सम्बन्ध बरफको ढिक्काजस्तै हुन्छ। जसलाई जमाउन त सजिलै सकिन्छ तर जोगाइ राख्न भने सधैं गाह्रो। हामी पानीलाई बरफको ढिक्का बनाउन हतारिन्छौं। हाम्रो सम्पूर्ण तयारी बरफ बनाउनुमा हुन्छ। बरफ बनाउँदै गर्दा हामीले भुलिदिन्छौं, तापक्रम बढेसँगै त्यो बरफको ढिक्का पग्लिन्छ र चुहिन थाल्छ पानी भएर। चुनौती बरफको आकृति र चरित्रलाई प्राकृतिक रूपमा टिकाइराख्नु हो। हाम्रो सम्पूर्ण शक्ति सम्बन्ध स्थापित गर्नुमा हुन्छ, सम्बन्धलाई टिकाउने शक्तिप्रदर्शन हाम्रो प्राथमिकतामा पर्दैन । सम्बन्ध सुमधुर रूपमा जोगाउन प्राकृतिक रूपमा बरफ जोगाउनजत्तिकै गाह्रो हुन्छ।
समय र व्यवहारले देखाउँदै छ, सम्बन्ध आवश्यकताले निम्त्याउँछ। शत्रु र मित्र स्थायी हुँदैनन्। सम्बन्ध राम्रो हुने बेलासम्म सबै मित्र, सम्बन्ध बिग्रिएपछि हिजोका मित्र, इष्टमित्र, बाबुआमा, साथीभाइ सबै शत्रु। आवश्यकता रहेसम्म मिठो बन्छ सम्बन्ध, आवश्यकता हट्दै जाँदा पूर्ववत् मिठो सम्बन्ध बासी लाग्न थाल्छ, काँचो लाग्न थाल्छ। समय र सम्बन्धले सत्यलाई हेर्ने दृष्टिकोण पनि बदलिदिन्छ। अप्सरा समय र सम्बन्ध सुमधुर रहने बेलासम्म सुन्दरी ठहरिने हुन्, सम्बन्ध बिग्रिएपछि उनैमा राक्षसीकरण गरिन्छ। हिजोका प्यारा भाइ विभीषण समयको अन्तरालसँगै कुलद्रोही बन्छन्। हिजोका शत्रु आज टपक्क मिलेका हुन्छन्, हिजोका मित्र आज सिसाझैं फुटेका पनि हुन्छन्।
शत्रु सधैं परित्यक्त हुँदैनन्। सदुपयोग गरियो भने शत्रुलाई पनि भगवान्कै रूपमा प्रयोग गर्न सकिन्छ। शत्रुको सौन्दर्य जोकोहीले बुझ्दैनन्। हाम्रो समाजदर्शन तथा व्यवहारबाट पुष्टि भएका केही तथ्य हुन् -शत्रु नभएका मानिस परिपक्व हुँदैनन्। शत्रु छन् भने मात्र मान्छेभित्र सहनशीलता, धैर्य, विवेक र संघर्ष गर्ने साहस जन्मिन्छ। शत्रु छन् भने मान्छेले मौनको शक्ति, कर्मको महत्त्व र सत्यको मूल्य बुझ्न सक्छ। शत्रु त जीवनका अदृश्य गुरु हुन्, जसले बिनातालिम, बिनाकिताब शिक्षा दिन्छन्। तिमी झनै बलियो बन, तिमीभित्रै गहिरो सोच राख भनेर संसारले होइन, शत्रुले सिकाउँछ। पूर्वीय शास्त्रमा भनिएको छ– ‘शत्रुहरू सधैं तिमीभित्रको दोष देख्छन्। उनीहरू नै हुन्, जो तिमीभित्र सुधार ल्याउने कारण बन्छन् । सजग रहन सिकाउने ती शत्रु वास्तवमै बुद्धिमान्जस्तै हुन्, जसले तिमीलाई जागरूक बनाउँछन्।’
