अठारौं शताब्दीका एक प्रसिद्ध सङ्गीतकार थिए फ्रान्ज लिस्ट। उनको नाम त्यो जगत्मा अलग्गै ढङ्गले लिइन्थ्यो। उनलाई विश्वप्रसिद्ध सङ्गीतकार विथोवनको पियानोको उपहार मिलेको थियो तर उनले त्यो कहिल्यै बजाएनन्। उनले भन्थे, ‘यसमा विथोवनको औंलाको छाप छ, म मेट्न चाहन्नँ।’
विथोवनको आशीर्वाद पाएका फ्रान्ज लिस्ट हङ्गेरीमा जन्मेका हुन्। हङ्गेरीमा जारले शासन गरेका बेला उनी चर्चाको शिखरमा थिए। एक दिन उनले जार शासक निकोलसका अगाडि आफ्नो प्रस्तुति दिन इन्कार गरे। मात्र यति कारणले कि जारले प्रस्तुति नसुनेर बारम्बार आफ्नी पत्नीसित गफिरहेका थिए।
तिनै फ्रान्ज लिस्टका शिष्य थिए लैबलिङ्ग। अन्तिम समयका उनका शिष्य लैबलिङ्गले धेरै त सिकेनन् तर अन्तिम शिष्य हुने हैसियत राखे।
तिनै लैबलिङ्गकी छोरी एस्टेली पछि अमेरिकाको न्युयोर्कमा गएर सङ्गीतकी प्रसिद्ध गुरु भइन्। एस्टेली लैबलिङ्ग के अर्थमा चर्चित थिइन् भने तिनी अन्तिम शिष्य थिइन् प्रसिद्ध पार्सियन गायनका गुरु माथिल्डे मार्चेसिकीकी। मार्चेसिकीसित उनले भोकल मात्र सिकिनन्, सँगै गाउने अवसरसमेत पाएकी थिइन्।
यसरी इतिहास बनाएकी ती सुप्रसिद्ध गायिका पछि अमेरिकामा भोकल प्रशिक्षक भइन्। अपेराको संसारमा तिनी गणनीय नै थिइन्। पछि न्युयोकमा सङ्गीत सिकाउन थालिन्। एकपटक उनकी शिष्य हुन मेरिल स्ट्रिप आइपुगिन्। ‘अपेरा सिङ्गर’ हुन आएकी मेरिलले गुरुआमा एस्टेली लैबलिङ्गसित छिट्टै बिदा लिइन् र गायन छोडिदिइन्।
कालान्तरमा मेरिल स्ट्रिप हलिउडकी प्रसिद्ध अभिनेत्री भइन्। उनी सत्र पटक ओस्कार पुरस्कारमा नामाङ्कित भइन्। दुई पटक सम्मानित ओस्कार अवार्ड नै पाइन्। फ्रान्समा हुने सिनेमाको ठुलो महोत्सवमा स्ट्रिपलाई सन् २०२४ मा ‘पाल्म डी ओर’ जस्तो विशिष्ट सम्मान दिइयो। आज उनलाई ‘क्विन अफ हलिउड’ भनेर चिनिन्छ।
मूलतः मेरिल स्ट्रिप गायिका हुन आएकी हुन् तर उनलाई गलाले साथ दिएन। उनले बारम्बार यसमा पछुतो पनि मानिरहिन्। ‘गाउने कला मान्छेलाई त्यतिकै उपलब्ध हुँदो रहेनछ। त्यसका लागि भाग्य चाहिँदो रहेछ,’ उनले पटक पटक भनिरहिन्।
त्यसैले गायिका अरुणा लामाले भनेको कुरा ठिकै होला, ‘गाउने कला गलामा होइन, मुटुमा सिउरिएको हुन्छ।’
आज मेरिल स्ट्रिपजस्ता कति कलाकारहरू गायिका बन्न नपाएर हराएका होलान्, कति कैयन् दुःखले पछुताएका होलान्। तर आज त्यस्ता प्रतिभाका लागि विविध खाले मञ्च र प्रस्तुतिकक्ष छन्, जो जहाँ पनि प्रतिस्पर्धा गर्न सक्छन्, प्रतिभा देखाउन सक्छन्। अरुणा लामा कुनै समय त्यस्तै बेलाकी पात्र हुन्।
