२२ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

पर्खाइको लय

निबन्ध

अँध्यारोले बिस्तारै रातको कालो कम्बल ओढ्दै जाँदा, कुनै चिसा सहरका एक कुनामा उभिएको म, समयको अमूर्त भारलाई मेरो काँधमा अनुभूत गरिरहेको छु। यो कुनै सामान्य उभ्याइ होइन, यो एउटा सामूहिक अनवरतताको प्रतीक्षा होजसलाई हामी 'पर्खाइ' भन्छौँ। भौतिक भूगोलमा रेखाङ्कित गरिएका यी पर्खाइका रेखाहरू केवल मानिसहरूको शारीरिक उपस्थिति होइनन्; बरु यी त आधुनिक जीवनले हामीलाई थोपरेको एक किसिमको मौन सजाय हुन्। जब मौका मिल्छ, कसैले त्यो रेखा मिचिहाल्छ, आफ्नो अहंलाई या आफ्नै तुच्छ आवश्यकतालाई समाजको सामुन्ने नग्न उभ्याएर। यो केवल अनुशासनहीनता होइन, यसको गर्भमा एउटा ठूलो मनोवैज्ञानिक विमर्श लुकेको छ - पर्खाइको पीडा र त्यसबाट उन्मुक्ति पाउने आदिम छटपटी।

केही दिन अगाडिको कुरा हो म पेट्रोल पम्पमा लाइनमा बसिरहेको थिएँ पालो कुर्दै। मेरो अगाडि अझै दुइटा बाइक थियो। टल्किरहेको अलकत्राको सडकमा सूर्यका किरणहरू कुनै क्रुर साहुजीले थापेको धिमे आगोझैँ दन्किरहेका थिए। अचानक पछाडिबाट एउटा यान्त्रिक गर्जन आयो र अर्को बाइकले मेरो संयमको भूगोललाई खुइल्याउँदै ओभरटेक गरेर पालो मिच्यो। अब मेरो मनमा प्रश्न उठ्यो- के यो केवल एउटा बाइकको उछिनपाछिन मात्र हो, कि हाम्रो सहरिया सभ्यताको ऐजेरु? यो कुनै सामान्य लामको भङ्गता थिएन; यो त एउटा सामाजिक न्यायको गर्धनमाथि प्रहार गरिएको आधुनिक खुकुरी थियो। त्यो क्षण, मेरो रगतमा उम्लिएको हल्का आक्रोशभन्दा ठूलो एउटा शून्यता थियो, जसले मलाई आधुनिक सहरका यी यान्त्रिक र विसङ्गत पर्खाइहरूबारे सोच्न बाध्य तुल्यायो।

समय हाम्रो युगको सबैभन्दा ठूलो मुद्रा बनेको छ। अमेरिकी कवि कार्ल स्यान्डबर्गले समयको यो मूल्यबोध गराउँदै भनेका छन्, "समय तिम्रो जीवनको सिक्का हो। यो तिमीसँग भएको एक मात्र सिक्का हो र यसलाई कसरी खर्च गर्ने भन्ने निर्णय तिमी आफैँले मात्र गर्न सक्छौ। सावधान रहूँ नत्र तिम्रो सट्टा अरू मानिसहरूले यसलाई खर्च गरिदिनेछन्।"

