नेपाली कविताको इतिहास लामो र समृद्ध छ। लोक परम्परादेखि आधुनिक र समकालीन कवितासम्म आइपुग्दा नेपाली कविताको मूल स्वर भनेकै समाजको यथार्थ मानवीय संवेदना र राजनीतिक चेतना हो। यसै निरन्तरताको एक महत्वपूर्ण कडी हो - डा. मित्र पाठक 'काँचुली' को हाँस्न बिर्सिएको मान्छे कवितासंग्रह।
प्रस्तुत कवितासंग्रह नेपाली समाजको वर्तमान यथार्थ र व्यक्तिगत अनुभवको जटिल चित्रण प्रस्तुत गर्ने अत्यन्त महत्त्वपूर्ण साहित्यिक कृति हो। यस सङ्ग्रहका ६७ कविता विभिन्न सामाजिक, राजनीतिक, सांस्कृतिक व्यक्तिगत र भावनात्मक आयाम समेटेर वर्तमान नेपाली जीवन र मानसिकताको गहिरो विश्लेषण गर्छन्। संग्रहको मूल उद्देश्य केवल मनोरञ्जन मात्र नभई पाठकलाई आत्मावलोकन, सामाजिक चेतना र व्यक्तिगत परिपक्वतामा अप्रेरित गर्नु रहेको देखिन्छ।
सङ्ग्रहका केही कवितामा नेपाली समाजमा विद्यमान निराशा, आक्रोश र बदलिदो मूल्यहरूको खोज मार्मिक शैलीमा प्रस्तुत गरिएको छ।
शीर्ष कविताकै पंक्तिहरूमा कविले लेखेका छन्।
बजारमा यत्रतत्र छरिएका छन्
कतै हिँडेका छन् त
कतै जबर्जस्ती घिसारिएका छन्।
कोही सुटबुटमा कसिएका छन्
कसैको खाली खुट्टा जमिनमा धसिएको छ
सधैँसधैँ जस्तै आज पनि उनीहरू हतारमा छन्।
युरोप, अमेरिका असफल हुनेहरू
अलिकति नेपालमा छन्
बाँकी कोही दुबई अनि कोही कतारमा छन्।
(हाँस्न बिर्सिएको मान्छे)
यी पंक्तिहरूले संग्रहको समग्र स्वर स्पष्ट पार्छन्। यहाँ प्रस्तुत पात्र एक व्यक्तिको कथा नभई समग्र नेपाली समाजकै कथा हो।
त्यस्तै अर्को कवितामा कवि आधुनिक जीवनशैलीप्रतिको मोह र त्यसले ल्याएको उदासीनता प्रष्ट पार्दछन्। साँच्चैभन्दा आजको पुस्ता मोबाइलको क्यामरामा रमाउँछ तर राष्ट्रको पीडादायी इतिहास, वर्तमान विसङ्गति र भविष्यको चुनौतीप्रति मौन बस्छ। कविले यस मौनतालाई व्यङ्ग्यको भाषामा यसरी प्रस्तुत गरेका छन्।
नयाँ नेपालको विकासमा छलाङ मार्दै गर्दा
भौतिकताले जमाना फेरियो
जमिनको माटो पानी र जङ्गल कंक्रिटले घेरियो
भावी पिढी रोऊन् या हाँसून् बाल भो र
आउ कंक्रिटको ... समाएर
एउटा भाइरल सेल्फी हानौ।
(आउ एउटा सेल्फी ठोकौ)
यस कविताले वर्तमान समाजको डिजिटल र सामाजिक सञ्चार माध्यमको प्रभाव चित्रण गर्छ। कवितामा सेल्फी शब्द प्रयोग गरेर मान्छेको आत्मकेन्द्रित प्रवृत्ति, भौतिकतामा बढी ध्यान र व्यक्तित्व प्रदर्शनको प्रवृत्ति देखाइएको छ।
संग्रहका केही कविता देश अझै बिग्रिसकेको छैन,
