८ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

वर्तमान कविता समूहको चौथो शृङ्खला सम्पन्न

वर्तमान कविता समूहद्वारा आयोजित “अग्रजसँग वर्तमान कविता” चौथो शृंखलामा अग्रज कवि तथा साहित्यकार अविनाश श्रेष्ठसँगको साक्षात्कार कार्यक्रम भएको छ।

कार्यक्रममा कवि श्रेष्ठले आफ्नो साहित्यिक जीवनका विभिन्न भोगाइ, अनुभव र सिर्जनात्मक यात्राका महत्त्वपूर्ण पक्षहरू सहभागीहरूसमक्ष प्रस्तुत गरेका थिए। उनले यस्ता साहित्यिक कार्यक्रमहरूले अग्रज पुस्ताले आर्जन गरेको ज्ञान, अनुभव र दृष्टिकोण अनुज पुस्तासम्म हस्तान्तरण गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताए। साथै सर्जक र पाठक तथा श्रोताबीच प्रत्यक्ष संवाद स्थापित भई साहित्यप्रति थप समझदारी र आत्मीय विकास हुने धारणा व्यक्त गरे।

कवि श्रेष्ठले अग्रज स्रष्टाको सम्मान गर्नु भनेको समग्र कविता र साहित्यको सम्मान गर्नु हो भन्दै साहित्यिक परम्परा र उत्तराधिकारको संरक्षणमा यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहने बताए।

नेपाली साहित्यका बहुआयामिक स्रष्टा श्रेष्ठ कविता, कथा, नाटक तथा सम्पादनका क्षेत्रमा सक्रिय छन्। उनका ‘परेवा सेता–काला’, ‘संवेदना ओ संवेदना’ तथा ‘करोडौँ सूर्यहरूको अन्धकार’ (पर्या कविता) कवितासङ्ग्रह प्रकाशित छन्।

यसै गरी ‘अश्वत्थामा हतोहत’ नाटक तथा ‘तान्या र इन्द्रकमल’ कथासङ्ग्रह पनि उनका प्रकाशित कृतिहरू हुन्।

श्रेष्ठ समकालीन नेपाली साहित्यका प्रतिष्ठित सम्पादकमध्ये एक हुन्। उनी ‘समकालीन साहित्य’ र ‘गरिमा’ जस्ता चर्चित साहित्यिक पत्रिकाका सम्पादकका रूपमा समेत परिचित छन्। नेपाली साहित्यमा पुर्‍याएको विशिष्ट योगदानको कदरस्वरूप उनलाई सन् १९८२ मा रत्नश्री स्वर्ण पदक प्रदान गरिएको थियो।

कार्यक्रममा साहित्यप्रेमी, युवा स्रष्टा तथा पाठकहरूको उल्लेखनीय सहभागिता  थियो। सहभागीहरूले श्रेष्ठसँग साहित्य, सिर्जना, समाज र समकालीन साहित्यिक प्रवृत्तिका विषयमा जिज्ञासा राखेका थिए। कार्यक्रमले पुस्तान्तरण, साहित्यिक संवाद र सिर्जनात्मक चेतनाको विकासमा सकारात्मक योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

सर्जक श्रेष्ठको प्रस्तुतिपछि विष्णुविभु घिमिरेले ‘वसन्तभन्दा ठुलो विश्वास’, केशव भट्राईले ‘घर’, प्रेमिला राईले ‘अन्तिम अनुरोध’, धीरकुमार श्रेष्ठले ‘पुनरावृत्ति’, उमेश राई ‘अकिञ्चन’ ले अक्षर इच्छा सुरज पराजुलीले ‘अभिनय’, चन्द्रबहादुर लामाले ‘पहिरो गएपछि’, विश्व सिग्देलले ‘बा बन्दै गइरहेछु’, प्रज्वल अधिकारीले ‘बडा भयावह चित्र बनाउँदै छ’ शीर्षकका कविता सुनाएका थिए।

रमी प्रियापछि शकुन्तला जोशीको पर्याकविता वाचनपछि बङ्गाली कवि सेन्जुती बरुवाले बङ्गाली, अङ्ग्रेजी र नेपाली भाषामा अनुवाद गरिएको कविता सुनाई कार्यक्रम गरिमामय बनाइएको थियो।

प्रकाशित: ८ असार २०८३ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App