मानिसहरूले सम्पत्ति कमाउने, ज्ञान आर्जन गर्ने या प्रेम भेट्टाउने दौडमा जति तीव्र वेगले आफूलाई हुत्याएका छन्, त्यति नै बेसी असह्य बन्न पुगेको छ यो पर्खाइ। पर्खाइ, जहाँ कुनै उत्पादक कार्य गर्न सकिँदैन, जहाँ विचारको प्रवाह मात्र हुन्छ, जहाँ हामी शून्यलाई समयको नाम दिएर निरीह उभिरहेका हुन्छौँ। यस्तै एउटा दृश्य केही दिनअघि एउटा बैंकको एटीएम बुथबाहिर पनि मञ्चन भएको थियो। टन्टलापुर घाममा मानिसहरू एउटा अदृश्य मर्यादाको धागोमा बाँधिएर लामबद्ध थिए। बाहिरको रापभन्दा भित्रको मेसिनबाट निस्कने नोटहरूको कृत्रिम शीतलता बढी प्यारो थियो। तर, जब मेरो पालो आउनै लागेको थियो, एकजना सुकिलो मुकिलो देखिने व्यक्ति, जसको हातमा महँगो स्मार्टफोन थियो र अनुहारमा 'व्यस्तता' को एउटा मिथ्या मुकुट, सिधै ढोका धकेलेर भित्र छिरे। उनले बाहिर लाममा बसेका ती आर्त आँखाहरूलाई यसरी उपेक्षा गरे, मानौँ ती मानिसहरू नभएर सडकका कुनै निर्जीव खम्बाहरू हुन्।

यो निरीहताको अनुभव हामीलाई घतलाग्दो गरी बेचैन बनाउँछ। बैंकको काउन्टरअगाडि उभिएको त्यो वृद्धको शरीरलाई हेरौँ, जसले सायद आफ्नो जीवनको ठूलो हिस्सा कठोर पर्खाइमा नै बिताएको छ - बर्खामासको पानीका लागि पर्खाइ, छोराछोरीको उज्ज्वल भविष्यका लागि पर्खाइ, र अब उसको क्षीण भइसकेको पालोका लागि पर्खाइ। उसको खुट्टामा आत्तिएर नाचेको त्यो छटपटीको ताल, मोबाइलको स्क्रिनमा निरन्तर औँला घोटिरहेको छेउको युवकको अवाक् मुद्रा, या रिसले मुठी कसेर काउन्टरतिर एकोहोरो हेरिरहेको त्यो महिलाको अनुहार - यी सबै पर्खाइले कोरिएका सामूहिक चित्र हुन्, जहाँ धीरताभन्ने वस्तु स्खलित भइसकेको छ।

यो'लाइन मिच्ने' प्रवृत्ति केवल समय जोगाउने कुनै दाउपेच मात्र होइन; यो त 'मेरो अस्तित्व र मेरो समय तिम्रोभन्दा बहुमूल्य छ' भन्ने एउटा अहङ्कारपूर्ण घोषणा हो। लाइन एउटा यस्तो अमूर्त धरातल हो जहाँ मन्त्री र मजदुर, धनी र गरिब सबै एउटै पङ्क्तिमा उभिन्छन्-समयको क्रुर ऐनाअगाडि तर जब त्यो रेखा मिचिन्छ, तब समानताको त्यो पातलो र सादगीपूर्ण पर्दा च्यातिएर हाम्रो समाजकोआदिम र स्वार्थीस्वरूप नग्न हुन पुग्छ।

पर्खाइको मनोविज्ञान मूलतः नियन्त्रणको हानिबाट जन्मिन्छ। हामी आफ्नो जीवनको चालक शक्ति आफैँ बन्न चाहन्छौँ तर जब हामी कुनै लाममा उभिन्छौँ, तब हाम्रो समयको लगाम अरू कसैको हातमा जान्छ - त्यो बैंकको कर्मचारी हुनसक्छ, ट्राफिक नियन्त्रकको अपारदर्शी नियम हुनसक्छ, या त हामीभन्दा अगाडि उभिएको व्यक्ति।

यसरी आफ्नो नियन्त्रण गुमेको अवस्थामा मानिसको मनभित्र एउटा आदिम आतङ्कको बीज अङ्कुराउँछ। हामीलाई लाग्छ, यो समय हामीबाट चोरिँदै छ। हाम्रो युग 'तत्काल प्राप्ति' को अभिशप्त दास बनेको छ। दुई मिनेटमा पाक्ने चाउचाउदेखि दुई सेकेन्डमा लोड हुने वेबपेजसम्मको नशा लागेका हामीलाई भौतिक संसारको यो 'पर्खाइ' एउटा मानसिक कैदखाना जस्तो लाग्छ। एटीएमको त्यो सानो छिँडीभित्र प्लास्टिकको कार्ड घुसार्ने हतारो र पेट्रोल पम्पको त्यो कोलाहलमा पेट्रोल हाल्नेआतुरता - यी सबै हाम्रा भित्री दरिद्रताका बिम्ब हुन्।

