४ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

‘एक घर एक धारा’ कार्यक्रमले हलेसी तुवाचुङका ३१ घरधुरी लाभान्वित

सल्ले खानेपानी उद्घाटन गर्दै मेयर राई । तस्विरः नागरिक

खोटाङको हलेसी तुवाचुङ नगरापलिकाले थालेको ‘एकघर एक धारा’ अभियानअन्तर्गत पहिलो पटक झण्डै ३ दर्जन घर परिवार लाभान्वित भएका छन् । खानेपानीको चरम अभाव भोग्दै आएका हलेसी तुवाचुङ नगरबासीलाई सुद्ध खानेपानी उपलब्ध् गराउने उदेश्यले केहीवर्षयता नगरपालिकाले विभिन्न संघसँसथासँगको सहकार्यमा एक घर एक घारा अभियान सुरु भएहो हो ।

अभियानअन्तर्गत पहिलोपटक वडा नं. ९ को सल्लेमासम्पन्न खानेपानी योजनाबाट स्थानीयबासी ३१ घर परिवार सुद्ध खानेपानीबाट लाभान्वित भएको नगरपालिकाले जनाएको छ । योजना सञ्चालनका लागि सेवानिबृत्त गोर्खा सैनिकहरुको संगठन ‘गोर्खा वेलफेयर ट्रष्ट (जिडब्ल्युटी)ले सहयोग गरेको हो । जिडब्ल्युटीको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित खानेपानी योजना सम्पन्न भएपछि सल्लेका ३१ घर घुरी स्थानीयबासील सुद्ध खानेपानी पाएका छन् ।

सल्लेमा बसोबास गर्दै आएका ३१ घरधुरी सबै मगर समुदायका रहेको पनि नगरपालिकाले जनाएको छ । खानेपानीको चरम अभाव भएपछि हलेसी तुवाचुङ नगरपालिकालाई सख्खाग्रस्त क्षेत्र घोषणा गरेर खानेपानी योजना निर्माण गर्न एक घर एक धारा अभियान चलाइएको थियो । जस अनुसार विभिन्न मुहानबाट योजना निर्माणको काम भईरहेको छ ।

खानेपानीको मुहान अभावमा नगरपालिकाले स्थानीय खोला, कुवा र उदयपुर र खोटाङ सीमा भएर बग्ने दुध नदीबाट लिफ्टिङ प्रविधिको प्रयोग गर्दै खानेपानी योजना सञ्चालन गर्दे गरेको छ । सल्लेको खानेपानी योजना सञ्चालनका लागि कुल ५३ लाख लागत रहेकोमा जिडब्ल्युटीले ४६ लाख सहयोग गरेको थियो भने बाँकी स्थानीय उपभोक्ताबाट ७ लाख बराबरको श्रमदान तथा नगद सहभागिता जनाइएको हलेसी तुवाचुङ नगरपालिका ९ का वडाध्यक्ष काशीराज राईले बताए ।

सल्ले खानेपानी योजनाका लागि स्थानीय ठूलो पँधेरोमा मुहान थालेर लिफ्टिङ प्रविधिबाट पानी तानेर धारासम्म पुर्याइएको छ । योजना सम्पन्न भएसँगै सुद्ध खानेपानीको अभावमा वर्षौंदेखि समस्यामा रहेका सल्लेबासी मगर समुदायको घर आँगनमै स्वच्छ खानेपानी उपलब्ध भएको वडाध्यक्ष राईले बताए । 

खानेपानी योजना निर्माण पनि ऐतिहासिक रुपमा छिटो सम्पन्न भएको वडाध्यक्ष राईले बताए । उनका अनुसार सो योजना निर्माण सुरु भएको ७२ दिन (अढाई महिना)भित्रै सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । गोर्खा वेलफेयर सोसाइटी धरानका सिनियर अफिसर केदार राईका अनुसार काम थालेको ७२ दिनभित्रै योजना सम्पन्न गरेर स्थानीयबासीको घरघरमा धारा जडान गरि खानेपानी खसाइएको छ ।

योजनाअन्तर्गत २६ घरमा निजी तथा २ वटा सार्वजनिक धारा जडान गरिएको छ । लिफ्टिङ खानेपानी योजना सञ्चालनमा आएसँगै स्थानीयबासीर्लाइ विहान बेलुका घण्टौँ टाढाबाट पानी ल्याएर खानुपर्ने बाध्यता सदाका लागि अन्त्य भएको छ ।

सम्पन्न खानेपानी योजनाको मंगलबार एक कार्यक्रमका बीच उद्घाटन तथा हस्तान्तरण सम्पन्न भएको छ । नगरप्रमुख विमला राईमार्फत उदघाटनपछि जिडब्ल्युटीले नगरपालिकालाई योजना हस्तान्तरण गरेको हो । उद्घाटन गर्दै मेयर राईले नगरवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सुरु गरेको ‘एक घर, एक धारा’ कार्यक्रम स्थानीय सरकार, विकास साझेदार संस्थाहरु तथा प्रदेश र संघीय सरकारको सहकार्यमा भईरहेको बताईन् । सल्लेका नागरिकले वर्षौँपछि खानेपानी प्राप्त गर्नुमा महत्वपूर्ण योगदान गरेकोमा मेयर राईले जिडब्ल्युटीप्रति आभार व्यक्त गरिन् । उनले जिडब्ल्युटीको यो सहयोग पूर्वाधार निर्माण मात्र नभएर नागरिकको जीवनस्तर उकास्ने महत्वपूर्ण सामाजिक उत्तरदायित्वसमेत भएको मेयर राईको बखान थियो ।

खानेपानी समस्या समाधानसँगै जिडब्ल्युटीले सल्लेको सामुदायिक विद्यालय र मगर समुदायका लागि सामुदायिक भवनसमेत निर्माण गरिदिएको छ ।

प्रकाशित: २१ जेष्ठ २०८३ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App