१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

गाउँफर्क अभियानको अवधारणामा छोरी पञ्चमी फिट भएपछि बन्यो ‘पहाड’

कस्तो रहला निर्देशक तुलसी घिमिरेकी कान्छी छोरी पञ्चमीको फिल्मी यात्रा ?

तुलसी घिमिरे नेपाली चलचित्र उद्योगको एक युग हो । चलचित्रकै लागि जन्मिएका उनीसँग कला र प्रविधिको उम्दा ज्ञान छ । त्यसैले नेपाली चलचित्रमा घिमिरेलाई गौरवपूर्ण छविका रुपमा चिनिन्छ । कलाकारमात्र होइन आम नेपालीले पनि उच्च सम्मानका साथ घिमिरेको नाम सम्झने गर्दछन् ।  

निर्देशक घिमिरे नेपाली चलचित्रका खुला विश्वविद्यालय भनेर पनि व्याख्या गरिन्छ । कुशल निर्देशक घिमिरे राम्रो पटकथाकार अनि अभिनेता पनि हुन् । उनी कुशल सम्पादकका रुपमा पनि काम गर्न सक्ने व्यक्ति हुन् । फिल्म निर्माताले घिमिरेको आगमनपछि मात्रै नेपाली चलचित्रले व्यवसायिक छलाङ मारेको टिप्पणी गर्ने गर्छन् ।  

घिमिरेको निर्देशनमा बनेका ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘चिनो’, ‘दर्पण छायाँ’जस्ता चलचित्र प्राय: नेपालीले नछुटाइ हेरेका फिल्म हुन् । अहिले घिमिरेले नयाँ फिल्म ‘पहाड’ लिएर आएका छन् । कान्छी छोरी पञ्चमी घिमिरेलाई उनले फिल्म पहाडबाटै डेब्यू गराएका छन् । यी नै सन्दर्भमा केन्द्रित रहेर नागरिककर्मी विश्वास खनालले गरेको कुराकानीको सम्पादित अंश:

तपाईंले आफ्नो र नेपाली चलचित्रको यात्रालाई कसरी लिनुभएको छ ?

नेपाली चलचित्र विकासका क्रममा तीव्र विकास भएको हो । हिन्दी सिनेमाको तुलनामा हामीले छिटो विकास गर्‍यौँ । यसरी हेर्दा नेपाली चलचित्र जगतको यात्रा धेरै अगाडि पुगिसकेको छ। जति समय हिन्दी चलचित्र जगतलाई लाग्यो त्यो नेपाली चलचित्रलाई त्यति लागेन । नेपालले अहिले अन्तर्राष्ट्रिय स्तर चलचित्र बनाउँदै छ । नेपाली चलचित्र उद्योगले तारिफ योग्य काम गर्दैछ । यही उद्योगको एक कलाकार हुँ म ।

तपाईंको नयाँ फिल्म ‘पहाड’मा के छ ? यसको कन्सेष्ट कसरी आयो ?

यो मेरो आजको कन्सेप्ट होइन । ३० वर्ष अघिको हो । एक ताका नेपालमा गाउँ फर्क अभियान थियो । त्यो ०५१/५२ सालतिर हो । त्यति बेला नै मैले लेखेको हो । तर केही कारणले बनाउन सकिएन। अहिले नेपालमा पलायनको दर बढ्दो छ। गाउँघरमा युवा नै नदेखिने र देशमा बस्‍ने माहौल नै नभएको भन्दै युवा पलायनको स्थितिसम्म पुगेका छन्। तर देशको अवस्था सुधार गर्ने जिम्मेवारी युवा कै हो । यही विषय यो चलचित्र ‘पहाड’मा समावेश गरिएको छ । हामीलाई लागेको छ यो बेला नै चलचित्र पहाड प्रदर्शनमा ल्याउन उचित समय हो ।

कान्छी छोरीलाई पनि चलचित्रमा ल्याउनु भयो । त्यसमा पनि डेब्यू गर्न पहाड नै रोज्नुभयो किन ?

मेरो कान्छी छोरी पर्दा पछाडि काम गर्थि । मेहनती, कलाकारितामा उसको लगाव सबै थियो । तर मैले उसलाई पर्दामा ल्याउने त्यति सोचेको थिएन ।अर्को चाहिँ मेरै साथीहरूले छोरीको डेब्यु सोधिरहन्थे । मैले धेरै ध्यान दिएकै थिएन । तर एकदिन एक फोटो पत्रकारले मेरो छोरीको फोटो मलाई नै पठाए । मैले व्यवसायिक रुपमा हेर्दा मेरो छोरी गज्जबको नायिका हुने गुण देखेँ । मैले ३० वर्ष अघि एक अवधारण बनाएर राखेको थिएँ । त्‍यसमा छोरीको अभिनय अनुभव गर्दा सबै मिले झै लाग्यो । उनले बलिउडको बालाजी फिल्ममा दुई वर्ष काम गरेकी थिइन । मलाई पनि पर्दा पछाडि सखाउँदै आएकी हुन् ।  

धेरैसँग काम गर्दा मैले छोरीको मेहनती रुप पनि मेरै निर्देशनको फिल्ममा प्रयोग गर्ने सोचका साथ उसलाई रोजेको हुँ । उनले पहाडको अभिनयमा आफूलाई अब्बल देखाएकी छन् । 

घिमिरेसँगको कुराकानी हेर्नुहोस् । 

प्रकाशित: १० चैत्र २०८२ १६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App