२० मंसिर २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

‘मिस्रीबा’हरूले भोगेको तितो यथार्थ

नेपाली समाज परिवर्तनको यात्रामा छ। गाउँ हराउँदै छन्, सहर फैलिँदै छन्। त्यो विस्तारसँगै  घरमा  बुबाआमाको हातले पकाएको भातको स्वाद, अगेनाको  बेलुकीको गफ  र मौरीको भुनभुन सब हराउँदै छन्। सुखको खोजीमा परदेश जाने क्रम बढेको छ। नाभिको कस्तुरी नदेखेर कुदेको मृगझैं  भट्केको छ नेपाली समाज। सायद नेपाली समाजलाई असली नाभि देखाउन सक्षम बन्न सकोस् - परान।

‘परान’ एउटा सामान्य पारिवारिक कथा होइन। यो त्यस्तो कथा हो, जसले नेपालका हरेक घरमा हुने मौन दुरी, हरेक बुबाआमाका अधुरा चाहना र हरेक छोराछोरीको असमर्थता चित्रण गर्छ। चलचित्रको केन्द्रमा छन् धर्मनाथ, जसको भूमिका वरिष्ठ अभिनेता नीर शाहले निर्वाह गरेका छन्। धर्मनाथ अर्थात् ‘मिस्रीबा’। एउटा वृद्ध, जसले सन्तानलाई परदेश जानबाट रोक्छ, हरसम्भव प्रयास गर्छ तर सक्दैनन्, उनको मन भित्रभित्रै  पीडाले पोलिरहन्छ।

उनी प्रत्येक बिहान शङ्ख फुक्छन्। यस्तो लाग्छ -  त्यो शङ्ख केवल धार्मिक कर्म होइन। बरु त्यो त हजारौं बिदेसिएका छोराहरूलाई बोलाउने एक मौन आवाज हो। त्यो आवाज भित्रैबाट निस्किएको एक आर्त पुकार हो, जसले दर्शकलाई सोच्न बाध्य बनाउँछ– ‘के हामीले आफ्ना आमाबुबालाई सचमुच सुखी बनाइरहेका छौं?

धर्मनाथका सन्तानहरू पनि नेपालका लाखौं युवाहरूझैं छन् , जो सपनाको सहर, डलरको देश र सुखको भ्रममा छन्। उनीहरू विदेशमा पैसा कमाउँछन्, फोटो पठाउँछन् तर घरमा बस्ने आमाबुबाको सास कहिले टुट्ने हो, त्यो कसैले बुझ्दैन। यही भावनात्मक दुरी नै ‘परान’को आत्मा हो। त्यसैले त चलचित्रमा उल्लेख छ - परान सासले हैन साथले चल्छ।

निर्देशक दीपक आचार्यको यो पहिलो चलचित्र हो तर उनको निर्देशनमा परिपक्वता र आत्मानुभूतिको गहिराइ झल्किन्छ। उनले यो कथा कोरोना महामारीको पहिलो लहरमा बिरामी पर्दा लेखेका रहेछन्। मृत्युको नजिक पुगेको एउटा कलाकारले जीवनको अर्थ फेरि खोज्दै गर्दा लेखेको कथा भएकाले यसमा पीडाको गन्ध र प्रेमको ऊर्जालाई एकसाथ महसुस गर्न सकिन्छ।

फिल्मको कथा आचार्यकै परिवारबाट प्रेरित भए पनि यो निजी सीमाभन्दा बाहिर निस्किएर सामूहिक पीडाको कथा बनेको छ। ‘हामी आफ्ना बुबाआमालाई सुख दिने नाममा उनीहरूको खुसी खोस्दैछौं।’  यही संवाद नै चलचित्रको मूल दर्शन हो।

नीर शाहको अभिनय ‘परान’को मेरुदण्ड हो। उनले धर्मनाथको पात्रलाई अभिनय होइन, जीवन बनाएर प्रस्तुत गरेका छन्। उनको हरेक दृष्टि, हरेक मौनता र प्रत्येक सासमा एक वृद्ध बुबाको आत्मा बगिरहेको अनुभव हुन्छ। उनले भन्न खोजेको प्रत्येक वाक्यमा देशका लाखौं वृद्ध आमाबुबाका हृदयको आवाज सुन्न सकिन्छ।

मदनकृष्ण श्रेष्ठ र केकी अधिकारीको अभिनयले कथा अझ गहिरो बनाउँछ। मदनकृष्णले पिताको भावनात्मक संसारमा हाँसो र पीडाको सन्तुलन ल्याएका छन्। केकी अधिकारीले छोरीको दृष्टिबाट पिताको मर्म बुझ्ने भावनालाई भव्य रूपमा उतारेकी छन्। बुद्धि तामाङ, पूजा चन्द, यासेली योङहाङ र बबिन राईलगायत कलाकारले पनि आफ्ना भूमिकामा यथार्थता भरेका छन्।

चलचित्रका गीतमा प्रमोद खरेल, पुष्प प्रधान र रचना रिमालका स्वरले आत्मीयता भरेका छन्। गीतका शब्द स्वयं निर्देशक दीपक आचार्यले लेखेका हुन्। रिदम कँडेलको संगीतले बुढेसकालको मौनता, पर्खाइ र सम्झनाको गहिराइलाई उजागर गर्छ।