नेपालबाहिर पश्चिम बङ्गालको दार्जिलिङमा जन्मेकी अरुणा लामा गीतसङ्गीतमा मोहित थिइन्। उनी गाउन चाहन्थिन्। उनको गाउने कलालाई सत्यनारायणको पूजा, भानुजयन्तीमा मात्र सीमित देख्ने धेरै थिए। संयोगले एक दिन उनका अग्रज अम्बर गुरुङले उनलाई गायिका बन्ने अवसर दिए। गीत भूपी शेरचनको, सङ्गीत अम्बरको थियो। यही गीतबाट अरुणा गायिका भइन् -
‘आज यौवन किन उदास उदास छ यहाँ
आज वसन्त किन निराश निराश छ यहाँ’
अरुणामा गायिका बन्न सक्ने शक्ति देख्ने अम्बर यसर्थ एक महान् साधक हुन्, उनकै कारणले अरुणाले कोलकत्तामा गएर गीत रेकर्ड गराउन पाइन्। पछि अम्बरसितै युगल गीत पनि रेकर्ड गरिन्। यी धेरै इतिहास बोकेर पछि अरुणा लामा शरणरञ्जित, दुष्यन्त लामा, गोपाल योञ्जन, शान्ति ठटाल आदिका गीत गाएर एक चमकमा आइन्।
नेपालस्थित रेडियो नेपाल र रत्न रेकर्डिङमा गीत रेकर्ड गराएपछि एक हिसाबले अरुणा उनका अग्रज तारादेवीकै समकक्षी भइन्। त्यसो त तारादेवी र अरुणा लामाको गायनमा एक डेढ दशकको फरक छ। पछि गुणीजनहरूले दुवैको स्वर सम्मिलनमा समतुल्य पक्ष देखे।
तारादेवीको गायनपछि नै दार्जिलिङबाट दिलमाया खाति, शान्ति ठटाल, अरुणा लामा, दावा ग्याल्मो आदि आएका हुन्। नेपालमा पनि तारादेवीको गीत सुनेर नै मीरा राणा, निर्मला उर्मिला, सुशीला कंसाकार आदि आएका हुन्। तारादेवी गायिका मात्र होइनन्, एक कुशल सङ्गीतकार पनि हुन्। त्यो कुरा सङ्गीत समाजले गम्भीरतापूर्वक अध्ययन गरेकै छैन।
मान्छेले यति मात्र भने– भारतमा लता भने जस्तै नेपालमा तारादेवी हुन्। यही मूल्याङ्कनमा तारादेवी सीमित रहिन्। तर प्रतिस्पर्धाको हिसाबले तारादेवी अन्य गायिकाभन्दा अगि नै थिइन्। उनी सबैकी प्रेरणापात्र नै थिइन्। गायिका अरुणा लामा स्वयंले कति पटक भनेकी छन्– मलाई कैयौं पटक तारादेवीजीले गाउने वातावरण मिलाइदिनुभयो।
अर्की गायिका दिलमाया खातीले त पंक्तिकारसित एक रेडियो अन्तर्वार्तामा भनेकी थिइन्– ‘मलाई रेडियो नेपालमा गाउने अवसर शिवशंकर, नातिकाजी र तारादेवीले बोलाएर नै मिलाइदिएका हुन्।’
वरिष्ठ सङ्गीतकार कर्म योञ्जनले ‘आफ्ना दुई गीत ‘हजुर त’ र ‘चारैतिर फूलहरू फुलिसके’ एकैदिन रेकर्ड हुनुमा ताराजीको नै हात छ’ भनेका छन्। यी धेरैको प्रेरणाकी स्वरूप तारादेवीलाई अरुणा लामाकी प्रतिस्पर्धीका रूपमा पनि चित्रित गरिएको छ, भारतमा लता र आशालाई जस्तै। त्यो पनि सही छैन।
