‘विक्रम संवत १८४३ कार्तिक २९ गते गोरखा राज्य विस्तारका क्रममा गोर्खालीहरूले दाङका राजा नवल सिंहलाई दाङको तापा भन्ने स्थानमा पराजित गरे। पृथ्वी नारायण शाहकी जेठी रानी इन्द्रकुमारीकी छोरी विलासकुमारीको सल्यानी युवराज रणभीम शाहसंग १८२५ सालमा विवाह भएको थियो’ दाङको ऐतिहासिक पृष्ठभूमीको अध्ययनमा लामो समयदेखि सकृय रहेका डा. सुदीप गौतमको अध्ययन भन्छ ‘दाङ जित्ने क्रममा गोर्खालीहरूले दाङको केही भाग राजकुमारी विलासकुमारीको विर्ता कायम गरी सल्यान राज्यको अधीनमा दिए, दाङको बाँकी भाग गोर्खाली राज्यको अधीनमा भयो।’
तत्कालीन नेपाल एकीकरण हुने बेलाको यो राजनीतिक घटनाक्रमबारे सविस्तार गरेका गौतमको अध्ययनले भन्छ ‘तापामा पराजित राजा नवलसिंह दाङको दक्षिण भाग तुलसीपुरमा (हाल ईण्डिया) बसेर देउखुरीको भागमाथि प्रभाव जमाउन थाले, यसरी तत्कालीन दाङ राज्य, सल्यानका भूभाग र नेपाल राज्यको भूभाग गरी तीन भागमा विभाजन भयो।’
दाङको ऐतिहासिक पृष्ठभूमिको खोजमा लामो समय खर्चेका डा. गौतमले तत्कालीन सन् १९८३ देखि हालसम्मको अवस्थाको खोज गरेका छन्। उनको गहन खोजले पुष्ट्याइँ भएका ऐतिहासिक घटनाक्रमलाई डा. गौतमले पुस्तक मार्फत सार्वजनिक गरेका छन्। ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ नामक उनीद्वारा लिखित पुस्तक दाङको ऐतिहासिक पृष्ठभूमिको गहन दस्तावेजका रूपमा दरिएको छ।
तत्कालीन पञ्चायती व्यवस्थाको पृष्ठभूमिलाई मिहिन रूपमा पुस्तकमा उतारेका गौतमले २००७ सालको जनक्रान्तिको सुरुवात दाङमा कसरी भयो भन्ने तथ्यलाई सहज र सरल ढंगले प्रस्तुत गरिदिएका छन्।
नेपाली कांग्रेसको आह्वानमा २००७ साल कार्तिक २६ गते भाइटीकाको दिनदेखि क्रान्तिको प्रारम्भ भयो। तर दाङमा क्रान्तिको सुरुवात कहिलेदेखि गर्ने भन्ने छलफल हुँदै थियो। हतियार जुटेको थिएन। केही थान हतियार जोरजाम गरेर जिल्लाको कोइलाबास कब्जा भयो। कोइलाबास कब्जापछि त्यहाँ जनसरकार गठन भयो। यो सरकारका प्रधानमन्त्री गणेशकुमार शर्मा चुनिएको तत्कालीन ऐतिहासिक घटनाबारेको तथ्य उजागर गरिदिएका गौतमले जिल्लाको राजनीतिक इतिहासबारे प्रष्ट जानकारी दिने प्रयत्न गरेका छन्। यो संगै २००७ देखि २०१५ सालसम्मको दाङको ऐतिहासिक घटनाक्रम, २०१५ देखि २०१७ सालसम्मको अवस्था, २०१७ देखि २०४६ सालसम्मको राजनीतिक इतिहास, पञ्चायतकालीन निर्वाचनहरूमा भएका सहभागिता, २०४८ सालको संसददेखि २०६२ सालको नगरनिर्वाचनका क्रममा भएका जिल्लाका घटनाक्रम तथा लोकतान्त्रिक आन्दोलन र त्यसपछिका निर्वाचनसम्म आइपुग्दाका विभिन्न उताचढावलाई डा. गौतमले पुस्तकमा मिहिन रूपमा उल्लेख गरिदिएका छन्।