संसारको जितमा हारेका हामीले आधुनिक जीवनमा मानिसले भोगिरहेको मानसिक तनाव सामाजिक प्रतिस्पर्धा र आत्मसन्तुष्टिको अभाव सजीव रूपमा व्यक्त गरेका छन्
महावीरहरू सडकमा निरीह हुनुपर्थ्यो
पछुतो मानेर केही हुँदैन सुध्रिनुपर्छ हामी पनि
र सुधार्नुपर्छ व्यवस्था पनि
गलत मान्छेलाई पटकपटक लाहछाप हामीले लगाएकै हो सही मानिस चिन्न नसकेर
निराश बनाएर सहर
अनि विदेश भगाएकै हो
देश अझै बिग्रिसकेको छैन।
(देश अझै बिग्रिसकेको छैन।)
कवि पाठकले समानुभूतिको दृष्टिकोण पनि कवितामा प्रस्तुत गरेका छन्। रोगी देशको डाक्टर, खजुरको बोटमुनि र यौन प्यासी जस्ता कविताहरूले मानव सम्बन्ध पारिवारिक मूल्य र सामाजिक उत्तरदायित्वलाई संवेदनशील तरिकाले चित्रण गरेका छन्। कवितामा व्यक्तिगत स्मृति र सामाजिक अनुभवको संगमले संग्रह बहुआयामिक बनेको देखिन्छ।
.jpg)
सपना राम्रो देखिएनन्, देखिनन् रे
आज बिहानै आमाले फोन गरिन्
अन्त्यमा मनअमिलो बनाएर मैले भने
म सकुशल छु, काम निकै सजिलो छ।
एसीभित्र काम गर्ने हो चिन्ता नलिनु
मोबाइल आइफोन मगाउने सबैसबैलाई
यही खजुरको बोटमुनिबाट
सम्झेको छु भन्देउ ल आमा।
(खजुरको बोटमुनि )
खजुरको बोटमुनि कवितामा खाडी मुलुकमा बिताएको जीवनको कठोर यथार्थ प्रस्तुत छ भने रोगी देशको डक्टर कवितामा नेपालकै अस्वस्थ संरचना र उपचार नपाएको समाज उजागर गरेका छन्।
साँच्चिकै देशका लागि केही गर्नेहरू
पदक लिलामीमा राख्छन्
जनतालाई मुटुमा राखेर करोडौंको मन जित्नेहरू
पदकका परिधिबाट भाग्छन्।
(रोगी देशको डाक्टर )
संग्रहभित्रका कतिपय कवितामा समीक्षा र आलोचना व्यङ्ग्य र हाँसो पनि प्रशस्त पाइन्छ। टेन्डर पार्ने दाउ, राजनीति गर्नेहरू छेपाराहरू हुन् र भाइरल मन प्रसन्नम् जस्ता कविताहरूले नेपाली समाज र राजनीतिमा विद्यमान भ्रष्टाचार अवसरवादी प्रवृत्ति र भौतिकवाद सजीव रूपले प्रस्तुत गरेका छन्।
पल्ना घरे जमिनदार साँहिलो
बाँकी एउटा
दोहोरो मोहडाको घडेरी बेचेर
बाजागाजा सहित
लामो लाइन बसेर दर्तापछि
प्रतिनिधिसभा नपाएपनि
प्रदेश सभामा रमाउँदै
देश र जनताको सेवक बन्ने दाउमा
घरका लालाबालाको माड खोसिने गरी
घरमा झगडाको आगो झोसिने गरी
जिन्दाबाद मुर्दाबाद भन्दै
चिच्याइरहेछ उफ्रिरहेछ।
(टेन्डर पार्ने दाउ)
खुसी छु मात्र भनेर कहाँ हुन्छ र
विभिन्न सञ्जालमा लेख्नु अनि लेखाउनुपर्छ
सेल्फी हानेर मस्किनुपर्छ
लाइक कमेन्ट गनेर ठस्किनुपर्छ।
(भाइरलम् मनप्रसन्नम्)