पर्खाइको त्यो रेखा मिच्ने व्यक्तिको मनोविज्ञानलाई नियाल्दा त्यहाँ एउटा भयानक हीनताबोध लुकेको भेटिन्छ। उसलाई लाग्छ कि नियम पालना गर्नु भनेको 'कमजोर' हुनु हो, कतै पालो नपाएर छुट्नु हो। उसले आफ्नो शक्तिको सान अरूको अधिकार कुल्चेर मात्र महसुस गर्न सक्छ। एटीएममा लाइन मिच्ने ती व्यक्तिको अनुहारमा मैले कुनै बुद्धत्वको चमक देखिनँ, बरु एउटा लुकेको त्रास र यान्त्रिक हतारो देखेँ, मानौँ उसलाई उसको आफ्नै छायाले खेदिरहेको छ। ऊ आफ्नै समयको दास थियो, जो दुई मिनेटको मौनतासँग डराइरहेको थियो। हामीलाई लाग्छ, यो पर्खाइमा बितेको समय 'बर्बाद' भइरहेको छ तर के समय साँच्चै बर्बाद हुन्छ र? समय त केवल गङ्गाको पानीजस्तै अविरल बग्छ, बर्बाद त हाम्रा पुर्खाले सिकाएको त्यो दुर्लभ धीरता र हाम्रो शिष्टाचार भइरहेको हुन्छ।

यो समय, जुन एकपटक गइसकेपछि कहिल्यै फर्कँदैन। पर्खाइले हामीलाई हाम्रो नश्वरतासँग झ्यालबाट चिहाउने मौका दिन्छ। जब हामी चुपचाप उभिन्छौँ, हाम्रा मस्तिष्कभित्रका हजारौँ अपूरा कार्यहरू, भेट्नुपर्ने मानिसहरू, पूरा गर्नुपर्ने सपनाहरू, सबै एकाएक सल्बलाउन थाल्छन्। त्यो क्षण, हामीलाई अनुभव हुन्छ कि हाम्रो जीवनको घडी द्रुत गतिमा टिकटिक गरिरहेको छ र हामी निष्क्रिय भएर त्यसको लय सुनिरहेका छौँ।

मेरो मनमा सधैँ एउटा प्रश्न उठ्छ: के आधुनिकताले पर्खाइको पीडालाई हजार गुणाले बढाएको होइन र? हाम्रा पूर्वजहरू सायद लामो पर्खाइमा अभ्यस्त थिए। एउटा चिठी पाउन महिनौँ पर्खनुपर्थ्यो। धानबाली पाक्नलाई ऋतुचक्रको पूरै यात्रा गर्नुपर्थ्यो। कुनै टाढाको मान्छे भेट्न जहाज या हवाईजहाजको विकल्प थिएन, केवल खुट्टाको गतिमा विश्वास गर्नुपर्थ्यो। त्यो पर्खाइ प्राकृतिक थियो, लयबद्ध थियो। त्यसले मानिसलाई धैर्यको पाठ सिकाउँथ्यो र प्रक्रियाको महत्त्व बुझाउँथ्यो तर आज, हाम्रो हातमा रहेको यो काँचको चतुर्भुज (मोबाइल) ले हाम्रो मस्तिष्कलाई यति तीव्र गतिको ‘फिडब्याक लूप’ मा अभ्यस्त गराएको छ कि कुनै पनि ढिलाइ एक प्रकारको मानसिक अत्याचार जस्तो लाग्न थालेको छ। दुई सेकेन्डभन्दा बढी लोड नभएको वेबपेजले हामीलाई फ्रस्ट्रेशनको उत्कर्षमा पुर्‍याउँछ।

