जब देशले आफ्नै सन्तानलाई
आफ्नै आँगनबाट पराइ बनाइदिन्छ,
तब घाउ शरीरमा होइन
पहिचानको मुटुभित्र
गाडे पिलोझैं बल्झिन्छ।
जवानीभरि पसिनाले देशको माटो सिँचेँ,
आशाका बिउ रोपेँ,
सपनाका घर बनाएँ
तर अन्त्यमा पुरस्कारस्वरूप
आफ्नै नागरिकताको कागज च्यात्न बाध्य भएँ।
नागरिकता त एउटा कागज मात्र होला,
तर त्यसमा बाबुको नाम थियो,
आमाको माया थियो,
मेरो जन्मभूमिको सुगन्ध थियो।
हातले नागरिकता छोडेँ,
तर मुटुले देश छोड्न कहिल्यै सकेन।
सीमापार पुगे पनि
मेरो श्वासमा
अझै यही माटोको गन्ध बाँचेको छ।
कति निर्दयी हुन्छ त्यो क्षण,
जब आफ्नो देशमै आफूलाई पराइ भनिन्छ।
बाँच्नका लागि देश त्याग्नुपर्छ,
तर मर्ने बेलासम्म देशले छोड्दैन।
आज मसँग अर्को देशको परिचय होला,
तर आत्मामा अझै
उही पुरानो झण्डा फहराइरहेको छ।
किनकि नागरिकता बदल्न सकिन्छ,
तर जन्मभूमिको धड्कन बदल्न सकिँदैन।
र, इतिहासले एकदिन अवश्य सोध्नेछ—
“देश छोड्ने रहर कसको थियो?”
उत्तर एउटै हुनेछ—
“रहर थिएन…
देशले आफ्नै नागरिकलाई
हकबाट वञ्चित गरेपछि,
जीवनले दिएको सबैभन्दा ठूलो
सजाय थियो त्यो।”
प्रकाशित: १० श्रावण २०८३ ०६:४४ आइतबार


-600x400.jpg)