छायाकार शिवराम श्रेष्ठले गाउँको हरियो खेत, वृद्धको अनुहारमा परेको रेखा र घरको सुनसानता एकसाथ बाँधेका छन्। विशेषगरी बिहानको धुन्धमा धर्मनाथले शङ्ख फुक्ने दृश्य नेपाली सिनेमा इतिहासकै सबैभन्दा भावनात्मक  सिनेमामध्ये एक बन्न सक्छ।

मित्र डी गुरुङको सम्पादनमा कथा लयबद्ध रूपमा बग्छ। चलचित्रले दर्शकलाई कहिले हँसाउँछ, कहिले रुवाउँछ र अन्ततः सोच्न बाध्य बनाउँछ। चलचित्रले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ -सुखका लागि बिदेसिने हाम्रो यात्रामा हामीले के हराइरहेका छौं?

नेपालमा अहिले पनि दैनिक दुई हजारभन्दा बढी मानिस विदेश गइरहेका छन्। उनीहरूले घरमा आमाबुबालाई सान्त्वना दिन तस्बिर पठाउँछन् तर घरमा वृद्ध बुबा हातमा औषधी लिएर रुँदै बस्छन्। ‘परान’ले यही दुरी, यही मर्म र यही पीडा चित्रण गर्छ।

धर्मनाथले भनेझैं सन्तान वृद्ध आमाबाबुको लागि ओखती हुन्। विडम्बना के छ भने ती ओखती नै अहिले घरबाट टाढा छन् । चलचित्रमा बुबाछोराको सम्बन्ध केवल दुई पुस्ताको कथा होइन, यो समग्र नेपाली समाजको रूपक हो।

चलचित्रको अन्त्यमा दर्शकहरू हलमा मौन हुन्छन्। कोही टिस्युले आँसु पुछ्छन्, कोही आफ्ना बुबाको सम्झनामा मुस्कुराउँछन्। ‘परान’ हेर्दा लाग्छ - यो कथा केवल धर्मनाथको होइन, हाम्रो पनि हो। सिनेमा हेरेलगत्तै दर्शकहरूले भनेका छन्, ‘यो हाम्रो घरको कथा हो।’ त्यही कारणले ‘परान’ले अहिले नेपाली सिनेमा हलहरूमा भावनात्मक तरंग ल्याएको छ।

चलचित्रलाई शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गरेका छन्। प्रस्तुतिमा व्यावसायिकता र कलात्मक दृष्टिको सन्तुलन देखिन्छ। चलचित्रले देखाएको गाउँ, सम्बन्ध र पीडा कुनै काल्पनिक दृश्य होइन, यो देशका हजारौं घरको प्रतिविम्ब हो।

‘परान’ एउटा यस्तो चलचित्र हो, जसले दर्शकको हृदय छोइदिन्छ। यसमा त अतिरञ्जित संवाद छन्, न अनावश्यक हाँसो। यसको शक्ति मौनतामा छ। बुबाको नजरमा, आमाको करुण मुस्कानमा अनि बिदेसिएको छोराको उत्तरविहीन फोन कलमा।

दीपक आचार्यले पहिलो चलचित्रमै नेपाली समाजको भावनात्मक संरचना देखाएर नेपाली सिनेमामा नयाँ सम्भावनाको ढोका खोलेका छन्। ‘परान’ले बुझाउँछ– परिवार केवल रगतको सम्बन्ध होइन, त्यो मनको बन्धन हो, जसलाई दुरीले होइन, सम्झनाले बाँधेको हुन्छ।

‘परान’ कुनै साधारण चलचित्र होइन, यो एउटा भावनात्मक यात्रा हो, जसले हरेक नेपालीलाई आफ्ना बुबाआमाको अनुहार फेरि सम्झाउन बाध्य बनाउँछ। हलबाट बाहिर निस्कँदा दर्शकका आँखामा आँसु हुन्छ, यस्तो लाग्छ - त्यो दुःखको होइन, बरु आत्मबोधको आँसु हो। ‘परान’ले केवल कथा भनेको छैन, उसले हाम्रो मनभित्र हराएको घर फिर्ता ल्याएको छ। ‘परान’ एउटा  सिनेमा मात्र होइन,  यो हजारौं बुबाआमाको मौन पुकार हो, जसले हामी सबैलाई घर फर्कन बोलाइरहेको छ।

‘परान’ कुनै साधारण चलचित्र होइन, यो एउटा भावनात्मक यात्रा हो, जसले हरेक नेपालीलाई आफ्ना बुबाआमाको अनुहार फेरि सम्झाउन बाध्य बनाउँछ। हलबाट बाहिर निस्कँदा दर्शकका आँखामा आँसु हुन्छ। यस्तो लाग्छ, त्यो दुःखको होइन, बरु आत्मबोधको आँसु हो। ‘परान’ले केवल कथा भनेको छैन, उसले हाम्रो मनभित्र हराएको घर फिर्ता ल्याएको छ। ‘परान’ एउटा  सिनेमा मात्र  होइन, यो हजारौं बुबाआमाको मौन पुकार हो, जसले हामी सबैलाई घर फर्कन बोलाइरहेको छ।

प्रकाशित: २२ कार्तिक २०८२ १०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App