तत्कालै उत्तर नपाएको सन्देशले हामीलाई संसारकै सबैभन्दा एक्लो प्राणी भएको अनुभव गराउँछ। जब यो ‘तत्काल प्राप्तिको लत’ लिएर हामी वास्तविक भौतिक लाममा उभिन्छौँ, तब हामी हाम्रो आन्तरिक ‘डिजिटल टाइम’ र बाह्य ‘भौतिक टाइम’ बीचको भयावह अन्तरमाथि ठोक्किन पुग्छौँ।

त्यही अन्तरको भयानक दबाबले एउटा सामाजिक न्यायको प्रश्न खडा गर्छ। जब लाम मिचिन पुग्छ, त्यसको जगमा बस्ने मनोविज्ञान केवल हतार मात्र हुँदैन। त्यो त 'मेरो समय तिम्रो भन्दा बहुमूल्य छ' भन्ने एक अहङ्कारपूर्ण घोषणा हो। पर्खाइको रेखा एउटा अमूर्त सामाजिक सम्झौता हो। यसले भन्छ: ‘हामी सबै समान छौँ, हामी सबैले एकअर्काको समयलाई आदर गर्नुपर्छ र जसले पहिले प्रवेश गर्यो, उसले पहिले सेवा पाउँछ।’

जब कोही यस रेखालाई भङ्ग गर्छ, तब उसले त्यो सामूहिक समानताको भावनामाथि प्रहार गर्छ। यसले अरू प्रतीक्षारत मानिसहरूमा तत्काल दुई प्रकारको प्रतिक्रिया पैदा गर्छ: आक्रोश र हीनताबोध। आक्रोश किनकि न्याय मिचियो, र हीनताबोध किनकि उनीहरूले स्वयं त्यो सामाजिक नियमलाई तोड्ने साहस गर्न सकेनन् या उनीहरूलाई लाग्यो कि नियम तोड्ने व्यक्ति साँच्चै नै ‘विशेष’ र ‘पीडामा’ होला। यो 'लाइन मिच्ने' प्रवृत्ति, आधुनिक समाजमा नैतिकताको पातलो खोल कति सजिलै च्यातिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो। उसले आफ्नो व्यक्तिगत स्वार्थका लागि सामुहिक सहिष्णुताको भित्तो भत्काउँछ, र त्यो देख्ने अरू मानिसहरू पनि भोलिका सम्भावित रेखा-मिचाहा बन्ने बाटोमा अचेत रूपमा हिँड्न थाल्छन्।

म कल्पना गर्छु, सडक किनारमा ट्राफिक जाममा रोकिएको त्यो पल, जब सबै इन्जिनहरू मन्द आवाजमा गुनगुनाइरहेका हुन्छन् र हामी अगाडिको गाडीको बम्परभन्दा पर केही देख्न सक्दैनौँ। त्यो पर्खाइ एउटा सानो बन्द संसार हो। हाम्रो आँखा अगाडि समय स्थिर भएको जस्तो लाग्छ तर वरिपरि सबै कुरा गतिशील हुन्छन्। समयलाई कसरी नाप्ने? घडीका काँटाहरूले होइन, बरु हामीले महसुस गरेको पीडाको गहिराइले। पर्खाइको लामो अवधिमा हाम्रो मन एउटा खाली क्यानभास बन्छ। त्यो क्यानभासमा हामी या त अनावश्यक चिन्ताका तस्बिरहरू कोर्छौं या विगतका सुखद् या दुखद् क्षणहरूको भिडियो प्ले गर्न थाल्छौँ। हामी वर्तमानको त्यो निरस, स्थिर क्षणमा बस्न सक्दैनौँ, किनकि त्यसले हामीलाई हाम्रो ‘केही नगरेको’ अवस्थासँग साक्षात्कार गराउँछ।

