लामो समयको प्रतिक्षापछि नेटफ्लिक्सको सर्वाधिक लोकप्रिय सिरिज ‘स्ट्रेन्जर थिंग्स’ को पाँचौं तथा अन्तिम सिजन सुरु भएको छ।
सन् २०१६ मा ८० को दशकको परिवेश र बालसुलभ साहसिक कथा बोकेर सुरु भएको यो विश्वचर्चित सिरिजले आफ्नो अन्तिम अध्यायसम्म आइपुग्दा ‘एक्सन-हरर’ चलचित्रको स्वरूप लिएको छ।
करिब साढे तीन वर्षको अन्तरालपछि फर्किएको यो शोले दर्शकलाई पुनः हकिन्स सहरको रहस्यमय दुनियाँमा फर्काएको छ।
हकिन्स सहरमा विल बायर्स हराएपछि सुरु भएको यो कथाले चार सिजन पार गर्दा धेरै आरोह-अवरोह खेपिसकेको छ। सुरुवाती दिनमा साइकल कुदाउँदै ‘डेमोगोर्गन’ र ‘माइन्ड फ्लेयर’ जस्ता राक्षसहरूसँग लड्ने साना बालबालिकाहरू अब किशोर अवस्था पार गरी वयस्क देखिन थालेका छन्।
चौथो सिजनमा ‘भेक्ना’ को प्रवेशसँगै हकिन्स सहर विनाशको संघारमा पुगेको थियो। र पाँचौं सिजन ठ्याक्कै त्यहीँबाट अघि बढेको छ। यसपटकको कथा हकिन्स सहर र ‘अपसाइड डाउन’ को दुनियाँमा मात्र सीमित राखिएको छ। यहाँ सबै पात्रहरूको एक मात्र लक्ष्य भेक्नालाई सधैंको लागि अन्त्य गर्नु हुनेछ।
यस अन्तिम सिजनको प्रमुख चुनौती भनेको कलाकारहरूको उमेर र उनीहरूको बालसुलभ भूमिकाबीचको तालमेल हो। वास्तविक जीवनमा २० वर्ष काटिसकेका कलाकारहरूलाई स्कुले विद्यार्थीको रूपमा प्रस्तुत गर्न कठिन भए पनि लेखक तथा निर्देशक डफर ब्रदर्सले पात्रहरूको मूल स्वभावलाई जीवितै राखेका छन्।
डस्टिन, रबिन, इलेभेन र माइकजस्ता पात्रहरूले आफ्नो पुरानो शैली कायम राख्दै परिपक्व लडाइँ लडिरहेका छन्। नेटफ्लिक्सले यो सिजनलाई एकैपटक नभई चरणबद्ध रूपमा रिलिज गर्ने रणनीति अपनाएको छ।
हाल चारवटा एपिसोड सार्वजनिक भएका छन् भने क्रिसमस र नयाँ वर्षमा बाँकी भागहरू आउनेछन्।
कथाको भावनात्मक पक्षलाई बलियो बनाउन विल बायर्स (नोआ स्न्याप) को भूमिकालाई यसपटक केन्द्रविन्दुमा राखिएको छ। सिजन १ को पहिलो एपिसोडमा हराएको थियो विल। उनको कथा नै यस सिजनको मुटु हो।
प्रकाशित: १५ मंसिर २०८२ ०७:१० सोमबार