शत्रुले दिएको घाउले नै हाम्रो आत्मालाई अभेद्य कवच बनाउँछ। हाम्रो अन्तरमन त्यसबेला मात्र निखारिन्छ, जब त्यो आलोचना, अपमान र घृणाको अँध्यारोमा हामीभित्रको प्रकाश बल्छ। शत्रु बढे भने बुझ्नुस्– तपाईं अगाडि बढ्दै हुनुहुन्छ।
अब मित्रदर्शन मनन गरौं। हेलेन केलरले भनेको एउटा भनाइ सधैं मार्मिक लाग्छ मलाई– एक्लै उज्यालोमा हिँड्नुभन्दा साथीसँग अँध्यारोमा हिँड्नु धेरै राम्रो। सच्चा साथीबारे वाल्टर विन्चेल भन्छन्– एउटा सच्चा साथी त्यतिबेला तिमीसँग आउँछ, जब सारा संसारले तिमीलाई छोडेर हिँड्छ। लियो बुस्काल्लिया भन्छन् - एउटा गुलाब मेरो बगैंचा हुन सक्छ, सच्चा मित्र मेरो सिंगो संसार।
शुत्र र मित्र दुवैको आआफ्नो ठाउँमा उत्तिकै महत्त्व छ। यद्यपि हामी ठान्छौं - शत्रु कोही नबनून्, सबै सधैं मित्र मात्र बनिरहून्। कसैले हामीले भनेजस्तो गरेन, हामी हिँड्ने बाटो सहज बनाइदिएन भने हामी उसलाई शत्रु ठानिहाल्छौं। फेरि स्वार्थ पूरा हुने भयो भने हिजोका शत्रु पनि आज टपक्क मिलिदिन्छौं।
यी त भए शत्रु र मित्रबारे भनिएका र मनन गरिएका भावनात्मक यथार्थ। यी वचन त्यतिबेलासम्म सत्य साबित हुन्छन्, जतिबेलासम्म सम्बन्ध राम्रो हुन्छ।
कृष्ण कंशका भान्जा थिए । यति नजिकको पारिवारिक सम्बन्ध भए पनि सत्ता र शक्तिभयका डरले यो सम्बन्ध शत्रुतामा परिणत भयो। दुर्योधन र पाण्डवका गुरु एउटै, शिक्षा तथा शस्त्रअस्त्र उस्तै तर अधिकार र ईष्र्याले बन्धुत्व युद्धमा बदलियो। भीष्म, द्रोण, कृपाचार्यजस्ता गुरुहरू नै शिष्यका विरुद्ध उभिनुपर्यो। बुद्ध र देवदत्तको पारिवारिक सम्बन्ध समयको अन्तरालसँगै शत्रुतामा बदलियो। गुरु–शिष्य सम्बन्धको विघटन गुरु द्रोणाचार्य र शिष्य एकलव्यबाट भयो । दुवै आदर्श पात्र– द्रोणाचार्य आदर्श गुरु, एकलव्य आदर्श शिष्य। यद्यपि तालमेल मिलेन भने आदर्श सम्बन्ध पनि विघटित हुन पुग्छ भन्ने उदाहरण हो यो।