संग्रहका केही कविताले सांस्कृतिक मूल्य र परम्परा पनि केही केन्द्रबिन्दुमा राखेका छन्। आउ एउटा फरक दशैं मनाउँ; माटोको आशीर्वाद; र ए दशैं तलाई धेरै धन्यवाद जस्ता कविताले नेपाली परम्परा र सांस्कृतिक उत्सवहरूको महत्व, जीवनसँगको सम्बन्ध र त्यसबाट प्राप्त आनन्दलाई उजागर गर्छन्। यसले पाठकलाई आफ्नै सांस्कृतिक पहिचान र सम्बन्धप्रतिको गहिरो समझदारी प्रदान गर्दछ।
एउटा फरक दशैं मनाउँ
साँच्चिकै हाम्रो बालापनको
त्यो खुसी र उमङ्ग फर्किने गरी
उही पुरानो सौहार्दता
झल्किने गरी
सबैले सबैसँग आफ्नो अहमताका लागि माफी माग्दै
मोबाइल टिभी र कम्प्युटरलाई विश्राम दिएर
(आउ एउटा फरक दशैं मनाउँ।)
संग्रहमा प्रकृति पर्यावरण नदीको विकाससँग सम्बन्धित विषयवस्तु पनि समावेश छन्। मात्र प्रकृति सत्य हो र माटोको आशीर्वाद जस्ता कविताले प्राकृतिक स्रोत र मानवीय जीवन बीचको सम्बन्धमा ध्यानाकर्षण गराउँछन्।
जलवायु परिवर्तन र वातावरणीय विनाशले पारेको चेतना यस संग्रहका कवितामा स्पष्ट छ। जसले पाठकमा पारिस्थितिकी सचेतना जागृत गर्छ।
आगो पानी र वायु अपरिहार्य तत्व
मात्रै यिनै सत्य हुन्
अजर अमर हुन्
अरू त केवल अहम्ले भरिएका
मान्छेको जीवन जस्तै
झुठो संसारका दुई दिने पाहुना न हुन्
चट्याङ पर्दाका बिजुलीका झिल्का सरह। (मात्रै प्रकृति सत्य हो)
जल जमिन र जडिबुटीको समुचित प्रयोग गरी
नयाँ बिहानी ल्याउनु छ हामीले
तसर्थ पूर्वको घुन्सा पश्चिमको घुसा
तराईको सुस्ता अनि सिमिकोटको पीडा
आत्मसात् गर्दै रोग भोग र अशिक्षासँगै रमाउनुछ।
(माटोको आशीर्वाद)
समकालीन नेपाली समाजको राजनीतिक अस्वस्थता भ्रष्टाचार र प्रशासनिक समस्या उजागर गरेका छन्। आइज मेरो झोला खोतल र राजनीति गर्नेहरू छेपारा हुन् जस्ता कविताले राजनीतिमा सत्ता र स्वार्थको द्वन्द्व कलात्मक तरिकाले प्रस्तुत गरेका छन्।
मार्सीको वासनामा मग्न भएर
कति सिंहदरबारतिरै
अल्मलिन्छस् ए सरकार
यता एयरपोर्टतिर मजस्तै निरीह
सोर्सफोर्सविहीन गरिबगुरुवाले
हाड घोटेर
आफ्नै प्यारीका लागि ल्याएको
मोबाइल लुकाएर छिराउने भयो
त्यसैले आइज सरकार
अरू पनि केही हुन सक्छ
ढिला नगरी खोतल मेरो झोला।
(सरकार! आइज मेरो झोला खोतल )
उनका हरेक कवितामा तत्कालीन समाजको कुनै न कुनै रूप उजागर हुन्छ। कहिले भ्रष्टाचार कहिले श्रमिकको पीडा कहिले संस्कारमा लुकेको ढोङ्गीपन त कहिले जीवनप्रतिको दार्शनिक दृष्टि। उदाहरणका लागि कवि लेख्छन्- मलाई मानार्थ सहिद घोषणा गरियो सरकार
तरकारीको भाउ सुनेर
कुन दिनमा आइसियुमा हुन्छु
निरीह साबित हुँदैछु म
बिन्ती छ
