन्छ किनकि यसलाई देवीको तान्त्रिक ऊर्जाको अवतार मानिन्छ।
मल्लकालमा छालिङ, जितपुर, वागेश्वरी, साँखु (साकवा), झौखेल (झौख्या), चाँगु (चाँघु), गोकर्ण, पनौती (पन्ती) लगायतका किसान, मजदुर तथा स्थानीय समुदायले समेत मन्दिर निर्माणमा सहभागिता जनाएका थिए। ङातापोल्हँ/न्यातापोल मन्दिर नेपालको परम्परागत इन्जिनियरिङको उत्कृष्ट उदाहरण मानिन्छ। सन् १७०१/०२ मा निर्माण भएको यो पाँचतले मन्दिरले सन् १९३४ र २०१५ लगायतका शक्तिशाली भूकम्पहरू सहेर पनि चुनौती दिँदै आफ्नो मुख्य संरचना सुरक्षित राखेको छ, जसले यसको उत्कृष्ट इन्जिनियरिङ क्षमता प्रमाणित गर्छ।
ङातापोल्हँका प्रमुख मौलिक इन्जिनियरिङ विशेषता
अत्यन्त बलियो र अग्लो जग: मन्दिर पाँच तहको विशाल आधार तहमाथि निर्माण गरिएको छ। यो अग्लो आधारले गुरुत्व केन्द्रलाई स्थिर राख्छ र यसले भूकम्पको कम्पनलाई माथिल्लो संरचनामा कम प्रभाव पार्न मद्दत गर्छ।
तल फराकिलो, माथि क्रमशः साँघुरो: प्रत्येक तला माथिल्लोतर्फ सानो हुँदै जाने भएकाले तौल समान रूपमा वितरण हुन्छ र संरचनाको स्थिरता बढ्छ।
काठ र इँटाको संयोजन: मुख्य संरचनामा पाकेको इँटा, माटाको गारो र विभिन्न जातका काठ प्रयोग गरिएको छ। काठ केही लचकदार हुने भएकाले भूकम्पीय ऊर्जा सोस्न सहयोग गर्छ।
खुला भित्री संरचना: पहिलो तलमाथि ठुला भित्री तला नराखी खुला संरचना अपनाइएको छ, जसले तौल घटाउँछ र भूकम्पका बेला संरचनामा आउने बल कम गर्छ।
सममित डिजाइन: मन्दिरको भार केन्द्रमा सन्तुलित रूपमा वितरण गरिएको छ, जसले भूकम्पको जोखिमबाट ढल्किने सम्भावना कम गर्छ।
उच्च गुणस्तरको निर्माण व्यवस्थापन: ऐतिहासिक अभिलेखअनुसार निर्माणअघि आवश्यक काठ, इँटा, ढुंगा र धातु सामग्रीको तयारी गरिएको थियो।
यो मन्दिर निर्माणमा तत्कालीन राजा भूपतीन्द्र मल्ललगायत राजपरिवार, चौकीदारहरू तथा भारद्वारहरूले समेत श्रमदान गरेको इतिहासमा अध्ययन गर्न सकिन्छ। यहाँका हजारौं किसान, मजदुरलगायत विभिन्न परम्परागत र मौलिक सिप भएका कामदार र दक्ष कालीगढको समन्वयमा करिब ६ महिनामै निर्माण सम्पन्न भएको मानिन्छ।
आजको अमेरिका समृद्ध र विकसित हुनुअघि नेपालका थुप्रै राज्य सम्पन्न र शक्तिशाली थिए। जसमध्ये भक्तपुर पनि एक हो। आजभन्दा ३२४ वर्ष पहिले इन्जिनियरिङ र प्रविधिको विकास नभएको बेलामा नै ठुला भूकम्पलाई समेत चुनौती दिएको सम्पदाका रूपमा ङातापोल मन्दिर रहेको छ।
सात आश्चर्यमा ङातापोल्हँ मन्दिर पनि समावेश गर्नुपर्ने
२२ वर्ष लगाएर सन् १६४८ मा बनेको भारतको आगरा सहरको ताजमहल र नौ वर्ष लगाएर सन् १९३१ मा बनेको ब्राजिलको राजधानी सहर रियो दी जेनेरियोको क्राइस्ट द रिडिमर मूर्तिलाई आधुनिक विश्वको सात आश्चर्य मानिएको छ। ताजमहल निर्माण भएको ५० वर्षपछि सन् १७०१÷०२ को ६ महिनामा तयार भएको ङातापोल्हँ मन्दिरलाई पनि आधुनिक विश्वको सात आश्चर्यमा समावेश गर्न आवश्यक छ।
ङातापोल्हँ मन्दिर एक मौलिक नेपाली प्यागोडा शैली वास्तुकलाको उत्कृष्ट नमुना हो। ङातापोल मन्दिरको निर्माणअघि र निर्माणपछि पनि यस्ता प्यागोडा शैलीका मठमन्दिरलगायत अन्य सम्पदा निर्माण भएका छन् र हुँदै छन्। यिनै कारणले ङातापोल्हँलाई आज पनि नेपालको परम्परागत भूकम्प प्रतिरोधी वास्तुकलाको उत्कृष्ट नमुना मानिन्छ। विश्वमा इन्जिनियरिङको अवधारणा आउनुपूर्व नै यस्तो संरचना निर्माणले आधुनिक संरचनात्मक इन्जिनियरहरूका लागि समेत यसको डिजाइन अध्ययन सामग्री बन्दै गर्दा परम्परागत निर्माण प्रविधिलाई आधुनिकतासँग जोड्नु आजको आवश्यकता हो।
१९९० र २०७२ सालका विध्वंसात्मक भूकम्पमा समेत सुरक्षित यस ङातापोल्हँ द्यगःलाई विश्वका सात आश्चर्य सम्पदामध्ये एक आश्चर्य सम्पदाका रूपमा सूचीकृत गर्न नेपाल सरकार तथा स्थानीय सरकार लाग्नुपर्ने देखिन्छ। यस्ता ऐतिहासिक ङातापोल्हँको मौलिक इन्जिनियरिङ अझै पनि विश्वमै उदाहरणीय र अतुलनीय बनाइ जोगाएर राख्न नयाँ पुस्तालाई आधुनिकतासँगै मौलिक परम्परागत निर्माण प्रविधिबारे व्यावहारिक रूपमा अध्ययन अध्यापन गर्न जोड दिनुपर्छ।
प्रकाशित: २ श्रावण २०८३ १०:४८ शनिबार