तारादेवी र अरुणा लामाको जीवनमा आफ्नै प्रकृतिका सुखदुःख छन्। कुनै सेयर गर्न मिल्ने, कुनै कहिल्यै कतै उल्लेख गर्नै सक्ने, कुनै भवितव्य परिआएका, कुनै जालझेलमा परेका।
दुवैका दुःख पनि एकै प्रकारका छन्। भरी जवानीमा अरुणा लामाले पति शरण प्रधानलाई गुमाउनुपर्यो। त्यसपछि सङ्गीतबाट उनी टाढिएर गइन्।
अरुणालाई पुनः मञ्चमा फर्काउन कर्म योञ्जनले अहम् भूमिका खेले र एकल महिलाको जीवन स्विकारेर उनी तीसको दशकमा पुनः गायनमा आइन्। पहिले उनको गायन जम्मा १२ वर्षको मात्र रह्यो। अन्तरालपश्चात् अरुणाले अम्बर गुरुङको सङ्गीत, राजेन्द्र थापाको शब्दमा ‘पोहोर साल खुसी फाट्दा’ गाइन्। यो गीतसँगै उनको पुनरागमन सुरु भयो।
बहुप्रतिभाशाली पति शरण प्रधानको अल्पायुमै निधन भएपछि जीवनबाट विरक्त भएर बसेकी अरुणाले यही समय नेपालका दुई शिखर स्तम्भ नातिकाजी र शिवशंकरका एकेक गीत गाइन्। दुइटै गीत सर्वाधिक चर्चित भए।
‘भाग्यले खुसी खोसेर लग्यो
बदला लिएर’
‘तिम्रो हाम्रो जिन्दगानी घामछाया’
यी दुवै गीत के अर्थमा महत्त्वपूर्ण रहे भने नातिकाजी, शिवशंकरलाई सबैले तारादेवीका मात्र संगीतकार भन्थे। अरुणा लामाले दुवै सङ्गीतकारका गीत गाइदिएर त्यो भ्रम निवारण गरिदिइन्।
अम्बर गुरुङबाट सुरु भएको उनको साङ्गीतिक यात्रा (त्यसो त उनका पति शरण प्रधानको साङ्गीतक यात्रा पनि अम्बरकै गीत ‘नौलाख तारा’बाट सुरु भएको थियो) पछि गएर गणेश रत्न, वसन्त क्षत्री, दिव्य खालिङ, टासी वाङचु, दीपक जङ्गम, रन्जित गजमेर, गोपाल योञ्जन, न्ह्यु बज्राचार्यसम्म फैलियो। यसमध्ये एउटा नाम भुल्नै सकिँदैन– सङ्गीतकार दुष्यन्त लामा।
सिक्किम निवासी दुष्यन्त लामाले सिक्किममै प्रसिद्ध साहित्यकार सानु लामाको शब्दमा एउटा यस्तो गीत रेकर्ड गरे, त्यो अरुणाको जीवनमा मात्र नभई नेपालीमा गीत गाउने नवउन्मेषी गायिकाहरूको ‘फेवरेट सङ’मध्ये एउटा हुन पुग्यो।
‘आउनुपर्यो पराई घरको नौलो सङ्घार’
नेपाली सुगम सङ्गीतमा कुनै महिला वा युवतीको जीवनमा नेपालीपन, विशेषतः पहाडी यौवनाको जीवनीवृत्त समेटिएको गीत विरलै होला। तर यो गीतले अरुणा लामाको ४८ वर्षीय साङ्गीतिक यात्रामा ‘सेन्चुरी’ कटाएको छ।