नेता र जनताको सम्बन्ध झन् अद्भुत छ। नेपालका सन्दर्भमा त यो सम्बन्ध अजिब नै देखिन्छ। जनता चुनावअघि भगवान् हुन्छन्– जनता जनार्दन। चुनावपछि भने जनताले प्रश्न सोध्न थाले भने अराजक ठहरिन्छन् । जनताको काम पाँच वर्षमा एकपटक मतपेटिकामा सीमित छ, बाँकी समय तिनको सम्बन्ध भाषणका श्रोतामा मात्र जीवित रहन्छ।
नेपालको राजनीतिक सम्बन्धको त के कुरा गर्ने र? कुरा गरिसाध्य नै छैन। अहिले सम्बन्ध यति अस्थायी छ कि बरु हिमालको मौसमको भर होला, नेपालका जनता–नेताको सम्बन्धको कुनै भर छैन। हिजो हँसिया प्यारो लाग्ने जनतालाई आज बन्चरो प्यारो लाग्छ । हिजो मादल बजाएर विभत्स नृत्य गर्ने जनता आज घन्टी बजाएर पूजा गर्छन्। तिनै जनता जसलाई हिजो दानवत्वकरण गर्दै थिए, आज देवत्वकरण गर्दै छन्। हिजो मन्दिर भत्काउने नास्तिक जमात आज मन्दिरका संरक्षक बन्दै छन् । को हुन् वास्तविक जननेता, यहाँ थाहा हुँदैन। मौसमअनुसार जननेता बदलिइरहन्छन्।
चुनावअघि सबै दल एकअर्काका पूरक हुन्छन्, चुनावपछि ‘मुख्य शत्रु’। सरकार बनेपछि सम्बन्ध ‘सहमति’ हुन्छ, सरकार ढलेपछि ‘षड्यन्त्र’। यहाँ विश्वास होइन, मात्र हिसाबकिताब हुन्छ। गीताले कर्मको कुरा गर्यो तर हाम्रो राजनीतिले ‘कसको कर्म कति काम लाग्छ?’ भनेर मात्र हेर्छ।
गठबन्धनको सम्बन्ध त नेपाली राजनीतिमा विशेष उपलब्धि हो। शास्त्रीय भाषामा यसलाई क्षणभंगुर सम्बन्ध भन्न सकिन्छ। एउटै सरकारमा बसेर पनि एकअर्कालाई गिराउने कला यति विकसित भइसकेको छ कि योगसूत्रले समेत यसलाई ‘राजनीतिक साधना’ मानेको भए अचम्म मान्नुपर्दैन। राजनीतिमा मित्रता सत्ता जोगाउने संयन्त्र ठानिन्छ। सत्ता गयो, मित्रता पनि गयो। आध्यात्मिक शास्त्रले सम्बन्धलाई आत्मासँग बाँध्छ, राजनीतिले सत्तासँग। यही कारण आज देशमा सरकार त बनिरहन्छ तर विश्वास कहिल्यै स्थिर हुँदैन। राजनीतिमा सम्बन्धको सिद्धान्त नदीजस्तै हो– जहाँ सत्ता बग्छ, सम्बन्ध उतै मोडिन्छ।
पूर्वीय दर्शनले सम्बन्धलाई आत्माको अनुशासन मानेको छ। उपनिषद् भन्छ– सत्यं वद, धर्मं चर, अर्थात् सत्य बोल्नु र धर्मसम्मत कर्म गर्नु तर वर्तमान नेपाली समाजमा यस वाक्यको नयाँ अर्थ निक्लिएको छ - ‘सत्ता छ भने सत्य लचिलो हुन्छ, पद छ भने धर्म अनुकूल हुन्छ।’
राजनीतिमा यो भनाइको अर्थ हुन्छ - सम्बन्ध आत्मासँग होइन, अंकगणितसँग बाँधिएको छ– कति सिट, कति मन्त्री, कति भाग?