जिल्लाको ऐतिहासिक पृष्ठभूमिको गहन खोजलाई पुस्तकमा समावेश गरेका डा. गौतमको यो पुस्तकलाई विश्लेषकहरूले जिल्लाको इतिहास बोकेको एक सशक्त दस्ताबेज भनेका छन्। प्राध्यापक डा. शिवकुमार सुवेदीले जिल्लाको ऐतिहासिक सन्दर्भलाई तत्कालीन प्रमाणहरूको संकलन र विश्लेषण गरी सरल भाषामा प्रस्तुत गरिएको पहिलो कृतिका रूपमा यो पुस्तकलाई लिन सकिने उल्लेख गरेका छन्। साथै उनले यो पुस्तकभावी सन्ततीका लागि संग्रहणीय रहेको समेत उल्लेख गरे। ‘यो पुस्तक वर्तमानका पाठकलाई मात्रै हैन, भावी सन्ततीका लागि पनि संग्रहणीय छ, करिब ६ दशक लामो अवधिको घटनाक्रमलाई क्रमबद्धता दिनु साह्रै कठिन कार्य हो, तिनको सहविस्तार वर्णन गरी पाठक समक्ष प्रस्तुत गर्न सक्नु लेखकको परिपक्वताको परिचायक हो,’ प्राध्यापक डा. शिवकुमार सुवेदीले भने।
यसैगरी अर्का विश्लेषक डा. टिकाराम उदासीले पनि डा. गौतमको यो पुस्तकलाई इतिहासक भएको उल्लेख गरेका छन्। ‘यो मानव समाजको उत्थान र पतनको गाथा हो, विगतमा भए गरेका घटनाहरूको तथ्यपरक अभिलेख हो,’ डा. उदासीले भने।
डा. गौतमले यो पुस्तकलाई स्नातकोत्तर तहको शोधपत्र निर्माणका क्रममा गरिएको खोजको नतिजाका रूपमा उल्लेख गरेका छन्। उनले स्नातकोत्तर तहको शोधपत्र लेखनका क्रममा दाङ देउखुरीका राजनीतिक सहभागिताका बारेमा खोज गरेका थिए। शोधपत्रका आन्तरिक निर्देशक रेवतीरमण भट्टराईले उनको शोधपत्रको प्रमाणिकता खोज्थे, गौतम प्रमाण जुटाउन खोजमा लाग्थे। उनका बाह्य निरीक्षक डा. शिवकुमार सुवेदीले यसलाई थारु राजनीतिको इतिहासमा मात्रै सीमित नराख्न सुझाव दिए। थप तथ्य जुटाएर पुस्तक निकाल्न सुझाव दिएका उनै डा. सुवेदीको उत्प्रेरणाले गौतमलाई समग्र राजनीतिक इतिहासका बारेमा खोज थाल्न प्ररित गर्यो।
‘थेसिसका रूपमा गरिएको थारु राजनीतिक इतिहासिको कथाले मलाई समग्र दाङको इतिहास खोज्न प्ररित गर्यो,’ डा. गौतम भन्छन्, ‘यसका लागि मैले लामो समय खोज अनुसन्धानका लागि खर्चिएँ र लामो समयको अध्ययन पश्चात यो पुस्तकको निर्माण गर्न सफल भएँ।’ पुस्तक लेखक दाङ घोराहीका डा. गौतमले राजनीतिक इतिहासमा पिएचडी गरेका छन्। लामो समयदेखि पत्रकारिता क्षेत्रमा समेत सकृय रहँदै आएका डा. गौतम जिल्लाका विभिन्न सञ्चार माध्यममा सम्पादकीय भूमिकामा रहेर काम गरिसेका छन्। हाल उनी नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष समेत हुन्।
प्रकाशित: १४ भाद्र २०८२ ११:२५ शनिबार





-1200x560-600x400.jpg)