२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

साहित्य मानव सभ्यताको आत्मबोध गर्ने माध्यम होः सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधि, कृत्रिम बौद्धिकता र ‘एल्गोरिदम’द्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन–जगत्लाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताए।  आज ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप’ मा बोख्दै उनले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोडेको बताए।  

‘एल्गोरिदम, डेटा र तीव्र गतिले आकार दिइरहेको विश्वमा मानिसहरू अझै किन कविता लेख्छन् ? किन कथा सुनाइरहन्छन् ? किनकि साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम हो’, उनले भने।  

यस वर्षको महोत्सवको विषयवस्तु सान्दर्भिक रहेको भन्दै  सञ्चारमन्त्री तिमिल्सिनाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेको बताए।   

‘सूचना प्रविधिको युगमा हामी पहिलेभन्दा धेरै जोडिएका छौँ तर एकअर्कालाई पहिलेभन्दा धेरै बुझ्न सकेका छैनौँ। यही कारण साहित्य अपरिहार्य बन्छ । साहित्यले तीव्र गतिमा दौडिरहेको संसारलाई केही समय रोक्न बाध्य बनाउँछ’, उनले भने।  साथै उनले कविता उपन्यास र अनुवादको भूमिकाबारे चर्चा गर्दै लेखकहरूले केवल पाठ सिर्जना मात्र नगरी मानवतालाई  जोगाइरहेको बताए। 

आफूले झण्डै एक दशक नेपाली साहित्य र सङ्गीतमा केन्द्रित रेडियो कार्यक्रम सञ्चालन गरेको अनुभव सुनाउँदै उनले साहित्य र सङ्गीतले राजनीति, भूगोल र सामाजिक विभाजनले नपुग्ने ठाउँसम्म सम्बन्ध विस्तार गर्नसक्ने बताए। 

मुलुकको सांस्कृतिक विविधता र भाषिक सम्पदाबारे चर्चा गर्दै उनले नेपालमा १२० भन्दा बढी भाषा बोलिने र हरेक भाषाको आफ्नै विशिष्टता रहेको बताउँदै ‘हरेक भाषाले आफ्नो विश्वदृष्टि बोकेको हुन्छ। हरेक समुदायका कथा, लोकसाहित्य, मिथक र स्मृतिले हाम्रो साझा पहिचानलाई समृद्ध बनाएका छन्’, उनले भने।  

आफ्नो साहित्यिक यात्राबारे चर्चा गर्दै सन् २००६ मा नेपाली गजलसङ्ग्रह प्रकाशन गरेको र कविताले तथ्याङ्क, नीति र औपचारिक भाषणले व्यक्त गर्न नसक्ने सत्यलाई अभिव्यक्त गर्न सक्ने उनको भनाई थियो।  

नेपाली साहित्यिक परम्पराबारे चर्चा गर्दै उनले आदिकवि भानुभक्त आचार्यदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटासम्मका स्रष्टाले स्थानीय यथार्थलाई सार्वभौमिक मानवीय चिन्तनसँग जोडेको बताए। साथै वर्तमान पुस्ताका लेखक, पत्रकार, अनुवादक र सर्जकहरूले पनि यही परम्परालाई नयाँ चुनौतीसँग जोड्दै अगाडि बढाइरहेका उनले बताए।   

विभिन्न साहित्यिक मेला तथा जमघटको महत्त्वबारे चर्चा गर्दै विचारलाई सीमापार र विश्वभर स्वतन्त्र रूपमा यात्रा गर्न सहयोग गर्ने  र अन्तरराष्ट्रिय साहित्यकारहरूको काठमाडौं भेलाले नेपालका हिमाल, सम्पदा, संस्कृति, भाषा र कथाहरूलाई विश्वसमुदायसम्म पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।   

सञ्चारमन्त्री तिमिल्सिनाले समाज निर्माणमा पूर्वाधार, संस्था र अर्थतन्त्र जतिकै कल्पना, भाषा, संस्कृति र स्मृतिको पनि महत्त्वपूर्ण भूमिका हुने बताए। 

‘सरकारले पूर्वाधार निर्माण गर्न सक्छ। संस्थाले प्रणाली बनाउन सक्छ। अर्थतन्त्रले समृद्धि दिन सक्छ  तर लेखक, कलाकार, कवि र कथाकारहरूले राष्ट्रको भित्री जीवन निर्माण गर्छन्’, उनले भने।    

प्रकाशित: २१ जेष्ठ २०८३ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App