पूर्वीय शास्त्रले सम्बन्धलाई धर्मको मेरुदण्ड मानेको छ। उपनिषद्ले आत्मीयताको कुरा गर्यो, बुद्धले करुणाको र गीताले कर्तव्यको तर आजको नेपाली समाजमा यी सबै ग्रन्थ सायद ‘सन्दर्भ ग्रन्थ’ मात्र बनेका छन्– उद्धरणका लागि उपयोगी, व्यवहारमा अनुपयोगी।
युवा पुस्ता र राजनीतिक सम्बन्ध पनि अजिबको छ । अहिले जेनजी चर्चामा रहेको शब्दावली हो। जेनजीको हातमा मोबाइल, दिमागमा प्रश्न हुन्छ । उनीहरू अधैर्य हुन्छन्। यो पुस्ता गुरु खोज्दैन, उत्तर खोज्छ । भाषण सुन्न चाहँदैन, परिणाम हेर्न चाहन्छ। यिनीहरू पुरानो राजनीति बुझ्न खोज्छन्, राजनीतिमा आफूलाई अपडेट गर्न चाहँदैनन् । जेनजीले नेतासँग भावनात्मक सम्बन्ध होइन, उत्तरदायी सम्बन्ध खोज्छ। वास्तविक जेनजीले दल खोल्दैनन्, झन्डा बोक्दैनन् । दलको झन्डामुनि समग्र पुस्ता बस्न सम्भव नै छैन। यदि पुस्ता र दलको सम्बन्ध तत्कालका लागि देखियो भने सम्झनुपर्छ, त्यो सम्बन्ध सुखद रहँदैन किनभने त्यो प्राकृतिक होइन। झन्डा बोकेको भए छोटो समयमा त्यसरी देशमा कायपलट हुने थिएन। सीमाभित्र बाँधिएको विद्रोह खोरभित्र थुनिएको सिंहजस्तै हो, जसलाई अरूले हेरेर मनोरञ्जन लिने मात्र हो।
पुरानो पुस्ता भन्छ– तिमीहरूलाई राजनीति के थाहा? नयाँ पुस्ता भन्छ– तपाईंहरूलाई वर्तमान के थाहा? यसरी नै चलेको छ सम्बन्ध।
सम्बन्धको सिद्धान्त हुँदैन । सम्बन्धको सिद्धान्त हुन्थ्यो भने हिजोका धारे हात आज अंकमालमा कसरी परिणत हुन्थे? हिजोका गाली आज कसरी आशीर्वाद बन्थे ? हिजो जसलाई भ्रष्ट भनियो, आज उसैसँग हात मिलाइन्छ र यसलाई ‘राष्ट्रिय आवश्यकता’ भनिन्छ। नीतिशास्त्रमा भनिएको कुरा हो– बनावटी सम्बन्ध राख्दै नराख्नू, स्थायी सम्बन्ध नै सुखदायी हुन्छ।
सम्बन्धको सिद्धान्त हुन्थ्यो भने कम्युनिस्ट–कम्युनिस्ट मित्र हुनुपर्ने, कम्युनिस्टइतरका प्रजातान्त्रिक धार एक हुनुपर्ने तर नेपाली राजनीतिक बजारमा हेर्ने हो भने विगतदेखि नै सबैभन्दा ठुला शत्रु त तिनै कम्युनिस्ट–कम्युनिस्ट नै देखिएका छन्। अस्तिसम्म नयाँ शक्तिका प्रतीक मानिएका युवानेतृत्वबिच बोलचाल नै थिएन। एकापसमा दोषारोपण थियो, शक्तिको सङ्घर्ष थियो। आज यिनीहरू पनि टपक्क मिलेका छन् । विगतदेखि नै देखिएको तथ्य हो– अप्राकृतिक सम्बन्धको पूर्णायु दुर्लभ हुन्छ । प्रश्न सम्बन्धको होइन, नियतको हो।
एउटै खोरमा दुई भिन्न प्रकृतिका बाघ बसेका छन् भने बुझ्नुपर्छ - दुइटै बाघको समान यात्रा हुँदैन । तिनै बाघ एकअर्काका प्रतिस्पर्धी हुन्। बुढो सिंहलाई तन्नेरी सिंहले टोकेर मार्छन्। त्यस्तो दिन पनि आउँछ, बुढो सिंहलाई स्यालले सिकार गरेर खान्छ । जीवन र सम्बन्ध उस्तै हुन्छन्। जति सानदार जिन्दगी भए पनि आखिर हिँड्ने पथ एउटै हुन्छ। फरक आफूले आफूलाई सोच्ने शैलीमा मात्र हो। आजका सम्बन्ध पनि त्यस्तै देखिँदै छन् - जीवनजस्तै सम्बन्ध र सम्बन्धजस्तै जीवन।
सम्बन्धबारे यो गन्थनमन्थनपश्चात् हामी निष्कर्षमा पुग्न सक्छौं - सम्बन्ध बिग्रिएको होइन, सम्बन्धको अर्थ नै फेरिएको हो।
प्रकाशित: २६ पुस २०८२ ०६:५३ शनिबार





