१ वैशाख २०८३ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

शनि, राहु र मंगलको सम्बन्ध र विश्व संघर्ष

पञ्चाङ्ग

ग्रहहरूको आकर्षण र विकर्षणको अदृश्य शक्तिले प्रकृति र मानव जीवनको मानसिक प्रवृत्तिमा प्रत्यक्ष प्रभाव पार्छ। यही प्रभावका कारण विश्वका घटनाक्रमहरू चलायमान हुन्छन्। प्राचीन ऋषिमुनिहरूले आफ्नो सम्पूर्ण जीवन ग्रह र प्रकृतिको सूक्ष्म अध्ययनमा समर्पित गरेर ‘ज्योतिषशास्त्र’को विकास गरे। यो शास्त्र आज पनि विश्वभर अनुसन्धानको विषय बनेको छ। वर्तमान समयमा विश्वमा बढ्दो अशान्ति र युद्धको अवस्थालाई ग्रहगोचरका आधारमा यहाँ संक्षिप्त विश्लेषण गरिएको छ।

शनि र मंगलको संहारक सम्बन्ध

संहिता ज्योतिषका अनुसार शनि र मंगलको संयोगलाई अत्यन्तै घातक र संहारक मानिन्छ। यी दुई ग्रहको युति (एकै ठाउँमा हुनु) वा वेध (परस्पर १८० डिग्रीको दृष्टि) हुनु युद्ध, जनधनको विनाश र भीषण संघर्षको सूचक हो। ज्योतिषीय मान्यताअनुसार ‘राहु’ले पनि शनिजस्तै फल दिने हुनाले मंगल र राहुको सम्बन्ध हुँदा पनि विश्वका विभिन्न क्षेत्रमा युद्धजन्य परिस्थितिहरू सिर्जना हुने गरेको देखिन्छ। अहिले तत्काल चैत १९ गतेदेखि २०८३ वैशाख २८ गतेसम्म शनि र मंगलको मीन राशिमा सहयुति भइरहेको छ।

सूर्य, मंगल, राहु, केतु र शनि क्रमशः आधिकारिक रूपमा ‘पाप’ वा ‘उपद्रवकारी’ ग्रह मानिन्छन्। यीमध्ये शनि सर्वाधिक विघातक हुने भएकाले यसको स्थितिबारे गम्भीर विचार गर्नुपर्ने शास्त्रीय मान्यता छ। भनिएको पनि छ– तारात्रयांकिते भागे सौरिं यत्नेन चिन्तयेत्।

शनिको गोचर र भविष्यको संकेत

लगभग ३० वर्षको अन्तरालपछि २०८१ चैत १६ गते शनि मीन राशिमा प्रवेश गरेको थियो। यसको भ्रमण तालिका यसप्रकार रहने देखिन्छ– २०८२ वैशाख १५ गते दक्षिणतर्फको दहन मार्गको नक्षत्र ‘उत्तराभाद्रपद’मा भ्रमण। २०८३ जेठ १८ गते दहन मार्गकै ‘रेवती’ नक्षत्रमा प्रवेश।

२०८३ साउन तेस्रो हप्तादेखि मंसिर चौथो हप्तासम्म शनि बक्री रहनेछ। २०८४ जेठ तेस्रो हप्ता शनि आफ्नो निच राशि ‘मेष’मा प्रवेश गर्नेछ। २०८४ मा शनि बक्री हुँदा फेरि कात्तिक ४ गतेदेखि फागुन ११ गतेसम्म अन्तिम पटक मीन राशि तथा रेवती नक्षत्रमा शनि देखिने हुन्छ।

द्विस्वभाव राशिमा शनिको फल

ज्योतिषीय ग्रन्थका अनुसार कन्या, मिथुन, मीन, वृष र धनु (द्विस्वभाव) राशिमा शनि रहँदा पृथ्वीमा कष्ट र अस्थिरता बढ्छ –  

कन्यायां मिथुने मीने वृषे धनुषि वा स्थितः।  

शनिः करोति दुर्भिक्षं राज्ञं युद्धं परस्परम्।।

अर्थात् यी राशिमा शनि हुँदा अनिकाल (दुष्काल) पर्ने र राष्ट्रप्रमुखहरूबिच युद्ध हुने सम्भावना रहन्छ। नेपालको इतिहास हेर्दा २००७ सालदेखि यताका अधिकांश ठुला राजनीतिक परिवर्तनको समयमा शनि यिनै द्विस्वभाव राशिमा रहेको र गुरु (बृहस्पति) सँग केन्द्रीय सम्बन्ध बनाएको देखिन्छ।

