६ जेष्ठ २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

दाङमा 'चिहानमाथि महल बनाइरहेको मान्छे' काे परिचर्चा

राप्ती साहित्य परिषद् दाङले कवि घनश्याम अस्तित्वको 'चिहानमाथि महल बनाइरहेको मान्छे' कवितासङ्ग्रहकाे समीक्षात्मक कार्यक्रम गरेकाे छ।

संस्थाका उपाध्यक्ष सुरेशकुमार पाण्डेले उपस्थितजनलाई शब्दमार्फत स्वागत मन्तव्य गरेका थिए।

परिषद्को नियमित १९९ औँ शृङ्खलाअन्तर्गत पत्रकार महासङ्घ दाङको सभाहलमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यकार, पत्रकार तथा साहित्यानुरागीहरूको उल्लेख्य सहभागिता थियो।

राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता, राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालकाे प्रमुख आतिथ्य र नेपाल संस्कृत विश्वविद्यालय, संस्कृति विभागका निर्देशक डा. टीकाराम उदासीकाे विशिष्ट आतिथ्यमा कार्यक्रम भएकाे हाे।

​परिषद्का सचिव घनश्याम केसीले सञ्चालन गरेकाे कार्यक्रममा

समीक्षकद्वय यज्ञबहादुर डाँगी प्रमोद धितालले २०८० मा प्रकाशित यस सङ्ग्रहका ६६ कवितामाथि गम्भीर चिरफार गरेका थिए। समीक्षकहरूले अस्तित्वका कविताहरू वैचारिक र कलात्मक दुवै दृष्टिले अब्बल रहेको बताए।समीक्षकहरूका अनुसार सङ्ग्रहले वर्तमान समयको स्वार्थी प्रवृत्ति र सामाजिक विसङ्गतिमाथि कडा प्रहार गर्दै भुइँमान्छेका आवाजलाई सशक्त ढङ्गले मुखरित गरेको छ।

सरल भाषाशैली, मार्मिक बिम्ब विधान र नवीन शिल्पका कारण ६६ कविताले पाठकलाई गम्भीर आत्मचिन्तन गराउन सफल भएको समीक्षकहरूले टिप्पणी गरेका थिए।

​कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मुख्य अतिथि पुरुषोत्तम खनाल, विशिष्ट अतिथि डा. टीकाराम उदासी र विभिन्न साहित्यिक संस्थाहरूको तर्फबाट राप्ती साहित्य परिषद्का सल्लाहकार एवं केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा 'समीर' ले नेपाली साहित्यको श्रीवृद्धिमा यस कृतिले महत्त्वपूर्ण इँटा थपेको चर्चा गरे। वक्ताहरूले कविको लेखनमा रहेको इमानदारिता र समाजप्रतिको जिम्मेवारीबोधको प्रशंसा गरेका थिए।

उक्त कार्यक्रमको समापन गर्दै अध्यक्ष रेग्मीले यस्ता समीक्षात्मक बहसले सर्जकलाई थप निखारिन र नेपाली साहित्य अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित: २७ वैशाख २०८३ ११:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App