२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

युरोपका पाँच मुलुकमा गुञ्जिँदै नेपथ्य

लोकप्रिय ब्यान्ड नेपथ्यले आगामी महिना युरोपका पाँच मुलुकमा शृंखलाबद्ध सांगीतिक प्रस्तुति दिने भएको छ। बेलायतको लन्डनबाट सुरु हुने यो यात्रा डेनमार्क, माल्टा, पोर्चुगल हुँदै बेल्जियममा पुगेर अन्त्य हुनेछ।

ब्यान्डले शृंखलाबद्ध यात्राको पहिलो प्रस्तुति अगस्ट ९ मा लन्डनको प्रतिष्ठित वेम्बली एरिनामा दिनेछ।त्यसपछि, अगस्ट २३ मा डेनमार्कको राजधानी कोपेनहेगनस्थित ‘पुलेन हल’ मा नेपथ्य प्रस्तुत हुनेछ। कोपेनहेगनमा नेपथ्यको यो दोस्रो प्रस्तुति हो। यसअघि सन् २०१६ मा पनि ब्यान्डले त्यहाँ प्रस्तुति दिएको थियो।

डेनमार्कपछि नेपथ्यको यात्रा माल्टाको आटार्ड शहरतर्फ सोझिनेछ। जहाँ अगस्ट २७ मा ‘माल्टा फेयर एन्ड कन्भेन्सन्स सेन्टर हल’ मा कन्सर्ट आयोजना हुनेछ। त्यसपछि ब्यान्ड पोर्चुगलको राजधानी लिस्बन पुग्नेछ। त्यहाँको ‘लिस्बोआ आओ भिभो’ मा अगस्ट ३१ मा कन्सर्ट तय भएको छ।

युरोप यात्राको अन्तिम प्रस्तुति भने सेप्टेम्बर ३ मा बेल्जियमको एन्थ्रोपेन शहरस्थित ‘एइडी स्टुडियोज’ मा हुनेछ। एन्थ्रोपेनमा पनि नेपथ्यले दोस्रो पटक प्रस्तुति दिन लागेको हो। यसअघि सन् २००५ मा ब्यान्डले त्यहाँ कन्सर्ट गरेको थियो।

पछिल्लो समय युरोपेली मुलुकहरूमा अध्ययनका लागि मात्र नभई रोजगारीका लागि जाने नेपालीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ।

विशेषगरी माल्टा, पोर्चुगल र बेल्जियममा नेपालीहरूको बाक्लो उपस्थिति देखेरै ब्यान्डले यो शृंखलाबद्ध यात्रा तय गरेको हो। स्थानीय आयोजकहरूका अनुसार, चारवटै शहरमा दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ र केही शोका टिकटहरू सकिन लागेका छन्।

“नेपालको सानो बस्तीदेखि लिएर विश्वका अग्रणी शहरसम्म नेपथ्यको प्रस्तुतिले श्रोता दर्शकको मायामा एकरुपता पाउन थालेको छ,” ब्यान्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले भने, “युरोपमा पनि स्तरीय हलमा स्तरीय प्राविधिक संयोजनसहित कार्यक्रम प्रस्तुत गरिनेछ।”

यस यात्राका लागि व्यवस्थापक, प्राविधिक र कलाकारसहित १४ सदस्यीय टोली युरोप प्रस्थान गर्नेछ। मञ्चमा मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।

प्रकाशित: ८ श्रावण २०८२ १६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App