२०८२ जेठको प्रारम्भदेखि २०८३ जेठ १८ गतेसम्म गुरु र शनि ९० डिग्रीको कोणमा परस्पर केन्द्रको दुवै द्विस्वभाव राशिमा तथा जेठ १८ बाट गुरुको प्रवेश चर राशि कर्कटमा हुनेछ। २०८३ जेठपछि शनि र गुरु फेरि २०८५ पुस अन्तिम सप्ताहबाट २०८७ असोज तेस्रो सप्ताहसम्म पनि चर राशि मेष र तुलामा परस्पर १८० डिग्रीमा देखिन्छन्। संहिता ज्योतिष अनुसार कुनै एक प्रकारको अशुभ प्रभावभन्दा धेरै प्रकारका अशुभ प्रभावहरू जुधेको खण्डमा विश्व परिवेशमा ठुला अप्रिय घटनाहरू घट्ने गरेको विगतका ज्योतिषीय अनुसन्धानमा देखिएका छन्। शनि र गुरु परस्पर केन्द्रको राशिमा रहँदा विश्वका लागि युद्ध आदि दृष्टिकोणले राम्रो हैन भनेर नागरिक दैनिकमा प्रकाशित पूर्व लेख गुरु–शनिको महायुतिमा विस्तृतमा जानकारी गराएको थिएँ।

मीन राशिको शनि र प्राकृतिक प्रकोप

मीन राशिको शनिमा खेतीको अभाव, नाना प्रकारका भयानक रोगहरूको उत्पत्ति आदि हुनसक्ने मानिन्छ। सबै राशिमा तुला र मीनको शनिलाई विश्वका लागि अलि बढी अनिष्टकर मानिएको छ। मीन राशिमा शनिले भ्रमण गरेमा पृथ्वी कम्पायमान हुन्छ, तेज वायु चल्ने, नागलोक कम्पायमान हुने, सातै द्वीप समुद्र र पर्वतहरू वृक्षादिहरूको हानि हुन्छ, शासकहरूको हानी, कुनै देशको प्रलय र वर्षाको विनाश तथा समुद्र शुष्क हुन सक्छ।

आकाश चलायमान हुन्छ, नागलोक कम्पायमान हुन्छ, चन्द्र–सूर्य आदि सर्वग्रह तेजहीन हुन्छन्, प्रचण्ड हावा चल्छ, शासकहरूको नाश, मनुष्यहरूको मरण, वर्षाको विनाश, चक्रावत्र्तको जस्तै यो जगत् भ्रमण गर्ने भनेर यसप्रकारले मीनराशि गत शनिको फल गर्गसंहितामा पनि भनिएको छ। यद्यपि विचार गर्दा २०८२, २०८३ दुवै वर्ष जेठ शुक्लप्रतिपदा र त्यस दिनको नक्षत्रबाट विचार गरिने वायु स्तम्भ भने कमजोर अवस्थामा नदेखिनुलाई एक प्रकारले ठुलो भूकम्प सम्बन्धित दृष्टिकोणले बचाव पक्ष मान्न सकिन्छ।

शनिको घर कुम्भमा राहुको भ्रमण

२०८२ जेठदेखि २०८३ मंसिर २३ गतेसम्म, त्यसपछि २०८५ को वैशाखसम्म मकर राशिमा राहुले भ्रमण गरिरहेको देखिन्छ।

शनिभवने युद्धभयं सरोगता वस्तुनो महर्घत्वम्।

शनिवच्छेषं वाच्यं प्रायस्तमसः प्रकृतिसाम्यात्।।

अर्थात् शनिको घरमा राहु हुँदा विश्वमा युद्धका भय रहने, रोग हुने र महँगी र रोगव्याधिको प्रकोप बढ्ने मानिन्छ। विशेषगरी राहुको फलादेश शनिको जस्तै बुझ्नु भनिएको छ, किनकि राहु र शनिको प्रकृति समान छ।

त्यसैगरी शनि कुनै पनि द्विस्वभाव राशिमा रहेको बेला केही पाप ग्रह त्यसको छेउछाउ छन् भने प्रलयंकर योग हुन्छ पनि भनिएको छ।

राहु, मंगल र अङ्गारक योग

गएको २०८२ फागुन ११ गतेदेखि चैत १९ गतेसम्म शनिको कुम्भ राशिमा मंगल र राहुको सहयुतिद्वारा अङ्गारक योग बनिरहेको थियो। २०८२ जेठ २३ गतेदेखि साउन १२ गतेसम्म मंगल, राहु, सिंह र कुम्भमा परस्पर १८० डिग्रीको अन्तरमा थिए। त्यसबिचको समयमा इजरायलले अमेरिकासँग मिलेर इरानमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो। अमेरिका र इजरायलले इरानसँग १२ दिन लामो युद्ध लडेको थियो। करिब आठ महिनापछि फागुन दोस्रो सप्ताहबाट फेरि मंगल र राहु एउटै राशि कुम्भमा रहँदा ती देशमा फेरि युद्ध सुरु भएपछि विश्वमा महँगी बढेर हाहाकार भइरहेको छ।

२०८३ कात्तिक २६ गतेबाट मंसिर १९ गतेसम्म पनि सिंहमा मंगल, केतु, गुरु तथा कुम्भको राहुसँग परस्पर दृष्टिमा रहेर चाण्डाल र अङ्गारक योग बनिरहेको छ। फागुन २५ देखि ८४ वैशाखसम्म कर्कटमा मंगल, केतु, गुरु र मकरमा राहुको स्थितिद्वारा चाण्डाल र अङ्गारक योगको सिर्जना हुने देखिन्छ। मंगल ग्रहलाई सेना–पुलिस, सबै प्रकारका सुरक्षा संयन्त्र, भूमि, आगो, युद्ध तथा हाम्रो देशको नामराशि स्वामी र काठमाडौं एवं मिथिला क्षेत्रको सांहितिक कारक ग्रह पनि मानिन्छ।

