१ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

‘विभेदीकरणबाट मुक्ति पाउन वाक्कलाको महत्त्वपूर्ण भूमिका’

पोखराकाे बुद्धचोकस्थित सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला सम्बन्धी दुईहप्ते तालिम भएको छ।

तालिममा अनुपम म्युजिक तथा कास्की मल्टिमिडियाका प्रबन्ध निर्देशक अनुराग अधिकारीले सहजीकरण गरेका थिए।

अधिकारीले आफूले विद्यार्थीको चाहना, आवश्यकता र क्षमताकाे ख्याल गर्दै प्रशिक्षण गरेको अनुभव सुनाए।

विद्यालयका संस्थापक तथा निर्देशक खिमबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्रकी प्रमुख शान्ति गुरुङले सोसल पब्लिकले विद्यार्थीलाई जीवन सिकाउने अभियान सञ्चालन गरेको भनाइ राखिन्।

विद्यार्थीको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै गुरुङले सही ठाउँमा सही कुरा सही तरिकाले प्रयोग गर्न भाषणकलाले सिकाउने धारणा राखिन्।

बोल्ने कला जीवनको आधारभूत सिप भएकामा उनले जोड दिइन्। आफूभित्रको प्रतिभा चिन्न आग्रह गर्दै गायिकासमेत रहेकी सञ्चारकर्मी गुरुङले विभेदीकरणबाट मुक्ति पाउन वाक्कलाको भूमिका रहने बताइन्।

विद्यालयको निर्देशक खिमबहादुर गुरुङले विद्यालयले विद्यार्थीको चौतर्फी प्रतिभा उजागर गर्न विविध गतिविधि सञ्चालन गर्दै आएको बताए।

उनले विद्यालयले किताब मात्र नभई जीवन पढाउने अभियान सञ्चालन गरेको भन्दै विद्यार्थी केन्द्रित गतिविधिमा विद्यालयले जोड दिएको बताए।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सिद्धार्थ शर्मा, साहित्यकार रुपिन्द्र प्रभावी, अभिभावक रियाज गुरुङ र प्रज्वल भित्रकोटीले शुभकामना दिएका थिए।

प्रशिक्षार्थीहरू आरूषी बानिया र दीपिका क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा निस्मा केसी, श्रीयाज गुरुङ, ग्रीष्मा शर्मा, अस्मिता सुनार, प्रियङ्का गुरुङ, रीति बरुवाल र दीक्षा थापाले प्रशिक्षणको अनुभव सुनाएका थिए। तालिममा ६ देखि १० कक्षाका ४५ विद्यार्थी सहभागी  थिए।

प्रकाशित: २९ मंसिर २०८२ ०९:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App