क्षतिपूर्तिको व्यवस्था निर्विकल्प हुन्छ भने
पलपल मरेर जिउनु भन्दा
एकैपटक गायब हुन तयार छु।
आजकै मितिमा मेरो
निवेदन दर्ज गराउँछु
चाडवार सुरु हुनु अगावै
मलाई मानार्थै सहिद
जिउँदो सहिद घोषणा गरियोस् सरकार
(मलाई मानार्थ सहिद घोषणा गरियोस् सरकार)
यो व्यङ्ग्य मात्र होइन, यो सहिद र सहादतको मूल्य घटाइएका राजनीतिक संस्कृतिको तिक्ष्ण प्रहार पनि हो।
त्यसैगरी जिन्दगी बल्दै निभ्दैछ उसैगरी कवितामा जीवन मृत्यु अस्तित्व र प्रकृति विषय पनि गम्भीर रूपमा आएका छन् भने म त हनुमान भइसकेको छु कवितामा जनताको भोट विवेकशील निर्णयको साधन नभई अन्धभक्ति र नेताप्रतिको दास्य भावनामा परिणत भएको यथार्थ व्यङ्ग्यात्मक रूपमा उजागर गरेका छन्।
यो देशको एउटा शिक्षित युवा म
न यताको भए न उताको
न देशको भए न जनताको
भए त केवल मालिकहरूको
कहिले स्वदेशी त
कहिले विदेशी मालिकहरूको
फगत हनुमानसरी
(म त हनुमान भइसकेछु।)
संग्रहले पाठकमा नैतिक चेतना सामाजिक उत्तरदायित्व र व्यक्तिगत जीवनमा समर्पणको भावना समेत उत्पन्न गर्दछ। कविताहरूमा जीवनका सुखदुख मानव मूल्य परिश्रम र निष्ठा देशप्रेम र पारिवारिक सम्बन्धहरूको मूल्याङ्कन अत्यन्त प्रभावकारी तरिकाले गरिएको छ।
उनका हरेक कवितामा तत्कालीन समाजको कुनै न कुनै रूप उजागर हुन्छ कहिले भ्रष्टाचार कहिले श्रमिकको पीडा कहिले संस्कारमा लुकेको ढोगीपन त कहिले जीवनप्रतिको दार्शनिक दृष्टि।
कुल मिलाएर हाँस्न बिर्सिएको मान्छे कवितासंग्रह समकालीन नेपाली समाजको दर्पण हो। यसले श्रमजीवी वर्गको सङ्घर्ष आम नागरिकको निराशा राजनीति नेतृत्वको असफलता र मानवीय अस्तित्वको द्वन्द्व प्रखर शैलीमा प्रस्तुत गरेको छ।
कविताहरूमा निराशाको गहिरो स्वर भए पनि त्यसैसँग परिवर्तनको सम्भावना र आवश्यकता पनि सूचित गरिएको छ। संग्रहले नेपाली कविताको सामाजिक राजनीतिक चेतनालाई अझै सबल बनाएको छ र यसलाई सौन्दर्यात्मक आनन्द नभई सामाजिक दस्तावेजको रूपमा पनि स्थापित गरेको छ।
यस सङ्ग्रहको मूल निचोड के हो भने, नेपाली समाज र राजनीति अहिले कठिन मोडमा छ, जहाँ जनतामा निराशा छ तर आशा र सुधारको चाहना अझै बाँकी छ।
कविताहरूले एकातिर हाँसो हराएको मान्छेको पीडा चित्रण गर्छन् भने अर्कोतिर चेतना, सचेतना र परिवर्तनको आह्वान पनि गर्दछन्। यसरी यो संग्रह कविताको पुस्तक मात्र होइन, यो हाम्रो समयको राजनीतिक–सामाजिक दस्तावेज पनि हो।
- डा. पूर्ण भण्डारी 'पङ्कज'
प्रकाशित: १२ पुस २०८२ १३:०८ शनिबार