जीवन आफैँमा एउटा ठूलो पर्खाइको सिलसिला हो। हामी जन्मन्छौँ, र त्यसपछि मृत्युको त्यो अन्तिम, अटल पर्खाइ सुरु हुन्छ। बीचका सबै पर्खाइहरू - स्कूलमा घण्टी बज्ने पर्खाइ, प्रेमको जवाफको पर्खाइ, परीक्षाको नतिजाको पर्खाइ, ज्याला आउने पर्खाइ - सबै त्यस विराट पर्खाइका साना साना प्रतिलिपि मात्र हुन्। हामी जीवनमा जतिसुकै दौडधूप गरौँ, अन्ततः हामीलाई पर्खाइको विश्रामस्थलमा आइपुग्न बाध्य पारिन्छ। शायद पर्खाइको सबैभन्दा ठूलो मनोवैज्ञानिक चुनौती नै यही हो कि यसले हामीलाई 'गन्तव्य' मा मात्र ध्यान केन्द्रित गर्न सिकाउँछ, 'यात्रा' मा होइन। हामी परिणामको भोको छौँ, प्रक्रियाको होइन।

यो प्रवृत्तिले हाम्रो संस्कृतिमा पनि गहिरो छाप छोडेको छ। पूर्वीय दर्शनमा पर्खाइलाई कहिलेकाहीँ तपस्या या साधनाको रूपमा हेरिन्थ्यो। बुद्धलाई बोधि प्राप्त गर्न लागेको त्यो कठोर प्रतीक्षा, योगीहरूले समाधिमा बस्न वर्षौं लगाएको त्यो अभ्यास - त्यो पर्खाइ उत्पादक थियो। त्यो भित्र फर्किने, शुद्धीकरणको प्रक्रिया थियो तर आजको उपभोक्तावादी समाजले हामीलाई सिकाएको छ कि पर्खाइ भनेको स्रोतको अभाव हो, सुविधाको कमी हो। पर्खाइलाई एउटा 'बग' (त्रुटि) को रूपमा हेरिन्छ, जसलाई तत्काल समाधान गर्नुपर्छ। त्यसैले, जब लाम अलि लामो हुन्छ, हाम्रो भित्री उपभोक्तावादी चित्कार जाग्छ: ‘मसँग यसलाई किन्न पैसा छ, मसँग यो सुविधा पाउनुपर्ने अधिकार छ, मैले किन पर्खनु?’ यही अधिकारबोधको अहं नै रेखा मिच्ने साहस बन्न पुग्छ।

पर्खाइमा गरिने मानसिक लेखाजोखा पनि रोचक हुन्छ। 'यो लाइन किन यति ढिलो चलिरहेको छ?' भन्ने प्रश्नले जन्म दिएको हुन्छ 'मेरो जीवनका कति अमूल्य सेकेन्डहरू यहाँ बर्बाद भइरहेका छन्?' भन्ने गहिरो गणनालाई। हामी मानौँ, हाम्रो समयको प्रत्येक थोपालाई सुनजस्तै तौल्न थाल्छौँ। यदि हामीले पर्खिरहेको वस्तुको मूल्य (जस्तै: एउटा बर्गर या २०,००० रुपैयाँ) लाई पर्खाइमा खर्च भएको समयको हिसाबले भाग गर्ने हो भने, त्यो क्षणको 'मूल्य' भयानक रूपमा घट्छ। यो 'मूल्य-समय अनुपात' को चिन्ताले हामीलाई झन् उत्तेजित बनाउँछ। अझ, यदि छेउको लाम (जुन हामीले छाड्यौँ) अलि छिटो चल्यो भने, त्यो क्षणिक क्रोध 'निर्णयको पश्चात्ताप' मा परिणत हुन्छ, जसले हाम्रो सम्पूर्ण पर्खाइलाई व्यर्थ र आत्म-यातनामय बनाइदिन्छ।

हामी सधैँ त्यो 'उत्तम लाम'को खोजीमा हुन्छौँ। हाम्रो दिमागले लामहरूको गतिलाई सूक्ष्म रूपमा विश्लेषण गरिरहेको हुन्छ। कुन काउन्टरमा कम मानिस छन्? कुन कर्मचारी छिटो काम गर्छ? हामी यो पर्खाइलाई पनि एउटा खेल या प्रतिस्पर्धाको रूपमा लिन्छौँ, जहाँ जित्नेले केही मिनेटको समय बचत गर्छ। यो निरन्तरको मानसिक भागदौडले-जहाँ हामी शारीरिक रूपमा स्थिर छौँ तर मस्तिष्क अत्यन्त गतिशील-पर्खाइलाई झनै पीडादायी बनाउने प्रमुख कारण हो।