बक्री भएको अवस्थामा शनिसम्बन्धित अशुभ फल बढी मात्रामा आभास हुनसक्ने पनि मानिन्छ। विशेषगरी अरू अशुभ ग्रहयोग पनि जुधेको खण्डमा कुनै ठुलै अप्रिय घटना पनि घट्न सक्छ। वर्ष २०८२ मा शनि साउन २ गते बक्री हुन सुरु भएर मंसिर ७ गते मार्गी भएको थियो। त्यसैबिचमा नेपालमा घटेको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना र त्यो घटनामा ६ दर्जन बढीले ज्यान गुमाउनुका साथै अनेकौं व्यापारिक प्रतिष्ठान, नेताहरूका घरलगायत राष्ट्रका ऐतिहासिक धरोहरहरू सिंहदरबार, संविधानसभा भवन, जिल्ला अदालत आदि जलेर राष्ट्रलाई खर्बौंको नोक्सानी भयो।

गएको साउन १२ गतेदेखि भदौ २८ गतेसम्म शनि र मंगल कन्या र मीन राशि परस्पर दृष्टिमा थिए। वर्षको राजा सूर्य हुनु तथा २०८२ भदौ महिनामा सूर्यको शत्रु मानिने ग्रह शनिबारको संक्रान्ति, मंगल स्वामी मानिने नेपालको राशि वृश्चिकबाट प्रतिकूल मानिने आठौंमा मिथुनको गुरु, चौथोमा शनिको घर कुम्भमा राहुको गोचर, दक्षिण मार्गमा शुक्रको उदय, साउन अधिकमासलगायत अशुभ प्रभाव पनि जुधिरहेको अवस्था थियो।

नक्षत्रका आधारमा सजगता

शनिको भ्रमण नक्षत्रानुसार विश्वमा सजग रहनुपर्ने प्रभावहरूको विचार गर्दा २०८२ वैशाखदेखि २०८३ जेठ १८ सम्म तथा असोज चौथो सप्ताहबाट माघ अन्तिम सप्ताहसम्म बृहत्संहितानुसार उत्तराभाद्रपद नक्षत्रमा शनिको भ्रमण हुँदा नदीहरूको छेउछाउको भागमा बस्ने, सबै प्रकारका वाहन निर्माणादिसँग सम्बन्धित व्यक्ति, स्त्री र सुन यी सबै वस्तु र जीवलाई कष्ट वा वस्तुको अभाव हुन सक्छ।

त्यसैगरी पदार्थ क्षेत्रानुसार विप्र, यज्ञादि क्रियाहरू, दान क्रिया, तपस्या, आदि गर्नेहरू, धेरै ऐश्वर्यशाली व्यक्ति, सन्यासी, पाखण्डी, राजा, उत्तम भोज्य पदार्थहरूका व्यवसायी आदिलाई पनि कष्ट हुनसक्ने मानिन्छ। त्यसैगरी २०८३ जेठ १८ बाट असोजसम्म र माघ अन्तिमदेखि २०८४ जेठसम्म शनि ग्रह रेवती नक्षत्रमा सञ्चार गरिरहेको हुन्छ। तब राजा अर्थात् शासक वा राज्यका सेवकहरू, राज्यबाट पालित वा संरक्षित व्यक्तिहरू पीडित हुने मानिन्छ। क्रौञ्चद्वीपमा बसोबास गर्ने मानिस, यवन तथा म्लेच्छ जाति पनि पीडित हुन्छन्। शरद् ऋतुमा उत्पादन हुने अन्न (धान्य)को नोक्सानी हुने मानिन्छ।

गएको फागुन २३ गते अस्त भएको शनि आज राति उदय हुँदै छ। मीन राशिमा शनि अस्त भएमा वर्षाको कमी, शासकहरू आफ्नो धर्मबाट विमुख हुन्छन् र दुःख दिने खालका हुन्छन् र शासकहरूबिच युद्ध हुनसक्ने मानिन्छ। मीन राशिमा शनिको उदय हुँदा मनुष्यहरूमा दीनता र धान्यको उत्पादनमा कमी आउने मानिन्छ। मीनराशिमा शनिको उदय हुनु अल्प वर्षा हुने सूचना दिन्छ। शनि कर्कट, तुला, मकर र मीन राशिमा उदय हुनु अधिक खराब हो। अन्य राशिमा शनिको उदय हुनाले अन्नको उत्पत्ति राम्रो हुन्छ। देशको व्यापार विकसित हुन्छ र देशमा साधारण कष्टको अलावा विशेष कष्ट हुँदैन भनिएको छ।

प्रकाशित: २८ चैत्र २०८२ १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App