दुष्यन्त लामा त्यस अर्थमा अरुणा लामाका निम्ति ‘माइल स्टोन’ नै हुन्। गीतकार सानु लामा पनि त्यत्तिकै प्रिय पात्र हुन्, जसको चर्चा नेपाली गीति आकाशमा बिरलै हुन्छ। ‘कथा सम्पद्’ कृतिका निम्ति चर्चित लामा भारत सरकारद्वारा पद्मश्री पुरस्कारबाट सम्मानित हुन्। उनको भौतिक शरीरले यसै वर्ष विश्राम लियो।
सानु लामा र दुष्यन्त लामाको यो गीत ‘बालापनको आँगन त्यागेर’लाई अरुणा लामाले आफ्नो फेवरेट गीतका रूपमा आफ्नै हस्तलिपिमा डायरीमा पनि सुरक्षित राखेकी छिन्।
यसपछि गणेश परियार र रत्नबहादुर खड्गीको संयुक्त सङ्गीतमा अरुणा लामाले देव बज्राचार्यको ‘एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो’ गाइन्। त्यो पनि सर्वाधिक चर्चित रह्यो।
गायिका अरुणा लामाको पुनरागमन भएकै समय नेपालमा निजी क्षेत्रबाट नेपाली फिल्म बन्न थाले। त्यति क्रममा अरुणा लामाले ‘कान्छी’, ‘मायाप्रीति’, ‘पहिलो प्रेम’ आदि फिल्ममा गीत गाइन्। दार्जिलिङबाट बनेको ‘परालको आगो’मा उनले पहिल्यै गाइसकेकी थिइन्।
अरुणा लामाको चलचित्र गायन बिएस थापा निर्देशित ‘माइतीघर’बाट सुरु भएको थियो, जसरी तारादेवीको चलचित्र गायन पनि त्यही समय हीरासिंह निर्देशित ‘आमा’बाट सुरु भएको थियो। तारादेवीले परिवर्तन, मनको बाँध, कुमारी, सिन्दूर, जीवनरेखा, पच्चीस वसन्त आदि फिल्ममा गाइसकेकी थिइन्।
संयोगले दुवै नारायणगोपालको सङ्गीतमा गीत गाउने तीन गायिकामध्ये प्रमुख दुई थिए। अरुणाले अम्बर गुरुङसित युगल गीत गाएर गायन सुरु गरेकी थिइन् भने तारादेवीले पछि अम्बर गुरुङसित ‘टिप यो जोबन’ र अरुणा लामाले ‘स्वप्निल आँखाभरि छाउँछन्’ गाइन्।
दुवैको सहभागिता एक अर्थमा सही थियो भने अर्को अर्थमा उनीहरूलाई सङ्गीत समाजले प्रतिस्पर्धीका रूपमा व्याख्या गर्न थालिसकेको थियो। वास्तवमा भन्ने हो भने दुवैको गायनको प्रक्षेत्र वा शक्ति स्रोत फरक फरक थियो। तारादेवीले गाउने गीत अरुणा लामाले गाउन सक्ने खालका थिएनन् भने अरुणा लामाले गाउने गीत तारादेवीलाई सुहाउँदैथ्यो।
अरुणा लामाले ‘पोहोर साल खुसी फाट्दा’ गाएपछि तारादेवीले पनि त्यस्तै भावशैलीको ‘आँखा बस्याे भुइँ भिज्यो तर रोपाइँ भएन’ गाइन्। तर यो गीत अरुणा लामाले नै गाएको भन्ने भ्रम रहिरह्यो।
‘फुलाई फूल न फूल न धरती, आकाश ओर्ली आउला’ जस्तो गीत गाएर नेपाली सुगम सङ्गीतमा क्रान्ति ल्याउने तारादेवीले ‘कालीपारे दाइ कति राम्रो’, ‘एक फूल झरेर के भो’, ‘दाइलाई बोलाऊँ भने लेक स्वर पुग्दैन’ गाएर परिचयको नयाँ र विशिष्ट कायम गरिसकेकी थिइन्।