तर, के पर्खाइमा कुनै सौन्दर्य छैन त? यदि हामीले डिजिटल घडीलाई एकछिनका लागि बन्द गरिदिने हो भने, यदि हामीले आफ्नो स्मार्टफोनलाई खल्तीमा थन्क्याइदिने हो भने, त्यो स्थिर क्षणले हामीलाई के प्रदान गर्छ? शायद त्यो क्षणले हामीलाई आफैँसँग गफ गर्ने दुर्लभ अवसर दिन्छ। हामी यो आधुनिक दुनियाँमा यति बेसी हल्ला, सूचना र व्यस्तताले घेरिएका छौँ कि हामीले आफ्नो भित्री आवाज सुन्ने मौका नै पाउँदैनौँ । पर्खाइ एउटा मौनताको ओएसिस (मरुद्यान) हुनसक्छ, जहाँ हामीले लामो समयदेखि टाढा राखेका विचारहरू, दबेर रहेका भावनाहरू र अपरिभाषित चिन्ताहरूलाई नजिकबाट हेर्न सक्छौँ। त्यो ट्राफिक जाममा, त्यो लाइनमा उभिएर, म अचानक मैले लेख्न चाहेको कविताको पहिलो हरफ सम्झन सक्छु, या मैले माफी माग्नुपर्ने त्यो पुरानो मित्रको सम्झना आउन सक्छ। पर्खाइले हामीलाई 'अहिले' र 'यहाँ' उपस्थित हुन बाध्य पार्छ।

यो आत्मपरक यात्राले मलाई एउटा फरक विन्दुमा पुर्यािउँछ: पर्खाइको प्रतिरोध। जब हामी पर्खाइको पीडाबाट वाक्क हुन्छौँ र नियम मिच्न खोज्छौँ, त्यो हाम्रो आदिम आवेग हो तर जब हामी स्वेच्छाले त्यो पर्खाइलाई अँगाल्छौँ, त्यसलाई ध्यानको एउटा रूप दिन्छौँ, तब त्यो प्रतिरोध भङ्ग हुन्छ। प्रतीक्षा एउटा गुरु हुनसक्छ जसले हामीलाई सिकाउँछ कि जीवनका केही कुराहरू हाम्रो नियन्त्रणभन्दा बाहिर छन्। हामीले पानीलाई उम्लन पर्खनै पर्छ। बिरुवालाई हुर्कन पर्खनै पर्छ। अनि त्यो अपरिहार्य मृत्युलाई पनि पर्खनु नै पर्छ । यी पर्खाइहरूलाई स्वीकार्नु भनेको प्रकृति र समयको लयलाई स्वीकार्नु हो।

आजकल म जब कुनै लाममा उभिन्छु, म त्यो लामलाई एउटा कर्मको परीक्षा मान्छु। मेरो अगाडि उभिएका यी अपरिचित अनुहारहरू, जो मेरो जस्तै छटपटी र हतार बोकेर हिँडेका छन्, उनीहरू सबै मेरो सामूहिक नियतिका सहयात्री हुन्। हामी सबै कुनै न कुनै अपरिभाषित गन्तव्यतिर दौडिरहेका छौँ तर यो क्षणमा हामी एक ठाउँमा स्थिर छौँ, सामाजिक नियमको अदृश्य डोरीले बाँधिएका।

त्यो रेखा मिच्ने प्रवृत्तिलाई मैले अब केवल व्यक्तिगत दोषका रूपमा हेर्न छाडेको छु। त्यो त एउटा समाजको सामूहिक निराशाको अभिव्यक्ति हो। जब कुनै समाजमा न्याय ढिलो हुन्छ, जब परिणामहरू अपारदर्शी हुन्छन्, जब मानिसलाई लाग्छ कि नियम केवल कमजोरका लागि मात्र हो, तब उनीहरू त्यो सामाजिक सम्झौता तोड्न उत्प्रेरित हुन्छन्। बैंकको लाममा नियम तोड्ने व्यक्तिले जीवनको ठूलो लाममा पालो नपाएको आक्रोश व्यक्त गरिरहेको हुन्छ। उसले आफ्नो जीवनको नियन्त्रण फर्काउन खोजिरहेको हुन्छ, चाहे त्यो केवल पाँच मिनेटको समय बचाएर नै किन नहोस्। यो कार्य एक प्रकारको आत्मघाती विद्रोह हो।