तारादेवी जे अर्थमा नेपाली सुगम सङ्गीतकी आराध्य देवी भइन्, त्यही पाइलामा अन्य गायिकाको नाम अवश्य आउँछ। त्यतिबेलाको रेडियो नेपाल वा तत्कालीन सरकारले तारादेवीलाई सङ्गीतको उत्तरोत्तर अध्ययनका निम्ति विदेश पठाउन सकेको भए सायद तारादेवीमा भएको सङ्गीतकार पक्ष अझै प्रष्ट रूपमा देखिन्थ्यो।
पंक्तिकारलाई मनमा यही लागिरहन्छ। भारतका लता वा आशा भोस्लेभन्दा कुनै अर्थमा पनि तारादेवीको स्वरको पहुँच कमजोर थिएन। त्यो त हाम्रो कमजोरी थियो। हामीले तारादेवीबाट एकै प्रकारका मात्र गीतको अपेक्षा राख्यौं।
आफ्नो छोरा शशीको ब्लड क्यान्सरबाट निधन भएपछि तारादेवीको गायनमा शिथिलता आयो। आफ्ना पति शिव श्रेष्ठको दुर्घटनामा मृत्यु भएपछि तारादेवी जीवनबाटै विरक्त भइन्। एउटा कलाकारको जीवनमा यो भन्दा ठुलो विषाद क्षण अरु के हुनसक्छ। उनलाई परिवर्तित सरकारले बिनाजानकारी जागिरबाट निकालिदियो। यसपछि तारादेवीले गायनबाट एक किसिमले सन्यास लिइन्।
दुःखका दिनमा उनलाई सम्मान दिने, खादा ओढाउने, ताम्रपत्र दिनेबाहेक अरू नाटक मञ्चन हुन बन्द भइसकेका थिए। उनको जागिर खोस्ने निर्णय गर्ने सरकारका प्रमुख भएर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बर्मा जाँदा उनले थाहा पाए– बर्मामा जुनसुकै उमेरका केटीहरू गीत गाउँदा आफूलाई तारादेवी भनेर चिनाउन मन पराउँथे। यो कुरा त्यहाँका साहित्यकार ठाकुरप्रसाद गुरागाईं सम्झिन्छन्।
त्यसैगरी अरुणा लामा पनि धेरैजसो युवतीहरूबिच प्रिय गायिका थिइन्, ती चाहे साहित्यिक हुन् वा सांगीतिक। कवि लेखकका लागि उनी प्रिय थिइन्। कवि हरिभक्त कटुवालको एउटा सुन्दर गीतलाई उनले जीवनभर बिर्सन नसक्ने बनाइदिइन्, ‘हाँगा हाँगा चैतभरि बैंस फुलेछ’। वा नरदेन रुम्बाको ‘फूललाई सोधेँ कहाँ गयो कता गयो भँवरा?’ गीत उस्तै जीवन्त बनाइदिइन्।
नेपाली समाजले तिर्नै नसकिने ऋण लगाएर गएका दुवै गायिकामा हार्दिक श्रद्धासुमन अर्पण गर्छु। यी दुवै गायिकालाई सम्झेर पोखरास्थित ‘हार्मोनी द मोडर्न सङस्ट्रेस अफ पोखरा’ र ‘एभरेस्ट एफएम’ले गरिरहेको पुनीत कार्य सदा स्मरणीय छ।
एभरेस्ट एफएमका दीपेन्द्र श्रेष्ठ र हार्मोनी एफएमका इतु जोजिजुले गरिरहेको यो सत्कार्य प्रेमध्वज प्रधान, झलकमान गन्धर्व, नारायणगोपाल, अरुण थापा, कुमार सुब्बा, द्वारिकालाल जोशीका लागि पनि कहीं कतैबाट भएको सुन्न पाइयो भने नेपाली समाज जिउँदो छ भन्न सकिन्छ।
प्रकाशित: २४ श्रावण २०८२ १०:१४ शनिबार