पर्खाइ, चाहे त्यो काठमाडौँको धूलोयुक्त सडकको ट्राफिक जाम होस् या कुनै दूरदराजको सरकारी अड्डाको फाइल अगाडि, यो हाम्रो अस्तित्वको अनिवार्य अंश हो। यसले हामीलाई बलजफ्ती रोक्छ, र रोकिनुको अर्थ हुन्छ - महसुस गर्नु। हामी हतारमा जीवन जिउन खोज्दा कतिपय सुन्दर र महत्त्वपूर्ण क्षणहरूलाई बिर्सन्छौँ। पर्खाइले त्यो बिर्सिएको लयलाई पुनः स्थापित गर्न खोज्छ। यो लय, जुन प्रकृतिले सधैँ गाउँदै आएको छ - बिस्तारै, धैर्यपूर्वक।

यदि हामीले पर्खाइलाई केवल 'समयको नाश' को रूपमा नहेरी 'जीवनको निरन्तरता' को रूपमा हेर्न सक्यौँ भने, शायद त्यो एटीएमको लाम, त्यो पेट्रोलपम्पको भीड, या त्यो बैंकको लामो कागजी प्रक्रियाको भयावहता कम भएर जानेछ। पर्खाइ एउटा खाली पृष्ठ हो। हामी चाहे त्यो पृष्ठलाई चिन्ताको कालो धब्बाले भर्न सक्छौँ, या त त्यसमा एउटा सानो, सुन्दर, तत्कालको कविता लेख्न सक्छौँ। पर्खाइको पीडा तबसम्म मात्र रहन्छ, जबसम्म हामी त्यसलाई हाम्रो नियन्त्रणको अभाव मानेर डराइरहन्छौँ। जसै हामी नियन्त्रण गुमाउनुलाई नियतिको स्वीकारोक्ति मान्छौँ, त्यो पीडा बैरागमा बदलिन्छ, जसरी वनारसमा मृत्युलाई उत्सव मानिन्छ  र त्यही बैरागमा भेटिन्छ, पर्खाइको गहिराइमा लुकेको अटल शान्ति।

यी आधुनिक भिडका पर्खाइहरूका माझमा म आफूलाई एउटा प्राचीन ऋषिजस्तै कल्पना गर्न थालेको छु। मेरा हातमा स्मार्टफोनको ताप होइन, बरु एउटा अनवरत बगिरहने गङ्गाको शीतलता हो। म यो लामलाई केवल सेवा प्राप्त गर्ने बाटो मात्र मान्दिनँ, बरु यसलाई एउटा सामूहिक चेतनाको नदी मान्छु, जहाँ हामी सबै आफ्नो व्यक्तिगत हतार र सामूहिक धैर्यताको संगममा पौडिरहेका छौँ। र जब त्यो लाम मिचिन पुग्छ, म आक्रोशित हुनुको सट्टा त्यो मिच्ने व्यक्तिलाई दयाको भावले हेर्छुकिनकि उसले आफ्नो नियन्त्रण गुमाएर सामाजिक अनुशासनको मूल्य चुकाउनु परेको छ। अन्ततः हामी सबै अन्तिम लाममा उभिनै पर्छ, त्यो लाम जसको पालो नआउँदासम्म कुनै शक्तिले हामीलाई छेक्न सक्दैन। तबसम्मका लागि, यो पर्खाइ नै हाम्रो यात्रा हो  र यसको स्वीकारोक्ति नै हाम्रो मुक्ति।

प्रकाशित: २२ चैत्र २०८२ १२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App